इलाम । किराँत धर्मका महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्गदेनको १ सय ३५ औं जन्मजयन्ती देशभर मनाइदैँछ । जन्मजयन्तीको दिन पारेर इलामका तीन स्थानीय तहले सोमबार सार्वजनिक विदा दिएका छन् । जिल्लाका १० स्थानिय तहमध्ये एक नगरपालिका र दुई गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएका हुन् ।
महागुरु लिङ्गदेनको १ सय ३५ औं जन्मजयन्तीको अवसरमा माङसेवुङ र फाकफोकथुम गाउँपालिका तथा माइ नगरपालिकाले विदा दिएका हुन् । विदाका दिन गाउँपालिका र नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालहरु वन्द रहने पालिकाले जनाएको छ । यी क्षेत्रमा विभिन्न कार्यक्रम गरी जन्म जयन्ती मनाउदै सम्बन्धित धर्मावलम्बीहरुले औपचारिक रुपमा ठुलो पुजा पाठ गर्ने तयारी गरेका छन् ।
इलामको माङसेवुङ गाउँपालिका धर्मगुरु लिङदेनको जन्मथलो, फाकफोकथुममा आश्रम बनाएर बसेको र देउमाई नगरपालिका–२ को खत्रक्पामा ज्ञान हासिल गरेको स्थान माइनगरपालिकाको नजिक पर्ने भएकाले तीनवटै स्थानीय तहमा सार्वजनिक विदा दिने निर्णय गरेको माइ नगरपालिका प्रमुख दीपककुमार थेवेले बताए । उनले भने, ‘झापाको दमक, शिवशात्ताक्षी, मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिकाले समेत विदा दिन सुरु गरेपछि हामी झन निकट भएकाले पनि निरन्तर सार्वजनिक विदा दिन सुरु गरेका हौँ ।’
सम्वन्धित धर्मालम्बीले गुरुको जन्मोत्सवको अवसरमा सार्वजनिक विदा दिइनु पर्ने माग गर्दै आएका पालिकाले जानकारी दिएको छ । माङ्गसेबुङ्ग गाउँपालिकाले भने किराँत धर्मावलम्बिकै धर्मगुरु मानिने आत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा आउदो मङ्सिर १८ गते समेत विदा दिइएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए।
वि.सं. १९४२ कात्तिक २५ गते आइतबार राति पूर्वी नेपालको इलाम जिल्लाको साविक इभाङ गाविसको चुक्चिनाम्बा गाउँमा जन्मिएका फाल्गुनन्द लिङदेनले पाँचथरलाई कर्मभूमि बनाएका थिए । उनले जीवनको अन्तिम घडीसम्म धार्मिक तथा साँस्कृतिक अभियानको ज्ञान छरेको पाइन्छ । लिङदेनले १९८८ वैशाख २४ गते पाँचथरको शिलौटीमा तत्कालीन १० लिम्वुवानका प्रतिनिधि र किरात चुम्लुङ (भेला) बोलाएर १० बुँदे सत्यधर्म मुचुल्का पारित गराएको इतिहास छ । त्यहि समयमा सत्य धर्म मुचुल्का किरात समुदायमा रहेका विकृति तथा विसंगति सुधार गर्ने बुँदाहरु पारित गरिएका थिए । यसलाई किरात समुदायले किरात समाज सुधारको पहिलो खुट्किलोको रूपमा लिने गरेको पाइन्छ । लिङदेनको निधन वि.सं. २००५ चैत २२ गते सोमबार भएको हो । ६३ वर्षको उमेरमा सिलौटीमुनि हाङयकमा उनले देह त्याग गरेका हुन् ।