
इलाम । वार्षिक तीन करोड रुपैयाँसम्म सुन्तलाबाट आम्दानी गर्ने इलाममा रोगको संक्रमणले सुन्तलाका बगान मासिदै जान थालेपछि किसान चिन्तित भएका छन् । सुन्तला खेतीको पकेट क्षेत्र जिल्लाको रोङ्ग गाउँपालिकाको सलकपुर र जिर्मलेका दुई सय भन्दा बढी सुन्तलाका बगान रोगका कारण सखाप भएका हुन् । यस गाउँमा सुन्तलाका दुई सय ५० बगान थिए । अहिले २० बगान मात्रै बाँकी छ । दुई सय ३० बगान भने रोगका कारण सबै सखाप भएको किसानको भनाई छ । सुन्तलामा सिट्रस ग्रिनिङ रोग लागेर सुन्तलाका बगान मासिदै गएको बताइएको छ ।
२० रोपनीबाट व्यवसायिक खेती शुरु गरेका रोङ्ग गाउँपालिकाका व्यवसायिक किसान टंक थापा भन्छन्,‘बगानलाई यथावत बनाई राख्न मरेको विरुवामा नयाँ विरुवा रोप्दै बचाई रहेको छु ।’ रोगले बगान नै सखाप बनाइदेला भन्ने डर लागेर वैकल्पिक खेती शुरु गर्न थालेको उनको भनाई छ । सुन्तलापछि अहिले एभोकाडो रोप्न शुरु गरेको छु । ‘अहिलेसम्म चाहिँ मेरो बगान सुरक्षित छ ,बगान जोगाउन नसक्नु दुर्भाग्य हो भन्ने अवस्थामा म चाहिँ पुगेको छुइन यसमा खुशी छु , उनी भन्छन् । थापाको बगान जिर्मलेको साविक १ मा पर्छ । यस क्षेत्रका सुन्तलाका बगानमा भने हालसम्म रोगको संक्रमण नभएको बताइएको छ । थापाले सुन्तलाबाट मात्रै वार्षिक पाँचदेखि १० लाख रुपैँयासम्म आम्दानी गर्ने गरेको उनको भनाई छ ।

टंक थापाको जस्तो खुशी इलाम नगरपालिका–५ बरबोटेका किसान अभिनारायण पौडेलको भने छैन । उनको सुन्तलाको बगानमा भने रोगले संक्रमण गरेको छ । १० रोपनीसम्म फैलिएको सुन्तला अहिले पाँच रोपनीमा मात्रै रहेको पौडेलको गुनासो छ । उनको मात्रै होइन कमलकुमार सुवेदीको पनि उस्तै छ पीडा । तीन रोपनीबाट खेती गर्न शुरु गरेका उनले खेती विस्तार गर्दै सात रोपनी पु¥याएका थिए । रोग नलाग्दा सुन्तलाबाट मात्रै डेढ लाखसम्म आम्दानी गरेको उनको अहिले १० हजार रुपैँया मात्रै आम्दानी हुन थालेको छ । सुवेदी भन्छन्, सुन्तला खेतीबाट निराश भएर अहिले कफी खेती गर्न थालेको छु ।
सुन्तला, किसानको मुख्य आम्दानीको स्रोत मात्रै होइन रोङ्ग गाउँपालिकामा पर्यटक भित्र्याउने मुख्य आर्कषणको बाली समेत हो । पालिकामा पुनः व्यवसायिक खेती गर्नको लागि किसानलाई जागरुक गराउन पालिकाले किसान विशेष कार्यक्रम सुचारु गर्न लागिएको वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका पालिकाका प्रवत्ता मनिकुमार स्याङ्गबो ‘सुवास’ तामाङ्गले बताए । उनले भने, ‘२० परिवालाई पाँच लाख बजेट विनियोजन गरेका छौँ । यसबाट सुन्तलाको समस्या पहिचान गर्ने र माटो विशेषज्ञसँगको सल्लाहमा अग्र्यानिक खेतीमा जोड दिनको लागि समिति समेत गठन गरिसकेको छ । संघ र प्रदेशसँग सुन्तला जोन कार्यक्रम माग समेत गरिएको छ । यसले सुन्तला खेतीलाई व्यवसायिक खेती बनाउन चाहनेलाई राहत मिल्ने प्रवक्ता तामाङ्गको भनाई छ । इलाम नगरपालिकाले भने हालसम्म सुन्तला खेती गरिरहेका किसान विशेष कार्यक्रम नल्याएको वडा नम्बर – ५ का वडाध्यक्ष तथा पालिका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७४÷०७५ मा तीन हजार तीन सय २४ हेक्टर क्षेत्रमा सुन्तला खेती हुने गरेको छ । यसबाट तीन सय पाँच मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको थियो । यस्तै आव २०७५÷०७६ मा भने तीन हजार एक सय हेक्टर क्षेत्रफलमा सिमित भएको पाइएको छ । उत्पादन भने दुई सय ९५ मेट्रीक टन भएको छ । इलामका सुन्तला विर्तामोड, दमक, विराटनगर, धरान, पोखरा, काठमाडौं लगायतका बजारमा पुग्थ्यो । भारतको दार्जिलिङदेखि कोलकत्तासम्म इलाममा उत्पादित सुन्तला अहिले पनि लोकप्रिय छ । जिल्लाभरीको सुन्तलाबाट इलाममा वार्षिक करिब ११ करोड रुपैयाँसम्म जिल्ला भित्रिएको कार्यालयको तथ्यांक छ । कार्यलयका अनुसार, जिल्लाका इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका, रोङ गाउँपालिकामा सुन्तलाको व्यवसायिक खेती हुने गरेको छ ।



575 पटक हेरिएको 






