७५ हजार भन्दा बढीले गरे इलाममा स्वास्थ्य बीमा

इलाममा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

  सुजता सुनुवार

 1413 पटक हेरिएको

इलाम । इलाममा ७५ हजार भन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । ३८ हजार एक सय ९३ महिला र ३७ हजार तीन सय ९७ पुरुष गरी हालसम्म ७५ हजार पाँच सय ९० जनाले स्वास्थ्य बीमा गरेका हुन् ।

जिल्लाका १० स्थानिय तहमध्ये सबै भन्दा बढी सुर्योदय नगरपालिकामा रहेको स्वास्थ्य बीमा बोर्ड इलामका दर्ता अधिकारी खेमराज अधिकारीले जानकारी दिए । यस नगरपालिकामा १५ हजार तीन सय ९८ जनाले बिमा गरेका छन् । यस्तै सबै भन्दा कम सन्दकपुर गाउँपालिकामा रहेको छ । यस गाउँपालिकामा एक हजार चार सय ३७ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

७५ वर्ष भन्दा माथि उमेरका र पूर्ण अशक्त भएका व्यक्तिको परिवारलाई नेपाल सरकारले निःशुल्क स्वास्थ्य बिमा गर्ने गरेको छ । स्वास्थ्य बिमा नियमावली २०७५ को परिच्छेद ४ अनुसार यस्ता व्यक्तिलाई शतप्रतिशत निःशुल्क सेवा उपलब्ध गराउन थालेपछि इलाममा यसको संख्या पनि उल्लेख्य रहेको अधिकारीको भनाई छ । उनले भने, ‘७५ वर्ष माथिका जेष्ठ नागरिक मात्रै १० हजार सात सय १५ रहेका छन् । यस्तै रातोकार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिको तीन सय ४३ घरपरिवारको स्वास्थ्य बिमा भईसकेको कार्यलयले जनाएको छ ।

नेपाल सरकारले २०७२ चैत्र २५ गतेबाट नेपालीहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच पुगोस् तथा आर्थिक अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित हुन नपरोस् भनी स्वास्थ्य बिमा शुरु गरेको हो । पहिलो चरणमा कैलालीबाट शुरु भएको स्वास्थ्य बिमालाई नेपाल भर लागु गर्नका लागि दोस्रो चरणमा इलाम र बाग्लुङमा २०७३ असार १५ गतेबाट स्वास्थ्य बिमाको दर्ता प्रक्रिया शुरु भएको हो । भाद्र १ गतेबाट भने सेवा प्रारम्भ नै गरिएको थियो । करिव ३ वर्ष अघि ३ वटा जिल्लाबाट शुरु भएको स्वास्थ्य बिमा हाल मुलुकका ४७ जिल्लामा पुगिसकेको छ ।

कहाँ कहाँबाट पाइन्छ सेवा ?

इलाम जिल्लाको हकमा ४ वटा प्राथमिक स्वास्थ्य केन्द्रहरु फिक्कल पशुपतीनगर, मंगलबारे र प्याङ्ग, इलाम अस्पताल, मेची अञ्चल अस्पताल चन्द्रगढी, आम्दा अस्पताल दमक र मेची आँखा अस्पताल विर्ताबजार प्रथम सेवा विन्दुको रुपमा राखिएको छ ।

यस्तै झापाका मेची अञ्चल अस्पताल, कन्काइ अस्पताल ,आम्दा अस्पताल, मेची आँखा अस्पताल, वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोवेल अस्पताल विराटनगर , विराट मेडिकल कलेज, विर अस्पताल, मनमोहन कार्डियो भास्कुलर, पाटन अस्पताल, भरतपुर क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, शुक्रराज सरुवा रोग नियन्त्रण केन्द्र टेकु, प्रसुती गृह थापाथली , कान्ति वाल अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, ट्रमा सेन्टर काठमाडौं ,कोशी अञ्चल अस्पताल लगायतका अस्पतालहरुमा स्वास्थ्य सेवा दिइन्छ । स्वास्थ्य बीमाले हाल ११ सय ३३ प्रकारका औषधि सुचिकृत गरेको छ ।

स्वास्थ्य बीमाले कस्ता सेवा समेट्दैन?

स्वास्थ्य बीमाले घर लैजाने औषधीमा सुचिकृत औषधी भन्दा बाहेकका औषधी आवश्यक परेमा स्वास्थ्य बीमाले समेटदैन तर अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामी भने एम्बुलेन्स र एम आरआइ सेवा बाहेक अरु सबै सेवा स्वास्थ्य बीमाले समेट्ने अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार