
इलाम । इलाम नगरपालिकाले पदाधिकारीको सुविधाको रकम कटौती गरेर कडा रोग लागेका बिरामीलाई १० हजार रुपैयाँका दरले वितरण गर्ने निर्णय गरेको छ । सरकारले जारी गरेको विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाअनुसार कडा रोगको उपचारका लागि सिफारीस भएका व्यक्तिलाई १० हजार रुपैयाँ दिने नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको नगरपालिकाका प्रवक्ता ठाकुर नारायण श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले पदाधिकारीको सुविधाको लागि चार लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । सो रकम अब कडा रोगीको उपचारमा खर्चिने भएको छ । नगरपालिकाले कडा रोगको सिफारिस लिन आउँदै सो रकम प्रदान गर्ने नगरप्रमुख महेश बस्नेतले जानकारी दिए । ‘कडा रोगको उपचारको लागि सिफारिस लिन आउँदै रकम दिन्छौ’, नगरप्रमुख बस्नेतले भने,‘रकम लिन बिरामी आफै आउन नसके बिरामीको एकाघरको व्यक्ति हुनुपर्नेछ, नाता प्रमाणीत र बिरामीको मञ्जुरी नामा लिएर आउनुपर्नेछ । सरकारले मृगौला रोग, क्यान्सर, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाको उपचारको लागि सहुलियत दिने गरेको छ । सो सहुलियत लिनको लागि चालु आर्थिक वर्षदेखि नगरपालिकाले सिफारिस उपलब्ध गराउनु पर्छ । इलाम नगरपालिकाले चालु आर्थिक वर्षमा १८ जना कडा रोगीलाई सिफारिस दिएको छ । इलाम नगरपालिकाले अब सिफारिस सँगै १० हजार रुपैयाँ समेत उपलब्ध गराउने छ ।
नगरपालिकाले समेत रकम उपलब्ध गराउने भएपछि आर्थिक अभावका कारण अस्पताल पुग्नै समस्यामा रहेका बिरामीहरुले राहत महशुस गर्नेछन् । सरकारले मृगौला रोगीका लागि निशुल्क डाइलोसिसको व्यवस्था गरेको छ ।
मृर्गौला प्रत्यारोपणमा दुई लाख र औषधिको लागि थप एक लाख रुपैयाँ दिने गरेको छ मुटु रोगीका लागि अप्रेसन निशुल्क हुन्छ भने अन्य रोगका लागि उपचारमा एक लाख रुपैयाँ सहुलियत प्रदान गर्ने गरेको छ ।
कार्यपालिका बैठकले भारतको सिक्किम गान्तोक नगरपालिकासंग भगिनी सम्बन्ध विस्तारको लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।


1294 पटक हेरिएको 






