
इलाम ।
इलामको माइखोलाबाट झण्डै दुई घण्टा पैदल हिडेर एक गर्भवति महिला मातृ शिशु क्लिनिक इलाममा टिडी को खोप लगाउन आइन् । अघिल्लो पटक गर्भजाँच गराउन आउँदा उनलाई क्लिनिकका स्वास्थ्यकर्मीले खोपका लागि विहीबार बोलाएका थिए । क्लिनिकमा पुग्दा क्लिनिक बन्द थियो । क्लिनिक बन्द पाएपछि उनी स्वास्थ्य कार्यालय पुगिन् । स्वास्थ्य कार्यालयमा पुग्दा समेत उनी सेवा नलिइ फर्किइन् । सेवा नलिइ फर्किएकी उनलाई सो सेवा कहाँ गएर लिने भन्ने अन्योल छ । इलाम नगरपालिका–५ बरबोटेकी अर्की गर्भवतिले पनि यस्तै समस्या भोग्नु पर्योे । पाँच किलोमिटर भन्दा बढि यात्रा गरेर आएकी उनी दोस्रो पटक क्लिनिकमा गर्भवति जाँच गर्न आएकी थिइन् । उनले पनि गर्भजाँच नगराई फर्किनु पर्यो । यी दुई जना मात्रै होइन । क्लिनिकमा गर्भजाँच गर्न खोप लगाउन र आइरन चक्कि लिन आउनेको संख्या निकै बाक्लो थियो । हटियाको दिन स्वास्थ्यकर्मीले बिहीबार मितिमा बोलाएरै उनीहरु सेवा लिन आएका थिए । क्लिनिकमा यसअघि प्रत्येक बिहीबार नियमीत टिडीको खोप र औषधि वितरण हुन्थ्यो । सधैजसो सेवा लिन आएका गर्भवति यो पटक भने सेवा नलिइ फर्किनु पर्यो ।
सदरमुकाममा रहेको मातृ शिशु क्लिनिक बन्द भएपछि गर्भवति महिलाहरु प्रभावित भएका छन् । केन्द्रमा कार्यरत दुई कर्मचारी स्थानीय तहमा समायोजन भएपछि असोज १५ गतेबाट क्लिनिक बन्द भएको हो । साविक जनस्वास्थ्य कार्यालयको संगठन संरचना भित्र रहेको केन्द्रलाई जनस्वास्थ्यको संगठन संरचनाबाटै हटाइएको छ । जिल्ला अस्पतालमा समेत संरचना नभएपछि मातृ तथा शिशु स्यहार केन्द बन्द भएको हो । क्लिनिकबाट गर्भवति जाँच, गर्भवति महिलालाई टिडीको खोप र आइरन चक्कि वितरण, जुकाको औषधि, पाठेघर खसेका महिलाहरुलाइ रिङ राख्ने, नियमीत खोप सेवा, सुरक्षित गर्भपतन र परिवार नियोजनको सेवा दिइन्थ्यो । क्लिनिक बन्द हुँदा यी सेवापनि बन्द भएको छ । नजिकको जिल्ला अस्पतालबाट सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा र गर्भजाँचको सेवा छ । तर, त्यहाँबाट टिडि खोप र आइरन चक्की वितरण गरिएको छैन । गर्मवतीलाई लगाइने टिडि खोप बजारमा पनि नपाउने हुँनाले उनीहरु सेवा पाउनबाटै बञ्चित भएका छन् । गर्भवतिलाई भ्यागुते रोग र टिटानस विरुद्धको टिडी खोप लगाउनुपर्छ । बजारमा टिटानस विरुद्ध लगाइने टिटि खोप मात्रै पाइने स्वास्थ्यकर्मीले बताए । केन्द्रबाट नवजात शिशुलाई लगाइने नियमीत खोप कार्यक्रम भने इलाम नगरपालिकाले सञ्चालन गर्ने गरेको छ । क्लिनिक बन्द भएपछि इलाम नगरपालिकाबाट मात्रै खटिने कर्मचारीलाई त्यो चाप धान्न मुस्किल हुन्छ । क्लिनिकबाट गर्भपतनको सेवालिनेहरु पनि प्रभावित भएका छन् । अस्पतालमा गर्भपतनको सेवा भएपनि त्यहाँ अरु विरामी सरह लाइन लागेर सेवा लिनुपर्ने अवस्था छ । गोपनियताको डरले गर्भपतन गराउनेलाई त्यसरी सेवा लिदैनन् । क्लिनिक बन्द भएपछि उनीहरुले गर्भपतनको लागि असुरक्षित तरिका अपनाउने जोखिम बढेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत बृज कुमार दास भने एमसिएच क्लिनिक कसरी सञ्चालन, कसले गर्ने भन्नेमानै अन्योल रहेको बताउँछन् । ‘एमसिएच क्लिनिक पहिले जनस्वास्थ्य कार्यालय अन्तर्गत थियो’, उनले भने,‘ अहिले जनस्वास्थ्य कार्यालयको संगठन संरचनामा पनि छैन्, जिल्ला अस्पतालको संरचनामा पनि छैन ।’ वैकल्पीक व्यवस्था गरेर पनि क्लिनिक चलाउन सक्ने अवस्थामा स्वास्थ्य कार्यालय नहरेको उनले बताए । ‘क्लिनिक चलाउन हाम्रोमा वैकल्पीक व्यवस्था पनि छैन, कार्यालयमा जम्मा एक जना नर्सिङ्ग स्टाफको दरवन्दी छ’, प्रमुख दासले भने, ‘पहिले जिल्लाका अरु स्वास्थ्य संस्था कार्यालय मातहत हुँदा त्यहाँका कर्मचारीलाई काजमा ल्याएर पनि चलाइन्थ्यो, अहिले अस्पताल बाहेक अरु स्वास्थ्य संस्था स्थानीय तहका मातहतमा छन् ।’
संघीय संरचनामा गएपछि इलाम नगरपालिकालाई यस क्षेत्रका सातवटा स्वास्थ्य संस्था जिम्मा लगाइएको थियो । त्यसबेला मातृ शिशु क्लिनिक जिम्मा लगाइएको छैन । इलाम नगरपालिकाकी स्वास्थ्य शाखा उपप्रमुख रमन्ता पौडेलले क्लिनिक कसले सञ्चालन गर्ने भन्नेनै अन्योल रहेको बताइन् । ‘मातृ शिशु क्लिनिक इलाम स्थानीय तहको जिम्मामा छैन’, उनले भनिन्, क्लिनिक बन्द हुँदा थुप्रै गर्भवती महिलाले खोप नपाउने अवस्था बनेको छ ।’
स्वास्थ्य विभाग परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत होम खनालले मातृ शिशु क्लिनिक सञ्चालनको लागि दरवन्दीनै व्यवस्था नभएकाले सेवा बन्द हुुन थालेको बताए । उनले दरवन्दी व्यवस्थापनको लागि मन्त्रालयसंग अनुरोध गरेको बताए । ‘मन्त्रालयले अहिलेपनि दरवन्दी मिलाउँदैछ, हामीले मन्त्रालयमा मातृ शिशु क्लिनिकको दरवन्दीको लागी आग्रह गरेका छौ’, उनले भने,‘अहिलेसम्म कुनै जानकारी आएको छैन ।’ तिहारपछिसम्ममा समस्या समाधान हुने उनको दावी छ । महाशाखाकी प्रमुख डा पुन्य पौडेलले भने मातृ शिशु क्लिनिक बन्द भएकोमा अनविज्ञता प्रकट गरिन् । मातृ शिशु क्लिनिक प्रत्येक जिल्लामा थिए भने २१ जिल्लाका २४ अस्पतालहरुमा संस्थागत क्लिनिक सञ्चालनमा थिए । संगठन संरचनामानै छुटेपछि मातृ स्वास्थ्य क्लिनिक र संस्थागत क्लिनिकको सेवा बन्द हुने भएको छ ।


1143 पटक हेरिएको 






