नगर वडा स्तरीय फुटबल प्रतियोगितामा २ र ११ विजयी

  सरलपाटी सम्वाददाता

 740 पटक हेरिएको


इलाम। सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम नगरपालिकाको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन (आइतबार)को दुई खेलमा वडा नं. ८ र २ विजयी भएका छन् ।
पहिलो खेलमा १–० गोलको अन्तरले वडा नं. ३ लाई हराउँदै वडा नं. ११ विजयी भएको हो । जीतका लागि वडा नं. ११ का खेलाडी विमल साउदेनले गोल गरेका थिए ।
आइतबार सम्पन्न दोस्रो खेलमा वडा नं. १२ साङरुम्बालाई ६–४ को गोल अन्तरले हराउँदै वडा नं. २ सुम्बेक विजयी भएको हो । निर्धारित समयमा दुवै टीमबाट २–२ गोल भएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । निर्धारित समयमा वडा नं. २ सुम्बेकको तर्फबाट प्रविण राई र अर्जुन गुरुङ्गले एक एक गोल गरेका थिए । वडा नं. १२ साङरुम्बाका अनिष राई र विशेष रायले पनि एक एक गोल गरेका थिए ।
टाइब्रेकरमा वडा नं. १२ साङरुम्बाका खेलाडी सन्तोष गुरुङ्ग र सुशील मगरले प्रहार गरेको गोल पोलभन्दा बाहिर गएपछि वडा नं. २ सुम्बेकको जीत पक्का भएको हो । टाइब्रेकरमा वडा नं. १२ साङरुम्बाका मणि समाल र सलिन लिम्बूको प्रहार गोलमा परिणत भएको थियो । यता वडा नं. २ सुम्बेकका अमित राई, प्रविण राई, छुल्टिम तामाङ्ग र अर्जनु गुरुङ्गको प्रहार गोलमा परिणत भएको थियो ।
प्रतियोगिताको म्यान अफ द म्याच वडा नं. २ सुम्बेकका प्रविण राई घोषित भएका थिए । उनलाई इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठ, आयोजक नगर खेलकुद विकास प्रतिष्ठानका अध्यक्ष तीलक ठकूरी र इलामको पूर्व खेलाडी याम राईले नगद, मेडल तथा ट्रफि प्रदान गरेका थिए ।
इलाम नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास प्रतिष्ठानकोे आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबारको पहिलो खेल वडा नं. ५ बरबोटे र वडा नं. ६ बीच हुनेछ । दोस्रो खेल वडा नं. ७ र ९ बीच हुनेछ ।

प्रतियोगिताको विजेतालाई नगद एक लाख र उपविजेता टीमलाई ५० हजार नगद तथा मेडल र ट्रफि पुरस्कार दिइने आयोजक समितिका सचिव खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार