राजनीतिमा पछिल्लो पुस्ता

  विशाल कार्की

 2837 पटक हेरिएको

‘पोलिटिक्स इज डर्टी गेम’ अधिकांश युवा पुस्तासँगको राजनीतिक कुराकानीको अन्त्य तिर हुने ब्रम्हस्त्र हो यो वाक्य । यथार्थ त यो छ कि पछिल्लो समयका अधिकांश युवा पुस्ता भरसक राजनीतिक बहस गर्न नै रुचाउदैँनन् । यदि गरी हाले भने पनि प्रायः नकारात्मक निचोड नै निकाल्छन वा आक्रोशित भाव देखिन्छ । देशको मुल नीतिका रूपमा लिइने राजनीति प्रति आजको ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने मुख्य भूमिका निभाउन पर्ने युवा पुस्ता नै आखिर किन उम्कन चाहन्छन त राजनीतिबाट ?
एक मुस्ट वा एक वाक्यमा भन्न सक्ने कुनै शब्द छैन यसभित्र थुप्रै मनोविज्ञानले घर गरेको छ र तिनीहरू प्राय एक अर्कामा अन्तर सम्बन्धित छन् ।
अघिल्लो पुस्ताको प्रवृति
राजनीति प्रकृया हो । राजनीतिले नै इतिहासको निर्माण गर्दछ । इतिहास पछिका पिढीले अध्ययन गर्ने कुरा हो । यही इतिहासको निर्माण र प्रकृयाको क्रम राजनीति हो । युवा आकर्षण वा विकर्षणको जग यही प्रकृया निभाउदा अघिल्लो पुस्ताले देखाएको प्रवृति पनि हो । अहिलेको राजनैतिक नेतृत्वको योगदान यो व्यवस्था स्थापित गर्न अतुलनीय छ  । तर व्यवस्था परिवर्तन र त्यस पछि उक्त नेतृत्वले देखाएको सपना र गन्तव्य जस्तो थियो त्यो तुहिदैजानु र उक्तबाटोबाट च्युत हँुदैजानु पनि युवा पुस्ताको वितृष्णाको कारण हो । अर्को, व्यवस्था परिवर्तन गर्दै गर्दा हिजो नेतृत्वको जुन जीवन शैली थियो आज तिनै नेतृत्वलाई हेर्दा आकाश जमिनको अन्तर छ । अधिकांश जसो नेतृत्व नै ब्यक्तगत समृद्धिमा जुटेका छन् तर तल्ला तहका मानिसहरुको दयनिय अवस्था छ ।
अर्कोतिर चुनावको दौरानमा स्थानिय तहदेखि संघसम्म घोषणा पत्र र खुल्ला मञ्चबाट जुन सपना देखाइयो र पछि त्यो रफ्तारमा ति सपना पूरा हुन सकिरहेको छैन यो पनि एउटा विकर्षणको कारण हो ।
सामाजिक मनोविज्ञान
हाम्रो समाजमा अझै पनि राजनीतिमा युवा अथवा किशोरपुस्ता लाग्यो भने अब यो झोले भयो भनेर भन्ने चलन छ । राजनीति व्यवसाय होइन यो विशुद्ध सेवा हो, राजनीतिलाई सेवा हो भन्ने बुझेर अन्य पेशा अगाल्ने पनि केही मान्छे छन् ती अल्पमतमा छन, राजनीतिलाई पेशा बनाएर कमिसनखोर र विचौलियाको चङ्गोलमा फसेर राजनीति दुषित पार्नेको लाम लामो छ ।
हिजोको भन्दा फरक राजनीतिक संस्कृति निर्माण गर्नु पर्ने युवा पुस्ताको राजनितिक वितृष्णाको विज यो पनि हो । अर्थात हाम्रा अधिकांश मनोविज्ञानको स्रोत समाज हो यदि यो समाज नै यस किसिमको विचार पैदा गर्छ भने यो विकर्षण हुनु निश्चित प्राय नै छ ।
यसै सँग जोडिएको अर्को महत्वपूर्ण कुरा के हो भने हाम्रो समाजमा नै आफ्नो प्रवृति पनि आफ्नो कमि कमजोरी देख्न वा पहिल्याउन भन्दा पनि त्यसलाई नजरअन्दाज गरेर अर्कालाई बढी दोष दिन उद्धत हुन्छौ । यो हामीमा यसरी अभ्यास बन्यो कि आफ्नो कमि कमजोरी नै हुदैन सच्चिनु त केवल अरू मात्र पर्छ भन्ने भैसक्यो । तसर्थ गल्ति कमिकमजोरी जति सबै हामी राजनीतिक नेतृत्वलाई मात्र छाडेदिन्छौ तर यही शैली पनि युवा नैराश्यताको कारण हो ।
शिक्षाको अवस्था
शिक्षा समाजमा चेतना भर्ने मूख्य आधार हो । समाजमा मानिसहरू जति शिक्षित हुन्छन त्यति नै समाज परिवर्तन छिटो हुदोरहेछ । अहिलेको अवस्था हेर्दा क्याम्पसमा पढाइ हुने सामाजिक विज्ञानका रूपमा चिनिने समाजशास्त्र, ग्रामिण विकास, इतिहास , भूगोल, राजनीतिशास्त्र जस्ता विषय अध्ययन मात्र गराइनगएको छ तिनलाई व्यवहारिक रुपमा जीवन पद्धतिसँग गाँस्न अझै पनि सकिएन ।
इलामलाई आत्महत्या अधिकतम गरिने जिल्ला हो भनेर भन्ने चलन छ । उदारणका लागि यदि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पढाइ हुदै गरेको सामाजिक शास्त्रको प्रयोगात्मक अनुसन्धानमा विद्यार्थीलाई नै अनुसन्धान गर्न लगाई निचोड निकाल्न लगाउने हो भने त्यो व्यवहारिक हुन्छ र त्यसले अनुसन्धानकर्ताहरु जन्माउछ । तर यी विषयको अध्यायन र अध्यापनलाई झारो टार्ने मात्र बनाउन हुदैन ।
अर्को के पनि छ भने जो कमजोर अंक लिएर पास गरेका छन् तिनले मात्र यो विषय पढ्नु पर्छ भन्ने मनोविज्ञानले घर गरेको देखिन्छ । कसैले के पढ्दै छस भनेर सोध्दा जो माथि उल्लेखित विषय पढ्छन उनीहरु हिचकिचाएर मात्र बताउछन र जस्लाई बताइन्छ तिनले पनि हेयले हेरेझै गर्छन । जुन विषय जस्ले समाज बुझाउछ , समाज विश्लेषण गर्ने तौरतरिका र सीप सिकाउछ तीनै विषय प्रति खेद उव्जिए पछि राजनीति प्रति वितृष्णा जाग्नुु सामान्य हो ।
तसर्थ आज नेपाल समृद्ध नेपाल सुखी नेपालीको बनाउने परिकल्पनालाई साकार पार्न युवा पंति नै राजनीति र सामाजिक कार्यमा लाग्नुको विकल्प छैन । अघिल्लो पुस्ताले पनि युवा पुस्तालाई राजनीतिक सहयात्रा गराउन अलि फराकिलो छाती बनाउन आवश्यक छ । त्यसका साथै अब राजनीति र समाज रुपान्तरणमा लाग्ने युवा पुस्ताको पारदर्शी जीवनशैली बनाउन आवश्यक छ । अर्थात राजनितीलाई सेवा बनाएर कुनै पेशामा वा निश्चित आर्थिक सो्रत निर्माण गर्न आवश्यक छ । राजनिती आफैमा दुषित होइन यो त हामै्र प्रवृति र जीवनशैलीको परिणाम हो तसर्थ हिजोका कमिकमजोरीलाई स्वीकार्दै सच्याउदै अब भोलिको सुन्दर नेपाल निर्माण गर्न सबै युवा लागौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार