
इलाम। नगर खेलकुद विकास प्रतिष्ठान इलाम नगरपालिकाले आयोजना गरेको दोस्रो नकआउट फुटबल प्रतियोगिताको शनिबारको उद्घाटन खेलमा इलाम नगरपालिका वडा नं. १ लाई ३–० गोलको अन्तरले हराउँदै इलाम नगरपालिका वडा नं. ९ विजयी भएको छ ।
सदरमुकामको ठूलो टुँडिखेलमा सम्पन्न खेलमा जीतका लागि वडा नं. ९ को तर्फबाट प्रविण राईले २ गोल गरेका थिए भने सन्तोष रम्तेलले १ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच वडा नं. ९ का खेलाडी प्रविण राई घोषित भएका थिए ।
यसरीनै दोस्रो खेलमा इलाम नगरपालिका वडा नं. ६ ले वडा नं. ९लाई ३–० गोलको अन्तरले हराएको छ ।
वडा नं. ६ को तर्फबाट अंकित दासले २ गोल र माल्दिना आङ्गथुपोले १ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच अंकित दास घोषित भएका थिए । म्यान आफ दी म्याच घोषित खेलाडीहरुलाई नगद दुई हजार एक सय, मेडल र ट्रफि प्रदान गरिएको छ ।
अाइतबारकाे खेल वडा नंं १२ र वडा नं. २ तथा वडा नं. ३ र वडा नं. ११ बीच हुनेछ ।
प्रतियोगिताको उद्घाटन प्रदेश सांसद राम रानाले गरेका थिए । प्रतिष्ठानका अध्यक्ष तिलक ठकूरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा इलाम नगरपालिकाका वडाध्यक्ष, फुटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रतिष्ठानका सचिव गणेश खतिवडाले सञ्चालन गरेका थिए ।
प्रतियोगिताको विजेतालाई नगद एक लाख र उपविजेता टीमलाई ५० हजार नगद तथा मेडल र ट्रफि पुरस्कार दिइने आयोजक समितिका सचिव खतिवडाले बताए । इलाम नगरपालिकाको आर्थिक सहयोगमा भइरहेको प्रतियोगिताको फाइनल २२ गते हुनेछ ।


925 पटक हेरिएको 






