फाकफोकथुम, २ कात्तिक । इलामको फाकफोकथुम गाउँपालिकास्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा आजदेखि सुरु भएको तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगितामा तुम्याहाङ युवा समूह फाल्गुनन्द पाँचथर विजयी भएको छ ।
तुम्याहाङ युवा समूह र आयोजक सिरिजंगा युवा समूहबीच भएको उद्घाटन खेलमा तुम्याहाङले आयोजकलाई १ ले पछि पार्दै विजयी सुरुवात गरेको हो । निक्कै प्रतिस्पर्धामक खेलमा निर्धारित समयमा दुवै टीमबाट बराबरी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो ।
सिरिजंगा सांस्कृतिक परिवार फाकफोकथुम ३ को आयोजनामा तिहारको अवसरमा आयोजित प्रतियोगितामा देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिकालगायत विभिन्न गाउँपालिका तथा नगरपालिकाका ३६ टीमको सहभागितारहेको छ ।
प्रतियोगिताको उद्घाटन अवसरमा वडा नं. ३ का वडाध्यक्ष राजन पौडेल, यामप्रसाद अधिकारी, दिपेन्द्र लिम्वू, जयनारायण राईलगायतले शुभकामना राखेका थिए ।
५२ हजार पुरस्कार राशीको खेलमा उपविजेताले २६ हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । खेलमा उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सल्लाहकार हिमेस लिम्वूले जानकारी दिए ।
आइतबारको खेल मुनालक्लब देनपा र पाथीभरा क्लब एकतप्पाबीच हुनेछ भने दोस्रो खेल एथेलेक्टिस फाकफोकथुम ११ र माङसेवा युवा समूहबीच हुने तथा तेस्रो खेल गजुरमुखी ३ बी र ठिंगेपुर युवा समूह बीच हुने आयोजक समितिका सचिव सन्देश लिम्वूले जानकारी दिए ।