‘दूरदराजमा मुस्कान छाउनु नै समृद्धिको संकेत हो’

संवाद

इलामको सूर्याेदय नगरपालिका पूर्वीपहाडकै ठूलो क्षेत्रफल (२५२.५३ वर्गकिलोमिटर) भएको नगर हो । १ नम्बर प्रदेश सरकारले ‘पर्यटकीय नगरी’ घोषणा गरेको यो नगर अन्तुडाँडा, कन्याम, पशुपतिनगर र फिक्कलजस्ता पर्यटकीयस्थलले मात्र होइन, जिल्लामा सबैभन्दा बढी चिया उत्पादन गर्ने नगरका रूपमा पनि परिचित छ । स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार हुँदा रणबहादुर राई ‘जनतामा नभिजेको नेता’का रूपमा थिए । तर, मेयरमा विजयी भएपछि राईले सूर्याेदयलाई जिल्लामा मात्र होइन, देशमै समृद्धिको यात्रामा नयाँ ढंगले अघि बढिरहेको नगरका रूपमा चर्चामा ल्याएका छन् । ५६ हजार ६ सय ९१ जनसंख्या भएको सूर्याेदय नगरले ल्याएको नवीन सोच, नवीन योजना र तिनको कार्यान्वयनलाई ‘समृद्धिपथ’का रूपमा लिएर अन्य स्थानीय तहले समेत अनुसरण गरिरहेका छन् । सूर्याेदयले समृद्धिको संकेत देखिने के–कस्ता कार्यक्रम ल्याएको छ र तिनको कार्यान्वयन कसरी भइरहेको छ ? मेयर रणबहादुर राईसँग गरिएको कुराकानीको अंश ः

सूर्याेदय नगरपालिकाको मेयरका रूपमा अढाई वर्षको कार्यकाल कसरी बित्यो ?

नेपालको संविधानले अधिकार निक्षेपण गरेपछि ३ तहका सरकार बने । अहिलेसम्मको अनुभवले स्थानीय सरकार साँच्चैको सरकार बन्नसक्छ देखाएको छ । हामीले संविधानका अधिकार सही तरिकाले प्रयोग गर्न पनि सक्नुपर्छ । अर्काेकुरा, हामी जनप्रतिनिधिले चाह्यौं भने, आवधिक र दीगो योजना बनाएर अघि बढ्ने हो भने केही वर्षभित्रैमा विकासको क्षेत्रमा कायापलट नै गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।

सूर्याेदय नगरपालिकाको समृद्धियात्रा कसरी अघि बढेको छ ?

हामीले समृद्धिको आधार तयार गर्न शिक्षा, स्वास्थ्य, आवास, रोजगारीलगायत हरेक क्षेत्रका कार्यक्रम ल्याएका छौं । ती कार्यक्रम सफल कार्यान्वयन भइरहेका छन् । विद्यालय र स्वास्थ्य कार्यालयहरूमा शिक्षक–कर्मचारीको बायोमेट्रिक्स हाजिरी सुरु गर्नेमा सूर्याेदय देशमै पहिलो हो भन्ने लाग्छ । इच्छा हुँदाहुँदै आर्थिक अभावका कारण देश दर्शन गर्न नपाएका ज्येष्ठ नागरिकलाई वर्षमा १ पटक भ्रमणमा लैजाने गरेका छौं । नगरलाई गाईको जोन बनाएका छौं, ‘एक घर, एक उन्नत जातको गाई’ वितरण गरेर नगरलाई दिनको २ लाख लिटर दूघ उत्पादन गर्ने लक्ष्यले काम गर्दैछौं ।
दिनको २ लाख लिटर दूध उत्पादन गर्नसक्दा नगरमै ठूलो दुग्ध प्रशोधन उद्योग खोल्ने दाताहरूको इच्छा छ । त्यसले मिल्क होलिडलाई अन्त्य गर्नेछ । दीर्घकालीन रोग बोकेर बस्न बाध्य आर्थिक अवस्था नाजुक भएका परिवारलाई औषधोपचार, अपांगता भएका व्यक्तिका परिवार एकल महिलालगायतलाई उन्नत जातको गाई वितरणमा प्राथमिकता दिएका छौं । गरिबी निर्मूल गर्ने अवधारणाअनुसार निम्न आर्थिक अवस्था भएका व्यक्तिको घरमा जस्ताको छाना लगाइदिएका छौं । खर, सिरुजस्ता घर छाप्न प्रयोग गरिने वस्तुलाई घाँसका रूपमा प्रयोग गर्न यसो गरिएको हो । गोठ सुधार, घाँस वितरण, पशुपालनबारे अनुसन्धानका कार्यक्रम कार्यान्वयनमा छन् ।
नगरलाई कृषि–पशुपालन, पर्यटनको केन्द्र बनाउने, यहाँको कार्यप्रणाली वैज्ञानिक, आधुनिक र चुस्त बनाउनेखालका कार्यक्रमले नगरलाई केही पाइला माथि उठाएका छन् । नगरले प्रत्येक वर्ष समृद्धिको आधार तयार गर्नेखालका योजना ल्याएको छ । अहिले देशका विभिन्न नगरपालिकाका जनप्रतिनिधि सूर्याेदयमा अवलोकन भ्रमणमा आइरहनुभएको छ । उहाँहरूलाई हाम्रा दर्जनौं कार्यक्रम नयाँ लागेको विचार व्यक्त गर्नुभएको छ । पूर्वमा कतिपय स्थानीय तहले चाहिँ हामीसँग सल्लाह गरेर यहाँको जस्तै कार्यक्रम आफ्नो नगरमा सुरु पनि गर्नुभएको छ ।

नगरले ल्याएका उल्लेखनीय र नयाँ कार्यक्रम के–के छन् त ?

हामीले सूर्याेदय नगरको एउटा कल्पना गरेका छौं । प्रत्येक वर्ष नयाँ कार्यक्रम ल्याएका छौं । नगरले चालू वर्ष पनि ‘सूर्याेदय’ अंग्रेजी शब्दको ‘एसयुआरवाइओडिएवाइए’को पूरा रूपलाई आफ्नो मुख्य लक्ष्य बनाएर नयाँ अवधारणा ल्याएको छ । दिगो र सन्तुलित विकासको लक्ष्य निर्धारण, राजनीतिक दल, स्थानीय र कर्मचारीको एकीकृत समन्वयात्मक प्रयास, औचित्यमा आधारित अनुसन्धानमूलक कार्यक्रम, युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति सूर्याेदयको लक्ष्यमा समेटिएका छन् । त्यस्तै, सीमान्तकृत र लोपोन्मुखको समावेशी सहभागिता, प्रांगारिक कृषि, पर्यापर्यटन र आर्थिक समानता प्रवद्र्धन, समग्र पूर्वाधार प्रविधिमा नवीनताको विकास, उत्तरदायी, तटस्थ र सक्षम प्रशासन, युवालक्षित खेलकुद र उद्यमशीलता तथा विकास र समृद्धिको पहिचान दिने नगरपालिकाका हाम्रो लक्ष्य हो ।
विकास–निर्माणमा ल्याइएको नवीन सोचले धेरैलाई आकर्षित गरेको छ । पहाडी क्षेत्र भएकाले यहाँका कच्ची सडकमा हिउँदमा गाडी चलेपनि बर्खामा बन्द हुने बाध्यता छ । त्यसलाई अन्त्य गर्न ‘एक वडा, एक बाह«मासे सडक’को अवधारणा कार्यान्वयनमा छ । नयाँ सडकको ट्र्याक खोल्नेभन्दा प्रत्येक वडामा कम्तीमा एउटा सडकलाई बाह«ैमास गाडी चल्ने बनाउने हाम्रो कार्यक्रम अन्य स्थानीय तहले पनि अनुसरण गरेका छन् । र, यो सबैभन्दा प्रभावकारी पनि भएको छ । सूर्याेदय अब पूर्वाधारका काम गर्न बायो–इन्जिनियरिङमा जाँदैछ । कुन स्थानको माटोमा कुन संरचना दीगो हुन्छ भन्ने तथ्यांक यसले दिनेछ । बाढी–पहिरो, भू–क्षयलगायत समस्याबाट संरचना जोगाउन बायो–इन्जिनियरिङ आवश्यक छ ।
‘नगरपालिकाको इच्छा, महिलालाई शिक्षा’ कार्यक्रम पनि नयाँखालको हो । विवाह भएर नगरमा आएका बुहारीका लागि निःशुल्क शिक्षा दिने यो कार्यक्रमबाट प्रत्येक वर्ष यहाँका ६० बुहारीले उच्च शिक्षामा छात्रवृत्ति पाएका छन् । उनीहरूलाई बोलाइ–बोलाइ यो सुविधा दिएका छौं । ‘एक वडा, एक सस्तो सहकारी पसल’ पनि स्थापना गर्दैछौं, जहाँ उपभोक्ताले अन्य पसलभन्दा सस्तो दररेटमा सामग्री पाउँछन् । यो नगरपालिका देशमै चियाको राजधानीका रूपमा परिचित छ । तर, यहाँका किसानले हरियो पत्तीको मूल्यमा ठगिएर प्रतिकिलो १५ रुपैयाँमा चित्त बुझाउनुपरेको थियो । नगरले उद्योगी, किसान, चिया तथा कफी विकास बोर्डका प्रतिनिधिलगायतकै समझदारीमा हरियो चियाको न्यूनतम् मूल्य प्रतिकिलो ४० रुपैयाँ बनाएर कार्यान्वयन गरेको छ । यो नगरमा बर्सेनि अढाई करोड किलो हरियोपत्ती उत्पादन हुन्छ । चियाको न्यूनतम् मूल्य तोक्दा करोडौं रकम व्यापारी र विचौलियाको हातबाट अब किसानको हातमा गएको छ । नगरमा जहाँबाट आएका व्यक्तिले पनि यहीं उत्पादन भएको चिया चाख्न पाऊन् भन्ने ध्येयले टी–टेस्टिङ सेन्टरको भवन निर्माण गर्दैंछौं ।
नगरले १ सय १६ घरका ३ सय ८२ विधवा महिलाको परिवारलाई स्वास्थ्य बिमा गराइदिएको छ । विभिन्न प्रविधि हस्तान्तरण गर्ने सन्दर्भमा अर्गानिक नगरको सपना पूरा गर्न मल बनाउने प्रविधि, विभिन्न जीवातु बनाउने विधि किसानलाई सिकाइरहेका छौं । यसको प्रतिफल अत्यन्त राम्रो छ । लोपोन्मुख लेप्चालगायत समुदायमा रहेका गरिब परिवारलाई आवासको व्यवस्था, अपांगता भएका व्यक्तिलाई स्वावलम्बी बनाउने, हिंसापीडित महिलालाई संरक्षण गर्न आवासगृह निर्माण हुँदैछ । यसअघि नगरपालिकामा कुनै आवधिक योजनाका नमूना थिएनन् । हामी कुन वर्षमा कहाँ पुग्ने भन्ने योजनासहित मध्यकालीन र दीर्घकालीन योजना बनाउँदै अघि बढेका छौं । यी योजना बनाउन नगरको प्रोफाइल तयार भइसकेको छ । स्रोतनक्सा तयार भएकाले ठूलो राहत मिलेको छ । कुन स्थानको माटोमा कुन खालको बाली उत्पादन गर्न सकिन्छ भन्ने पनि त्यसले उल्लेख गरेको छ ।
नगरका सबै परिवारको सबैखाले विवरण डिजिटल प्रविधिमै संकलन गरिन्छ । यसका लागि छुट्टै सफ्टवेयर बनाएर कागजको प्रयोग निकै कम गरिसकेका छौं । सबै वडामा इन्ट्रानेट (आन्तरिक सर्भर) प्रयोगमा आइसकेकाले कुनै चिठीपत्र पठाउनुपरे वा कुनै निर्देशन र जानकारी गराउनुपरे कागजको पत्र नभई डिजिटल नेटवर्कबाटै धेरै काम गरिरहेका छौं । यसले कार्यालयको ठूलो झन्झटबाट मुक्ति दिएको छ । समय बचत भएको छ । नगरका युवालाई रोजगारी दिन ‘सूर्याेदय नगर युवा दस्ता’ गठन गर्दैछौं । यो दस्ताले नगरमा सरकारी तथा निजी क्षेत्रले गर्ने विकासका काममा भइरहेको श्रमिक अभाव टार्नेछ भने बेरोजगार युवाले घरमा बसी–बसी रोजगारी पाउँदैछन् । नगरपालिकालाई ३ वर्षभित्र अर्गानिकउन्मुख बनाउने गतवर्षकै घोषणा छ । त्यसअनुसार कृषिमा हामीले सबैभन्दा बढी बजेट विनियोजन गरिरहेका छौं । निर्वाचित भएलगत्तै नागरिकको गुनासो सुन्न मेयरसहितको टोली टोल–टोलमा पुग्यो । अहिले पनि त्यो कार्यक्रम निरन्तर चलिरहेको छ । यो कार्यक्रमले नगरबासीलाई स्थानीय सरकारसमक्ष सोझै आफ्नो गुनासो राख्ने अवसर मिलेको छ । राजमार्गको जमिनमा बस्ती बसेर दुवैतर्फबाट चेपुवामा परेका बेला मेची राजमार्ग विस्तारको काम गरिएको छ । नगरबासीकै सक्रियता र सहयोगका कारण त्यो योजना पनि सफल भएको छ । यी केही उदाहरणमात्र हुन् ।

तपाइँ मेयरमा निर्वाचित भएलगत्तै ५ वर्षपछि सूर्याेदय नगरलाई देशकै सर्वाेत्कृष्ट नगर बनाउने घोषणा गर्नुभएको थियो । तपाइँको परिभाषामा समृद्धि के हो ?

समृद्धिको परिभाषा गर्न सजिलो छैन । दर्जनौं यस्ता कार्यक्रम ल्याएर कार्यान्वयन गरेका छौं, जुन साविकमा चल्ने स्थानीय निकायका कामभन्दा नितान्त नयाँ छन् । एकै वाक्यमा भन्नुपर्दा जब दूरदराज गाउँका गरिब परिवारको अनुहारमा मुस्कान छाउँछ, त्यो नै समृद्धिको संकेत हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा व्यवहारमा उतार्न सयौं आधार तयार गर्नुपर्छ । संविधान, कानुनमा भएका अधिकारले सम्पन्न हुनुमात्र नभई व्यावहारिक रूपमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइलगायत अनगिन्ती पूर्वाधारले जब ती गरिब झुपडी उज्यालो हुन्छन्, त्यो समृद्धिको आधार हो । सूर्याेदयलाई अर्गानिक नगर बनाउने, ‘एक वडा–एक पोखरी’, खानेपानी मुहान संरक्षण, स्वास्थ्य बिमालगायत दर्जनौं क्षेत्रका कार्यक्रम समृद्धिसँग ठोक्किएका छन् । हामी अहिले नै समृद्धि प्राप्त हुन्छ भन्ने हिसाबले होइन, समृद्धिको आधार चाहिँ प्राप्त गर्न सकिन्छ भनेर लागेका छौं ।

स्थानीय तहको निर्वाचनका बेला गरेका प्रतिबद्धता कति पूरा भए ?

चुनावका बेला त हामीले नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धतामात्रै गरेका थियौं । त्यतिबेला सडक, विद्युत्, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, सञ्चारलगायत कार्यक्रम थिए । ती आवश्यकता पूरा गरिरहेकै छौं । जस्तै, हिजो जनतालाई बिजुलीको एउटा पोल पाउँदा पनि ठूलो युद्ध जितेजस्तो हुन्थ्यो । अहिले नेपाल विद्युत् प्राधिकरणले पोल दिएन भने नगरले तत्कालै आवश्यक स्थानमा पु¥याइदिने व्यवस्था मिलाएको छ । स्वास्थ्य क्षेत्रका काम हुँदैछन् । नयाँ नगरपालिका भएकाले हिजो नगरमा केही थिएन । सबै वडा कार्यालय बनाउने कुरा थियो, अब २ वटामा मात्रै बाँकी छ । अहिले आधारभूत आवश्यकताका अतिरिक्त दीर्घकालीन कार्यक्रम निरन्तर कार्यान्वयनमा छन् ।

इलामका चर्चित पर्यटकीयस्थल अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगरलगायत पनि यही नगरभित्र छन्, नगरले पर्यटन विकासको क्षेत्रमा चाहिँ के गर्दैछ ?

नेपाल सरकारले कन्याम–फिक्कल–अन्तु सर्किटलाई देशका उत्कृष्ट सय पर्यटकीय गन्तव्यमा राखेको छ । तिनको प्रचार गर्न यही मंसिर १४ देखि १८ सम्म सूर्याेदय पर्यटन महोत्सव आयोजना गर्दैछौं । पर्यटन वर्ष सन् २०२० को प्रचारका लागि ५ लाख पर्यटक भिœयाउने लक्ष्यले अहिले महोत्सव आयोजना गर्न लागिएको हो । यहाँका पर्यटकीयस्थललाई अन्य स्थानीय तहका पर्यटकीयस्थलसँगसमेत नेटवर्किङ गर्ने योजना छ । इलाममा आउने ठूलो संख्याका पर्यटक झापाबाट सूर्याेदय नगरपालिका भएर आउने भएकाले यहाँबाट अन्य स्थानीय तहसँग नेटवर्किङ गर्न सकिन्छ । जिल्लाकै पर्यटनका लागि यहाँबाट एउटा ट्र्याक बनाउन सकिन्छ । अन्य स्थानीय तहसँग पनि छलफल र समन्वय गरेर नयाँ कार्यक्रम ल्याउँछौं । दीर्घकालीन पर्यटन विकासको आधार तयार गर्छाैं ।

नगरमा सञ्चालन गरिने भौतिक निर्माणका काममा कसरी आमनागरिकलाई सन्तुष्ट बनाउन सकिन्छ ? सरकारले कानुन, योजना बनाउँछ र बजेट पनि विनियोजन गर्छ । त्यसको कार्यान्वयन गर्ने पाटो आम नागरिकको हो । त्यसमा व्यक्ति, टोल विकास संस्था र सिंगो समुदाय पर्छ । जनप्रतिनिधि र कर्मचारी पहिलो जिम्मेवार भइहाले, स्थानीय टोल विकास संस्था, बुद्धिजीवी, नागरिक समाजलगायत सबैको सक्रिय सहभागिता यसमा रहनुपर्छ । सहभागिताले मात्रै कुनै पनि काममा अपनत्व गराउँछ । जबसम्म जनतालाई ‘यो योजना मेरो हो’ भन्नेमा सचेत बनाउन सकिँदैन, तबसम्म त्यो सफल हुँदैन । हामी नागरिकलाई सचेत बनाउनेखालका सफ्टवेयरका काम अधिक संख्यामा गरिरहेका छौं । सफ्टवेयर र हार्डवेयरको पाटोलाई सन्तुलित बनाएर लैजान सकिएमात्रै जुनसुकै कार्यक्रम दीगो र प्रभावकारी बन्छन् । बजेट विनियोजन गरेर, खर्च गरेरमात्रै मैले यसो गरेको छु भनियो भने त्यो क्षणिक होला, दीगो हुँदैन । जनप्रतिनिधिको निष्क्रियता र कर्मचारीकै कारणले पनि कतिपय समस्या आइरहेका हुन्छन्, कतिपय कर्मचारी सक्षम भएपनि कतिपय नहुन सक्छन् ।

योजना अनुगमनको पाटो चाहिँ कस्तो छ नि ?

उपप्रमुखको संयोजकत्वमा नगरमा अनुगमन समिति छ । तर, उहाँको अगुवाईमा हामी जनप्रतिनिधि र कर्मचारी पनि अनुगमनमा जान्छौं । हरेक कार्यपालिका बैठकमा वडामा भइरहेको गतिविधि, त्यहाँ निर्माणाधीन विकासका योजना बैठक सुरु हुनुअघि छलफल गरेर मात्र मुख्य एजेन्डामा जाने गरेका छौं । योजनाहरूको मसिनो तरिकाले समीक्षा गरेपछि त्यसलाई आवश्यक सुधार गर्न सजिलो हुन्छ । प्रत्येक वडा सदस्यसमेत महिनामा कम्तीमा १५ दिन कार्यालयमा उपस्थित हुनैपर्ने बाध्यकारी निर्णय गरेका छौं । यसले योजनाहरूको अनुगमनमा ठूलो सहयोग पुग्दोरहेछ । हामीले कतिपय योजनामा ठेकेदारले सकिसकेको कामसमेत भुक्तानी रोकेर काम सच्याएपछिमात्र भुक्तानी दिएका छौं । विशेषगरी सडक, भवन निर्माणका योजनामा अनुगमन गरेपछि चित्त नबुझेर काम दोहो¥याउन लगाइएको छ । २–४ योजनामा धेरै कडाइ गरेपछि अन्य योजनामा त्यसको सकारात्मक प्रभाव परेकाले पनि अनुगमन राम्रो भएको छ । त्यतिमात्र होइन, म आफूले नगरले निर्माण गरिरहेका कुनैपनि योजनाको काम चित्त नबुझे आफूलाई वा नगरपालिकामा सोझै उजुरी गर्न सार्वजनिक आह्वान पनि गरेको छु । सामाजिक सञ्जालमार्फत् आएका नागरिकका गुनासोहरूमा पनि हामी तुरुन्त कदम चालिहाल्छौं ।

न्यायिक समितिको काम चाहिँ कसरी चलिरहेको छ ?

न्यायिक समितिको काम निकै सहज छ । उपप्रमुख दुर्गा भट्टराईज्यू लामो समय मेलमिलाप समिति, मेलमिलाप केन्द्रलगायतमा बसेर काम गर्नुभएको अनुभवी व्यक्ति हुनुहुन्छ । उहाँको अनुभवले नगरलाई न्यायिक पाटोको काम गर्न अत्यन्त सहज भएको छ । नगरमा आएका मुद्दाहरूमा अहिलेसम्म इजलाश बस्नुपरेको छैन । आफ्नो कार्यक्षेत्रमा पर्नेखालका सबै मुद्दामा मेलमिलाप नै भएको छ । वडा–वडामा मेलमिलाप केन्द्र गठन भएका छन् । प्रायः वडामै मुद्दा मिल्छन्, त्यहाँ नमिलेका मुद्दामात्र नगरमा आइपुग्छन् । आएका मुद्दामा कार्यसम्पादन राम्रो छ ।

तपाइँहरूको कामप्रति नागरिक चाहिँ कत्तिको सन्तुष्ट होलान् ?

यो प्रश्न त नागरिकलाई नै सोध्नुपर्छ । म सन्तुष्ट छु । तर, जति काम गर्नुपर्ने हो, पूरा हुन सकेको छैन । तैपनि, हामी गुनासो चौतारीमा टोल–टोलमा गएका बेला हामीलाई नगरको काममा गुनासो आएको छैन । जे–जति काम हुँदैछन्, सबैमा सानातिनाबाहेक ठूलो समस्या पनि छैन । हामी कार्यालयमा १२–१३ घन्टा काम गर्छाैं । प्रमुख, उपप्रमुख वा अरू कोही जनप्रतिनिधिमध्ये कम्तीमा १ जना सधैं कार्यालयमै हुन्छौं । यसो गर्दा नागरिकलाई यहाँ आएर आफ्ना कुरा राख्न सजिलो छ ।

नेपालको संविधानले कल्पना गरेअनुसार स्थानीय तहले संघीय र प्रदेश तहबाट स्वतन्त्र रूपमा काम गर्न पाएका छन् ?

३ तहका सरकार सहकार्य, सहअस्तित्व र समन्वयमा चल्ने हो । तर, निर्वाचन हुँदा पहिला संघीय संसद्, त्यसपछि प्रदेश अनिमात्र स्थानीय तहको हुनुपर्नेरहेछ । किनभने, पहिला हामीले बनाएका कानुन लागू गर्दागर्दै संघीय कानुनसँग बाझिन्छन् । प्रदेशसँग बाझिनसक्छन् । त्यस्तो अवस्थामा स्थानीय तहको कानुन खारेज हुन्छ । पहिला संघीय तह, त्यसपछि प्रदेशको निर्वाचन भए उनीहरूले कानुन बनाउँदै गर्दा स्थानीय तहले त्यसअनुसार कानुन बनाउन पाउने थिए, काम पनि सुल्टो गतिमा अघि बढ्नेथियो । कतिपय कानुन अहिलेसम्म संघ र प्रदेशमा नबन्दा स्थानीय तहले काम गर्न पाएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहलाई दिइएका सबै अधिकार प्रयोग गर्न पाइरहेको छैन । विशेषगरी शिक्षा, वनलगायत क्षेत्रमा यो समस्या छ । कहिलेकाहीं स्थानीय तहले पाएका अधिकारमाथि सीधै हस्तक्षेप हुनेगरेको छ । हामीले गरिरहेको काम संघीय सरकारको एउटा मन्त्रालयको चिठीले रोकिनेखालको अवस्था अहिले पनि छ ।

कति कानुन बनाइसक्नुभयो ? नगरलाई कर्मचारी र नागरिकको समर्थन कत्तिको जुट्छ ?

४० वटाभन्दा बढी कानुन नगरले पारित गरेर लागू गरेको छ । अहिलेसम्म हामीले सबैभन्दा बढी पाएको भनेकै स्थानीयको समर्थन र सहयोग हो । कर्मचारीले पनि सहयोग गरेका छन् । तर, जुन गतिमा जनप्रतिनिधि दौडिन चाहेका छन्, कर्मचारीले त्यो गति लिन कहिलेकाहीं समस्या पर्छ । मैले अघि पनि भनें, कतिपय कर्मचारी दक्ष छन् भने कतिपयको काम गराइमा दक्षता कम छ । हिजो करिब २ दशक शासन चलाएका कतिपय कर्मचारीलाई त्यही धङधङीले छाडेको छैन । यो समस्या यहाँको मात्र होइन, देशभर नै छ । यो सोचबाट बाहिर ननिस्केसम्म समृद्धि पनि सम्भव हुँदैन ।

आफ्नो कार्यकालभर काम गर्न कुनै ठूलो चुनौती छ ?

सामान्य समस्या पाइला–पाइलामा आइरहन्छन् तर ठूलो अथवा हाम्रो काम नै अड्काउनेखालको चुनौती छैन । समस्या परेका बेला सरोकारवालासँग बसेर छलफल, सहमति, सहकार्य गरेर अघि बढेका छौं ।

एउटा स्थानीय तह के ग¥यो भने सफल हुन्छ ?

कार्यालयमा बसेर सबैले काम गर्नुप¥यो । जनताका कुरा सुन्नुप¥यो । जनताको आवश्यकता र मनोविज्ञान बुझ्नुप¥यो । र, अरू ३ कुरा आवश्यक छन्, वार्षिक, आवधिक र दीर्घकालीन योजना बनाउनुपर्छ । यी कामले सफल हुन सकिन्छ । हाम्रो कार्यकाल सकिँदा सूर्याेदयले त एउटा ट्र्याक बनाएकै हुन्छ । नगरलाई समृद्ध बनाउने आधार तयार गर्न केहीले छेक्नेछैन । अहिले सूर्याेदयको एकखालको परिचय स्थापित भइसकेकै छ । यसलाई निरन्तरता दिएर नगरलाई नमूना बनाउन आवश्यक सबै आधार तयार गरेरमात्रै बिदा लिने हो । समृद्धि सम्भव छ, सकारात्मक सोच, दीर्घकालीन योजना र तत्परता मात्रै चाहिने हो, जुन हामीसँग छ, नगरबासीसँग छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार