प्रथम सूर्योदय पर्यटन महोत्सव सम्पन्न

  सरलपाटी सम्वाददाता

 1432 पटक हेरिएको


इलाम ।
पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम पाँच दिने सूर्योदय पर्यटन महोत्सव सम्पन्न भएको छ । नगर क्षेत्रको विभिन्न छ स्थानमा फरक फरक कार्यक्रमहरु गरिएको महोत्सव बुधबार भएको औपचारिक समापनपछि सम्पन्न भएको हो । औपचारिक समापनपछि समेत साङ्गितिक कार्यक्रम भएको थियो । कार्यक्रममा कलाकार प्रमोद खरेल, यम बराल, भुगोल दाहाल लगायतका कलाकारहरुले प्रस्तुती दिएका थिए ।

महोत्सवको पञ्चकन्या स्थित करफोक खेल मैदानमा औपचारिक कार्यक्रम गरेर उद्घाटन गरिएको थियो । मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गरेका थिए । पाँच दिनको महोत्सवमा पञ्चकन्या, श्रीअन्तु, पशुपतिनगर, गोर्खे, कन्याम र फिक्कल क्षेत्रमामा विभिन्न गतिविधि सञ्चालन गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल पार्ने उद्देश्यले भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजना गरिएको महोत्सव सफल भएको महोत्सव आयोजक समितिकी संयोजक दुर्गादेवी भट्टराईले बताइन् । ‘महोत्सवले सूर्योदय क्षेत्रका पर्यटकीय गन्तब्यहरुको राम्रोसंग प्रचार प्रसार भएको छ’, उनले भनिन्,‘क्षेत्रगत रुपमा भएका कार्यक्रमहरुले नयाँ ठाउँहरुलाई समेत पर्यटकीय गन्तब्यको रुपमा विकास हुन्छ भन्ने अपेक्षा लिएका छौ ।’

अन्य महोत्सवका भन्दा फरक कार्यक्रममा पर्यटक रमाएका थिए । महोत्सवमा रेडपाण्डाको अवलोकनको लागि आयोजना गरिएको रेड पाण्डा ट्रेल, अन्तु पोखरीमा फिसिङ्ग, बोटिङ्गमा पर्यटक झुम्मिए । विभिन्न ठाउँमा राखिएको परम्परागत खेलमा पनि पर्यटकले निकै रमाइलो गरे । महोत्सवमा हराउँदै गएको काठको रोटे पिङ, लिङ्गे पिङ, चाकाचुली, जस्ता परम्परागत खेलहरुको समेत व्यवस्था थियो । यस्ता रैथाने खेलहरुको व्यवस्थाले बाहिरबाट ल्याएर विद्युतीय उपकरणबाट खेलाइने खेलमा हुने खर्च जोगिएको छ ।

त्यस्तै पशुपतिनगरको सस्तो बजार कार्यक्रम, कन्यामको सुन्दर घोडा प्रतियोगीता, सूर्य पुजा, लोपोन्मुख लेप्चा जातिको संग्रालय अवलोकन, जुठी प्रवद्र्धन, डम्फु साँझले पर्यटकहरुलाई तानेको थियो । प्रत्येकदिन आयोजना गरिएको देउराली हाइकिङले स्थानीयलाई समेत आकर्षित गरेको छ । त्यस्तै टि टेष्टिङ, ठाउँ ठाउँमा राखिएको फुड स्टलले स्थानीय परिकारको प्रवद्र्धनमा सहयोग पुगेको स्थानीय बताउँछन् । विभिन्न स्थानमा आयोजना गरिएको खेलकुद कार्यक्रम र साङ्गितिक कार्यक्रमहरुले महोत्सवमा रमाइलो माहोल बनाएको थियो ।
पर्यटक व्यवस्थापनमा विशेष ध्याद दिएपछि महोत्सवमा आउने पर्यटकले समस्या ब्यहोर्नु परेन । महोत्सवमा पर्यटकको सहजताका लागि टोल फ्रि नम्बर सहितको कल सेन्टर स्थापना गरिएको थियो । नगर क्षेत्रका सवै होटलको सूचि नगरपालिका आफ्नो वेभसाइड मार्फत सार्वजनिक गरेको थियो । प्रत्येक होटललाई मेनु अनिवार्य गरिएको थियो । फुडस्टलहरुमा समेत पनि मुल्य सूचि अनिवार्य गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार