इलाम । पर्यटन क्षेत्रसँग प्रत्यक्ष जोडिएको अध्यागमन कार्यलयमा काम नै नहुदा पुर्वी नाका पशुपतिनगरको नाकाबाट पर्यटन वर्षमा समेत विदेशी पर्यटक भित्रिने सम्भावना टर्दै गएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र पशुपतिनगरमा स्थापना भएको अध्यागमन कार्यलय सञ्चालनमा नआउदा पुर्वी पहाडमा यो नाका हुदै आउने तेस्रो मुलुकका पर्यटक ल्याउनमा समस्या भएको हो । स्थापना गरी उद्घाटन गरेको सात महिना बितिसक्दा पनि कार्यलय हालसम्म सञ्चालनमा आउन नसक्दा तेस्रो मुलुकका पर्यटक भित्रिने सम्भावना कम हुदै गएको हो ।
विदेंशी नागरिकका गैरकानुनी गतिविधि नियन्त्रण तथा अध्यागमन तथ्यांक व्यवस्थित गर्न, तेस्रो मुलुकबाट आएका पर्यटकलाई प्रवेश आज्ञा दिन र यस कार्यलाई व्यवस्थित गर्ने भन्दै अध्यागमन कार्यलयको स्थापना गरिएको हो । यस्ता कार्य व्यवस्थित भए सरकारलाई राजस्वमा पनि थप योगदान पुग्ने देखिएकाले गएको वैशाखमा कार्यलयको उद्घाटन गरिएको थियो ।
गएको वैशाख १५ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’बाट कार्यलयको उद्घाटन भएको हो । यहाँबाट तेस्रो मुलुकका पर्यटक भित्र्याउन सकिन्छ भन्ने अपेक्षा निकै थियो, तर पर्यटन वर्ष अगावै त्यो अपेक्षा पुरा हुने सम्भावना भने कम भएर गएको छ । सुर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले भने, ‘भारततर्फ अध्यागमन कार्यलय नभई नेपालमा स्थापना गरिएको कार्यलयमा काम हुदैन ।’ नेपालमा मात्रै यस कार्यलयको स्थापना भएकाले यो कार्यलय अर्थविहिन अवस्थामा पुगेको छ । उनका अनुसार, कार्यलयमा काम हुने नहुने भन्ने भर भारत सरकार कै हातमा छ । नेपालका तर्फबाट भने प्रयास निरन्तर जारी राखिएको छ ।
प्रमुख राईले भने, दशैँ अगाडी भारतीय राजदूत मन्जीव सिंह इलामको पशुपतिनगर आई ंपुनः निरिक्षण गरेर गएका छन्, ‘त्यो समयमा हामीले अध्यागमन कार्यलय सञ्चालनका लागि सहज वातावरण बनाईदिन अनुरोध गरेका छौँ ।’ भारततर्फ अध्यागमन, भन्सार र क्वारेन्टाइन कार्यलयको स्थापना गर्ने कार्यमा भारत सरकार सकरात्मक रहेकाले निकट भविष्यमा सञ्चालन हुन्छ भन्नेमा विश्वस्त रहेको उनको भनाई छ । कारण खुलाउदै उनले भने, भारतीय विदेश मन्त्री नेपाल आएका बेला नेपाल सरकारले भारततर्फ अध्यागमन खोल्नु पर्छ भन्ने एजेण्डा अघि सार्दा विदेश मन्त्री सकरात्मक भएर फर्किएका छन् ।
भारत आवतजावतमा इलाम, पाँचथर, ताप्लेजुङ्ग अर्थात पुर्वी पहाडका लागि एक मात्र सहज नाका पशुपतिनगरको नाकालाई मानिएको छ । यहाँबाट तेस्रो मुलुकका पर्यटक भित्र्याउन र उत्पादित विभिन्न सामाग्री भारत निर्यात गर्न सहज हुने सबैको अपेक्षा थियो । ‘उद्घाटन हुदै गर्दा सपना ठूलो देखेका थियौँ तर अहिले भने सुनसान छ, देखेको सपना पनि पुरा नै नहुने रैछ,’ गुनासो गर्दै पशुपतिनगरका व्यवसायी मिङ्गमा योल्मुले भने ।
स्थापना गरिएको यस सरकारी कार्यलयले तेस्रो मुलुृकका पर्यटकलाई १५, ३० र ९० दिनसम्मको प्रवेश भिसा जारी गर्ने अधिकार पाएको छ । यस अध्यागमन कार्यलयले प्रवेश भिसा लिएर आएका विदेशीलाई आगमन अनुमति जारी गर्ने, यस नाकाबाट प्रस्थान गर्ने विदेशीलाई प्रस्थान अनुमति दिने, विदेशी आगमनको विवरण अध्यावधिक राख्ने जस्ता कामको जिम्मेवारी पाएको कार्यलयका सहायक कम्प्युटर अपरेटर बुद्धमाया थेगिमले बताए ।
हाल कार्यलयमा तीन जना कर्मचारी मात्र रहेका छन् । जसमा दुई जना नियमित हाजिरीमा रहने करार कर्मचारी हुन् । दरबन्दी भने नौ जनाको रहेको छ । कर्मचारी विहान १० बजेदेखि ५ बजेसम्म कार्यलयमा हाजिर हुन्छन् । तर पनि पर्यटकलाई दिनु पर्ने सुविधा दिन नसक्दा भने विदेशी पर्यटकले झापाको काकडभिट्टा नै पुग्नु पर्ने वाध्यता छ । यसको प्रत्यक्ष असर भ्रमण वर्ष २०२० लाई परेको बताइएको छ ।
वि.सं. २०७४ सालको पुषमा सरकारी पक्षबाट ७ नाकामा अध्यागमन कार्यालय राख्ने गृहकार्य भएको थियो । सोही अनुरुप भारतसँग सीमा जोडिएका दक्षिणतर्फका ७ नाका इलामको पशुपतिनगरदेखि पर्साको ठोरीसम्म कार्यालय स्थापना गर्न गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको थियो । स्रोतका अनुसार, पहिलो चरणमा इलामको पशुपतिनगर र मोरङको रानीमा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने प्रस्ताव गरे अनुसार नै भ्रमण वर्ष २०२० लाई लक्षित गरी इलामको पशुपतिनगरमा कार्यलयको स्थापना विंसं.२०७६ वैशाख १५ गते उद्घाटन गरिएको हो ।