इलाम नगरपालिका नगर अपाङ्गता समन्वय समितिले नगरपालिकाका अपाङ्गता भएका झण्डै दुई सय जनालाई सोमबार सहायक सामग्री वितरण गरेको छ ।
२८ औं अपाङ्गता दिवशको अवसरमा नगरपालिकाले एक सय ९४ जनालाई श्रवण यन्त्रदेखि ह्वील चियरसम्मका सामग्री वितरण गरेको हो ।
गौतम बुद्ध सभागृहमा आयोजित कार्यक्रममा नगरपालिकाका सबै वडाका अपाङ्गगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको हो । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले इलाम नगरपालिका वडा नं. ३, पुवामझुवा निवासी अपाङ्गता भएका टेकबहादुर सुनुवारलाई वील चियर प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा ११ जनालाई श्रवण यन्त्र, २ जनालाई वाल्कर, ३४ जनालाई लौरो ३४ जनालाई, बैसाखी १ जनालाई, सेतो छडी ३ जनालाई, ह्वीलचियर ९ जनालाई, ट्वाइलेट चियर १५ जनालाई, ब्रेल पेपर १६ जनालाई र न्यानो जुत्ता २७ जनालाई वितरण गरिएको थियो । यसरीनै अपाङ्गता भएका ६४ जना विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै इलाम नगरपालिकाका प्रमुख बस्नेतले नगरले अपाङ्गताको क्षेत्रलाई संवेदनशील रुपमा लिएको बताए । इलाममा पाँच सय अपाङ्गता भएका व्यक्ति रहेको र उनीहरुको लागि नगरपालिकाले यस वर्ष मात्र ६० लाख बजेट विनियोजन गरेको उनले बताए । करुणा फाउन्डेशनको ५०)५० प्रतिशत लगानीमा इलाम नगरपालिकाले अपाङ्गताको क्षेत्रमा काम गरिरहेको प्रमुख बस्नेतले बताए । ‘यस वर्ष आधा आधार लगानीमा काम गरिरहेका छौं’ उनले भने, ‘अर्को वर्ष ७५ प्रतिशत र त्यसपछि शतप्रतिशत नगरपालिकाको लगानी रहनेछ ।’ प्रमुख बस्नेतले अमर मावि बरबोटेमा रहेकाे वौद्धिक अपाङ्गता स्रोत कक्षामा विद्यार्थीहरुलाई हेरचाह गर्ने तीन जना सहयोगी (आया) हरुको योगदानको कदर गर्दै नगरपालिकाले १० हजारका दरले पुरस्कृत गर्ने पनि बताए ।
अपाङ्गता समन्वय समितिका संयोजक तथा नगरपालिकाका उपप्रमुख सुशीला नेम्बाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम गौतमले स्वागत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका प्रकाश थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, करुणा फाउण्डेशनका व्यवस्थापक अजित योञ्जन र नेत्रहिन संघका पदम सुब्बाले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा इलाम नगरपालिकाका वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम इलाम नगरपालिकाकी स्वास्थ्य संयोजक रमन्ता पौडेलले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
पाेखरी दृष्टिविहीन आधारभूत विद्यालयका विद्यार्थीहरुले स्वागत गीत प्रस्तुत गरेका थिए । अमर मावि बरबोटेमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यार्थीहरुले कार्यक्रममा नृत्य पनि प्रस्तुत गरेका थिए ।
१९९३ डिसेम्बर ३ देखि विश्वभर अपाङ्गता दिवश मनाउन शुरु गरिएको हो । यस वर्ष दिगो विकासका् लक्ष्य अपाङ्गता मैत्री भविष्य भन्ने नाराका साथ विश्व भर २८ औं अपाङ्गता दिवश मनाइयो । यो दिवश नेपालमा पनि सप्ताह व्यापी रुपमा मनाइयो ।
जनगणना २०६८ अनुसार नेपालमा कूल जनसंख्याको दुई प्रतिशत अर्थात छ लाख अपाङ्गता भएका व्यक्ति छन् । संयुक्त राष्ट्रसंघका अनुसार नेपालमा पछिल्लो पाँच वर्षमा १९ हजार ६४० जना दुर्घटनामा गम्भीर घाइते भएका छन् । त्यसमध्ये अधिकांश अपाङ्गता भएका छन् ।