इलाम/जनकल्याण सामुदायिक पुस्तकालय र अमर मावि बरबोटेले सोमबार समाजसेवी स्व. मनबहादुर गुरुङको श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
पुस्तकालयका संस्थापक तथा विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुन्, गुरुङ । कार्यक्रमका वक्ताहरुले श्रद्धाञ्जली सभामा स्व. गुरुङको सामाजिक योगदानको प्रंशसा गरेका थिए ।
इलाम नगरपालिका– ५ का वडाध्यक्ष तथा नगरपालिका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले स्व. गुरुङले देखाएको आदर्शलाई अनुशरण गर्न सके उनीप्रतिको सच्चा सम्मान हुने बताए । यसरीनै वडा नं. ४ का वडाध्यक्ष नुतनदेव दुलालले बरबोटेको मात्र नभएर सिङ्गो जिल्लाको विकासमा स्व. गुरुङको योगदान रहेको बताए । गैर सरकारी संस्था महासंघका उप–महासचिव अर्जुन भट्टराईले स्व. गुरुङ आदर्श व्यक्ति भएको बताए ।
अमर मावि बरबोटेका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकालयका अध्यक्ष सटेन्द्र जबेगू, समाजसेवी मनराज जबेगू, शिक्षासेवी विष्णु घिमिरे, गंगा भूर्तेल, विष्णु तुम्बापो, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष खुसबहादुर लिम्बू, प्रअ सोमनाथ निरौलालगायतले स्व. गुरुङले समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
वि.सं. १९९२ साउन १७ गते बरबोटेमा जन्मिएका गुरुङको ८४ वर्षको उमेरमा असोज १२ गते काठमाण्डौंमा निधन भएको हो । गुरुङ बरबोटेको प्रधानपञ्च, जिल्ला पञ्चायत सदस्य समेत भएका थिए । पछिल्लो समयमा विभिन्न संघ संस्थामा रहेर निरन्तर समाजसेवामा सक्रिय थिए । जिल्लामा उनलाई आदर्श व्यक्तिको रुपमा चिन्ने गरिन्छ ।