‘अब राजनीतकि क्रान्तिको कार्यभार समाजवादी पार्टीलाई’ ः वरिष्ठ नेता राई

समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई

  सरलपाटी सम्वाददाता

 395 पटक हेरिएको

इलाम। नेपाली समाजमा राजनीतिक क्रान्ति अझै बाँकी रहेको समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले बताएका छन् । समाजवादी पार्टी इलाम नगर समायोजन घोषण सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले अन्य दलहरुले राजनीति क्रान्ति समाप्त भएको भन्दै आर्थिक क्रान्तिको कुरा गरिरहेका बेला राजनीतिक क्रान्ति नै बाँकी रहेको दोहो¥याए । नेपाली समाजमा क्रान्तिको कार्यभार अझै पूरा नभएको प्रष्ट पार्दै उनले भने, ‘राजनीतिक क्रान्ति अझै अधुरो रहेको छ, राजनीतकि क्रान्तिको कार्यभार समाजवादी पार्टीले पूरा गर्ने दावी समेत गर्छु ।’

‘आदिवासी, विपन्न, महिला, दलित, मधेसी, मुस्लिम एवम् उत्पीडितहरुले अझै परिवर्तनको महसुस गरेका छैनन्’ वरिष्ठ नेता राई भन्छन् ,‘जबसम्म उत्पीडितहरुले परिवर्तनको महसुस गर्दैनन्, तबसम्म क्रान्ति अधुरै रहन्छ । अब आम उत्पीडितहरुसम्म परिवर्तन भएको महसुस गराउने काम अब समाजवादी पार्टीले गर्नेछ ।’

वरिष्ठ नेता राईले संविधान संसोधन गर्न आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै संविधान संसोधन नभए समाजवादी पार्टी सरकारबाट बाहिरिने चेतावनी समेत दिएका छन् । चाँडै सरकार र नेकपासँग अन्तिम पटक वार्ता गर्ने र संविधान संसोधन गर्न तयार नभए तत्काल सरकारबाट फिर्ता हुने उनको तर्क थियो  ।

फरक प्रसंगमा वरिष्ठ नेता राईले नेकपाको अहिलेको शक्ति सधैं कायम नरहने दावी गर्दै, ‘नेपालमा राणाहरुले पनि सधैं राज गर्छु भन्ने ठानेका थिए । पछि राजाले पनि त्यही सोचेको थियो । तर उनीहरुको हालत के भयो सबैलाई थाहा छ, ‘अहिले नेकपालाई पनि त्यस्तै लागेको होला । तर त्यो सम्भव नभएको र जनताले सधैं परिवर्तन खोजिरहेको हुने स्पष्ट पारेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद जयराम यादव, केन्द्रीय सदस्य मित्र चापागाई, प्रेस नेपालका उपाध्यक्ष कमन देवान, समाजवादी पार्टीका प्रेस नेपालका उपाध्यक्ष कमन देवान, समाजवादी पार्टीका इलाम अध्यक्ष कमल चाम्लिङ, समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य सन्जय राई, समाजवादी महिला संघ इलामकी अध्यक्ष बिनु राईले सम्बोधन गरेका थिए । पुर्व समाजवादी फोरम नगर अध्यक्ष छिकिन तामाङको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको हो ।

संस्थापक अध्यक्ष गुरुङलाई सम्मान

कार्यक्रममा समाजवादी पार्टी इलाम नगरका संस्थापक अध्यक्ष टेकबहादुर गुरुङलाई सम्मान गरिएको छ ।इलामको सन्दकपुर गाउँपालिका ३ मा जन्मिएका गुरुङ २०६९ मा तत्कालीन संघीय समाजवादी पार्टीका इलाम नगर अध्यक्ष हुन । ७४ वर्षीय गुरुङ वृद्ध उमेरमा समेत निरन्तर रुपमा पार्टीको काममा सक्रिया रहेको भन्दै उनलाई सम्मान गरिएको समाजवादी पार्टीले जनाएको छ ।

उनलाई प्रमुख अतिथी समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र उपाध्यक्ष युवराज कार्कीले नेपाली ढाका टोपी ओढाएर र सम्मानपत्र प्रदान गरि सम्मान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार