
इलाम ।
नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतले अतिक्रमण गरेको भूमी कुनै पनि हालतमा फिर्ता लिएरै छाड्ने बताएका छन् । बुधबार इलामको सूर्योदय नगरपालिका स्थित फिक्कलमा पाँच दिने सूर्योदय महोत्सवको समापन कार्यक्रममा बोल्दै खनाले यस्तो बताएका हुन् । ‘जुनसु्कै रुपमा लगिएको होस, हाम्रो भूमी फिर्ता गरेरै छाड्छौ’, खनालले भने,‘हामीलाई भारतको एक इञ्च भूमी चाहिएको छैन, हाम्रो भूमी एक इञ्च पनि छाड्दैनौ ।’
अतिक्रमीत भूमिको बारेमा नेपालमा एतिहासिक एकता कायम भएको भन्दै खनालले नेपालीहरुबीचको एकतानै समस्या समाधानको ग्यारेन्टी भएको बताए । ‘अतिक्रमीत भूमिका विषयमा एतिहासिक रुपमा राष्ट्रिय एकता कायम भएको छ, हामी एक भयौ भने मात्रै अतिक्रमित भूमी फिर्ता ल्याउन सक्छौ’, खनालले भने,‘हामी एक भयौ भने सार्वभौम, अखण्डता र एकता जोगाउँन सक्छौ ।’ खनालले अतिक्रमीत भूमीका बारेमा दलको आवद्धता भन्दा माथि उठेर एक हुन आह्वान गरेका छन् ।
नेता खनालले भारतले मुलुकको नयाँ नक्सा जारि गर्दा नेपाली भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र आफ्नो नक्सामा पारेर नेपालप्रति आघात पु¥याएको बताए । ‘भारतले सीमा मिचेर हामीलाई आक्रान्त पारेको छ, लिम्पियाधुरा लिपुलेक कालापानी मात्रै होइन भारतले अनेकन ठाउँमा सीमा अतिक्रमण गरेर हामीलाई आघात पु¥याएको छ ।’
नेता खनालले अतिक्रमित भुमी आज भोलीनै किन फिर्ता भएन भनेर कतिपयमा हुटहुटि हुनसक्ने भन्दै त्यसलाई आपत्तिका रुपमा लिन नहुने बताएका छन् । उनले कुटनीतिक र राजनीतिक पहलबाट अतिक्रमणमा परेको भूमी फिर्ता गर्न सरकार लागि परेको दावी गरेका छन् । संसारको दुईसय भन्दा बढि मुलुकहरुले आफ्नो सीमाना अंकित गरिसकेको बताउँदै नेपालले अहिलेसम्म सीमाना अंकित गर्न नसक्नु दुखद भएको बताए ।
नेकपा बरिष्ठ नेता खनालले नाकावन्दीको युग पूर्ण रुपमा समाप्त भएको बताएका छन् । नेपालले पटक पटक खेप्नु परेको नाकावन्दीको युग समाप्त भएको खनालको भनाई छ । भारतले पेट्रोलियम पदार्थ मात्रै रोक्दा मुलुकमा नाकावन्दी हुनेगरेको स्मरण गर्दै खनालले अमलेखगञ्ज मोतिहारी पाइपलाइनको निर्माणले नाकाबन्दी गर्दा समेत पेट्रोलियम पदार्थ बन्द नहुने अवस्था बनेको बताएका हुन् । ‘पहिलेका सरकारले दक्षिणतिरको मात्रै ढोका खोलेका थिए, नेकपाको सरकारले दक्षिणमात्रै होइन उत्तरतिरको पनि ढोका खोलेको छ’, खनालले भने,‘मुलुकको स्वतन्त्रता, अखण्डता र सार्वभौमिताको लागि दक्षिणतिर मात्रै होइन, उत्तरतिरको पनि ढोका खोलिएको हो ।’ सरकाले चीनतिरबाट सडक, रेलवे, विद्युतीय लाईन र हावाई क्षेत्रमार्फत कनेक्टिभिटी बढाउँदै लगेको बताएका छन् ।
महोत्सवको समापन कार्यक्रममा बोल्दै नेता खनाले नेपालमा पर्यटनका अथाहा सम्भावना रहेको बताएका छन् । ‘मैले संसारका थुप्रै ठाउँहरु देखेको छ, म जन्मिएको हुर्केकोे कारणले भनेको होइन नेपालभन्दा सुन्दर देश कहि छैन’, उनले थपे,‘नेपालमा पनि इलाम सवैभन्दा सुन्दर जिल्ला हो ।’ ति ठाउँहरुले विकास र सक्रियतालाई पर्खेर बसेको उनको भनाई छ । सभापन कार्यक्रममा प्रदेश सांसद काजिमान काजते, संविधानसभा सदस्य सूर्यबाला राई, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली, दुर्गा बराल लगायतले बोलेका थिए । सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख दुर्गादेवी भट्टराईले शुभकामना मन्तब्य व्यक्त गरेकी थिइन् ।


657 पटक हेरिएको 






