इलाम । राहसल बाल गृहमा रहेका १८ वर्षमा राजु परियारलाई शुक्रबार दशै आएजस्तै भयो । दशैको लागि एक सरो कपडा पाएपछि दशैको उमंग थपियो । ‘अबचाही दशै आएजस्तै लाग्यो’,उनले भने,‘यही भएपनि दशै तिहार रमाइलै हुन्छ ।’ बालगृहकै अर्जुन राईलाई पनि दशैको उमंग थपिएको छ । ‘दशैमा नयाँ कपडा पाउँदा रमाइलो लग्छ’,खुशी हुँदै उनले भने । ललिता बयलकोटीलाई पनि नयाँ कपडा पाउँदा दशैको रौनकले छोएको छ । दशैमा नयाँ कपडा ल्याइदिने आफ्ना बाबुआमा नभएका उनीहरुलाई दशै न्यास्रो भएन । बालबालीकाहरुलाई कोरियामा रहेका इलामेहरुले दशैको लुगा वितरण गरेपछि उनीहरुलाई पनि साच्चै दशै शुरु भएजस्तै लागेको छ ।
इलामेली समाज दक्षिण कोरियाका तर्फबाट शुक्रबार दशैको कपडा वितरण गरिएको छ । उनीहरुलाई २० हजार हाराहारीको कपडा वितरण गरिएको समाजकी निवर्तमान अध्यक्ष मञ्जु लावतीले बताइन् । समाजले राहसल बालगृहलाई दुई लाख रुपैयाँ नगदपनि उपलब्ध गराएको छ । समाजकी निवर्तमान अध्यक्ष लावतीले दुई लाख नगद बालगृहका अध्यक्ष राजेन्द्र चौहानलाई हस्तान्तरण गरिन । कोरियामा रहेका नेपालीहरुबाट संकलन भएको सहयोग राहसललाई उपलब्ध गराएको जानकारी दिइन् । ‘विदेशमा रोजगारीगरेर आएको पारिश्रमीकबाट सहयोग गर्ने सवैलाई धन्यवाद’,उनले थपिन्, ‘गाँस काटेर उपलब्ध गराएको रकम हामीले बालबालिकाको हितको लागि दिएका हौ ।’ समाजका संस्थापक सदस्य मित्र जवेगू, बालगृहको भवन निर्माणका लागि गठन भएको श्रोत व्यवस्थापन समितिका संयोजक चन्द्र हाङखिम, कविन्द्र राई, सुरेन्द्र राई लगायतको उपस्थितिमा राहसलका बालबालिकालाई कपडा र नगद हस्तान्तरण गरिएको थियो । समाजले यसअघिपनि राहसललाई सहयोग गर्दै आएको छ ।