इलाम । पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा आजदेखि ‘प्रथम सूर्योदय नगर पर्यटन महोत्सव’ शुरु भएको छ । महोत्सवको पहिलो दिन अन्तुबाट उदाउदो सूर्यलाई पुजा गरेर महोत्सवको थालनी गरिएको छ ।
पाँच दिने पर्यटन महोत्सवमा सूर्योदय नगर क्षेत्रको विभिन्न छ स्थानमा फरक फरक कार्यक्रमहरु आयोजना गरिएको छ । महोत्सवको पञ्चकन्या स्थित करफोक खेल मैदानमा औपचारिक उद्घाटन हुँनेछ । महोत्सवको एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधनराईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । करफोकमा उद्घाट गरिएपछि पञ्चकन्या सहित, श्रीअन्तु, पशुपतिनगर, गोर्खे, कन्याम र फिक्कल क्षेत्रमा निर्धारण गरिएको कार्यक्रम सञ्चालन हुने महोत्सव आयोजक समितिकी संयोजक तथा नगरपालिका उपप्रमुख दुर्गादेवी भट्टराईले जानकारी दिइनन् ।
पर्यटन वर्षलाई समेत सफल पार्ने उद्देश्यअनुरुप आयोजना गरिएको महोत्सवमा आकर्षित गर्न विश्वमानै लोप हुन लागेको रेडपाण्डाको अवलोकनको लागि रेड पाण्डा ट्रेल, फिसिङ्ग, सस्तो बजार कार्यक्रम, सुन्दर घोडा प्रतियोगीता, सूर्य पुजा, लोपोन्मुख लेप्चा जातिको संग्रालय अवलोकन, जुठी प्रवद्र्धन, डम्फु साँझ, देउराली हाइकिङ जस्ता नौलो कार्यक्रमहरु तय गरिएको छ । त्यस्तै टि टेष्टिङ तथा लघु उद्यम प्रदर्शनी, सास्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रमहरु सहित फरक फरक ठाउँमा सास्कृतिक कार्यक्रमहरु आयोजना गरिएको छ ।
पाँच लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवमा आउने पर्यटकको सहजताका लागि नगरपालिकाले टोल फ्रि नम्बरको व्यवस्था गरिएको छ । नगरपालिका कार्यालयमा कल सेन्टर समेत स्थापना गरिएको छ । कल सेन्टरमा सम्पर्क गर्ने पर्यटकलाई बासस्थान व्यवस्थापनको लागि समन्वय गरिनेछ । नगरपालिका क्षेत्रको सवै होटलको सूचि नगरपालिकाले वेभसाइडमा राखेको छ । नगरपालिकाले प्रत्येक होटलमा अनिवार्य मेनु राख्नुपर्ने व्यवस्था गरेको छ । मेनु नभएका होटलले पनि मुल्य सूचि ग्राहकले देख्ने गरी राख्नुपर्ने व्यवस्था गरिएको छ । नगरपालिका क्षेत्रमा एक सय ५९ होटल तथा होमस्टेहरुसूचि सार्वजनिक गरेको छ । ती होटल तथा होमस्टेमा दैनिक चार हजार राख्न सकिन्छ ।
पर्यनमैत्री व्यवहारको लागि यातायात व्यवसायीसंग अन्तरक्रिया गरिएको छ । नजिकको दुरीमा गुड्ने सवारीको समेत भाडादर कायम गरेको छ । गाडीहरुलाई भाडाको सूचि अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको । भाडाको सूचि होर्डिङ्ग बोर्ड बनाएर विभिन्न स्थानमा राखिएको छ । नगरपालिकाले विदेशी पर्यटक लक्षित गरेर विभिन्न भाषाका बोर्डहरु समेत राखिएको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।
नगरपालिकाले पर्यटकीय स्थलमा सौन्दर्यकरणको काम गरेको छ । कन्याम, अन्तु लगायत सौन्दर्यकरणको काम गरिएको उपप्रमुख भट्टराइले बताइन् । महोत्सवका लागि विभिन्न ठाउँमा गेटहरु निर्माण गरिएको छ । सौचालय नभएका ठाउँमा अस्थायी सौचालयको व्यवस्था गरेको छ । सूर्योदयको कन्याम, श्रीअन्तु पर्यटकको बाहै्रमास चाप हुने क्षेत्र हुन् । महोत्सवले पर्यटकीय दृष्टिले सम्भावना बोकेको ठाउँको प्रचार प्रसार हुने अपेक्षा आयोजकको छ ।
कहाँ के कार्यक्रम
पञ्चकन्यामा औपचारिक उद्घाटनपछि परम्परागत बस्तुहरुको अवलोकन पाँचै दिन हुने छ भने राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर मंसिर १७ गते अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न खेल प्रतियोगीता आयोजना गरिएको छ ।
अन्तुमा उदाउँदो सूर्यको पुजा गरेर कार्यक्रम शुरु हुनेछ । त्यस्तै अन्तु क्षेत्रमा पाँचै दिन फुड स्टलहरु सञ्चालन गरिने छ भने पर्यटकलाई आकर्षण गर्नका लागि अन्तुपोखरीमा फिसिङ गराउन कार्यक्रम राखिएको छ । अन्तु पोखरीमा बोटिङ्ग गर्न पाइने छ । महोत्सव अवधिभर लेप्चा संग्रालयको अवलोकन गराउने कार्यक्रम छ । संग्रालय यस अघि बन्द थियो । १५ गते देवघाटमा कविता प्रतियोगीता, १६ गते बृहत सास्कृतिक कार्यक्रम, १७ गते शान्ति बजारमा खेलकुद कार्यक्रम, सोही दिन लोपोन्मुख लेप्चा जातिको जुठी प्रवद्र्धन कार्यक्रम तय गरिएको छ ।
पशुपतिनगर विभिन्न जातिय परिकारहरुको प्रदर्शनी सहितको फुडस्टल महोत्सव अवधिभर सञ्चालन हुनेछ । तेस्रो देशको सामान पाइने सीमावति बजार पशुपतिनगरमा विषेश छुटमा सामान विक्री गर्न सस्तो बजार कार्यक्रम सञ्चालन गरिनेछ । १५ गते बृहत सास्कृतिक कार्यक्रम, आँखा शिविर लगायतका कार्यक्रम पशुपतिनगरमा हुने आयोजकले जानकारी दिएको छ ।
गोर्खेमा पर्यटकहरुलाई लोपान्मुख जनवार रेडपाण्डा अवलोकनको लागि रेडपाण्डा ट्रेल कार्यक्रम राखिएको छ । गोर्खेको थुम्की क्षेत्रको सामुदायिक वनमा रेडपाण्डा पाइने भएकाले तीन रात बास सहित चार दिने प्याकेज बनाइएको सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए । विभिन्न चारवटा बाटो भएर रेडपाण्डा पाइने क्षेत्रमा पुग्न सकिने स्थानीय जेवि फिलिहाङ्ग बताउँछन् । सोही प्याकेजमा तीन तले झरना, नेपालकै दोस्रो हाइड्रोपावर, करिप्पाक ध्यान स्थल समेतको अवलोकन गराउने कार्यक्रम राखिएको छ ।
कन्याममा बौद्य परम्पराबाट गुम्बा पुजा, हरेक दिन हाइकिङ्ग, प्रत्येक दिन डम्फँ साँझ, १५ गते बृहत साँस्कृतिक कार्यक्रम, सुन्दर घोडा प्रतियोगीता, टि टेष्टिङ्ग तथा लघु उद्यम प्रदर्शनी रक्तदान लगायतका कार्यक्रम तय गरिएको छ । फिक्कलमा प्रत्येक दिन नाटक तथा फिल्म प्रदर्शनी, अन्तर विद्यालय सास्कृतिक कार्यक्रम राखिएको छ ।