एक वर्षमा ५४२ लाई उपचारमा सहयोग

अपाङ्गता भएकाका लागि अविभावक बन्दै करुणा फाउण्डेशन

  सरलपाटी सम्वाददाता

 1351 पटक हेरिएको

इलाम । करुणा फाउन्डेशनले हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम मार्फत एक वर्षमा पाँच सय ४२ जनालाई उपचारमा सहयोग गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा अपाङ्गता भएका पाँचसय ४२ जनाको उपचारमा सहयोग गरेको जनाएको छ । अपाङ्गताको रोकथाम र पुरनस्थापनाको क्षेत्रमा काम गर्दै आएका करुणले उनीहरुको जीवन बनाउनको लागि उपचारको लागि सहयोग गरेको करुणाका व्यवस्थापक अजित योञ्जनले जानकारी दिए ।

करुणाले एक वर्षमा आठ सय ५५ जनालाई सहायक सामग्री प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई ६० हजार रुपैयाँ पर्ने ह्वील चेयरदेखि कृतिम हातखुट्टा, श्रवण यन्त्रलगायतका सामग्री प्रदान गरिएको छ । करुणले अपाङ्गता भएकाहरुलाई कष्टकर हुने किसिमको आवासिय संरचना समेत सुधार गरिदिएको छ । ८७ जना अपाङ्गता भएकाहरुको आवासीय संरचना सुधार गरिएको हो । दश हजार रुपैयाँ सम्मको लगानीमा घर, सौचालय र बाटोको संरचना सुधार गरिएको करुणा फाउन्डेशनका छवी श्रेष्ठले बताए । त्यसले उनीहरुलाई ह्वील चेयर लगायतका सहयोगी सामग्रीको साहयताले जीवन यापनमा सहयोग मिलेको बताइएको छ ।

अपाङ्गताका कारण विद्यालयनै जानबाट बञ्चित बालबालिकालाई साक्षर बनाउने उद्देश्यले घरैमा अनौपचारिक शिक्षाको व्यवस्था गरिएको छ । घरकै व्यक्ति, छिमेकी, आफन्त या नजिकमा रहेका शिक्षकबाट अपाङ्गता भएकाहरुलाई साक्षर बनाउन घरैमा आधारित अनौपचारिक शिक्षाको व्यवस्था मिलाइएको हो । पछिल्लो एक वर्षमा ७४ जना अपाङ्गता भएका व्यक्तिले यस्तो सेवा पाएका छन् ।

उत्प्रेरणाको लागि हेरचाह कार्यक्रममा आव २०७४÷०७५ मा चार करोड ६८ लाख ५३ हजार चारसय ९३ रुपैयाँ खर्च भएको छ । स्थानीय तहसंगको साझेदारीमा हेरचाहाको लागि उत्प्रेरणा कार्यक्रममा यत्तिका रकम खर्च भएको हो । सन २०१५ बाट शुरु भएको परियोजनाले गर्भमा, जन्मको क्रममा र जन्मपछि हुने अपाङ्गता रोकथामको लागि कार्यक्रम गर्दै आएको छ । इलाममा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा कार्यक्रम लागु भएको क्षेत्रमा अहिले स्थानीय तहले मात्रै लगानी गरेका छन् भने करुणाले प्राविधकि सहयोग मात्रै गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि चार करोड ३५ लाख ९६ हजार छ सय रुपैयाँ लगानी हुने जनाइएको छ ।

कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवसायीक बनाउनको लागि करुणाले बिऊ पुजी दिएको छ । अपाङ्गता भएका व्यक्तिहरुले समेत स्ववालम्बन समुह मार्फत बचत संकलन गर्ने र लगानी गर्ने गरेका छन् । एक वर्षमा एक हजार चार सय ३१ पटक त्यस्तो रकम उनीहरुले ऋणको रुपमा चलाएको तथ्यांक छ ।
कार्यक्रम प्रभावकारी बनेपछि एक नम्बर प्रदेशको चार जिल्लामा कार्यक्रम थप हुने भएको छ ।

मोरङ, सुनसरी, धनकुटा र पाँचथरमाका २९ स्थानीय तहमा कार्यक्रम विस्तार हुने भएको छ । ‘केही स्थानीय तहमा हामीले आधारमूत तथ्यांक संलकन गरिसकेका छौ’, करुणा फाउण्डेशनका कार्यक्रम व्यवस्थापनक अजित योञ्जनले भने,‘केही स्थानीय तहमा हामी कार्यक्रम सम्झौता गर्ने चरणमा पुगेका छौ ।

विस्तार भएको जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारले ३३ प्रतिशत, स्थानीय तहले ३३ प्रतिशत र ३३ प्रतिशत करुणा फाउण्डेशले लगानी गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार