मरबमा मडारिएको बादल र चाँदीको घेरा

  अरुण नेपाल

 724 पटक हेरिएको

मडारिएको बादल
केही समय अघि जग्गा, जागिर र सञ्चालक समतिका अध्यक्षको सेवासुविधा जस्ता विवादास्पद घटनाक्रमका कारण र्चचाको शिखरमा रहेको मरब क्याम्पस, इलाम भूतपूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र झलानाथ खनाल तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको इलाम आगमनसँगै केही मत्थर भए झैं लागेको थियो ।
पुनः सञ्चालक समितिकै अध्यक्षको अगुवाइमा क्याम्पस प्रमुखलाई क्याम्पसप्रमुखकै कक्षमा पुगी धम्क्याएको समाचार एकाएक सञ्चारमाध्यममा छाएपछि मरबमा मडारिएको कालो बादल फाटी नसकेको सत्य पुष्टि भएको छ । त्यस्तो अमर्यादित कार्य भएको भोलिपल्ट विहानै क्याम्पस प्रमुखले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएर सम्र्पूण प्राध्यापकमाझ अध्यक्षज्यूले सत्यतथ्य प्रस्तुत गर्नुहोला भन्ने धेरै प्राध्यापकको अपेक्षा थियो । तर स्वयं अध्यक्षज्यू नै कार्यक्रममा अनुपस्थित भएपछि वहाँ छलफलका माध्यमबाट क्याम्पसमा देखिएका समस्या समाधान गर्ने कुरामा खासै गम्भीर भए जस्तो लागेन । उहाँ उक्त कार्यक्रममा उपस्थित हुन नसके पनि उक्त कार्यक्रममा उपस्थित सबैजसो प्राध्यापकले व्यक्त गरेका विचार केलाउँदा मरब क्याम्पस, इलाममा लामो समयदेखि फाट्न नसकेको कालो बादल फाटी क्षितिजमा देखिएको चाँदीको घेरा टल्कन सक्ने सम्भावनाका केही आशलाग्दा संकेतहरु भने देखा परेका छन् ।
चाँदीको घेरा
विगतमा हुने गरेका अधिकांश शुभकामना आदान प्रदान कार्यक्रम हल्काफुल्का ढंगले औपचारिकता पूरा गरेर यसै टुंगिने गरेका थिए । केही सीमित व्यक्तिले औपचारिक भाषण गरेपछि चियापान गरेर ती कार्यक्रम समापन हुने गरेका थिए । तर यस पटकको शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित सबैजसो प्राध्यापक क्याम्पसको खस्कदो प्राज्ञिक शाखप्रति धेरै नै चिन्तित भए जस्तो लाग्थ्यो । विगत बर्षका कार्यक्रममा थोरै प्राध्यापकले मात्र आफ्ना धारणा व्यक्त गर्ने परम्परा तोड्दै यसपटक सबैजसो प्राध्यापकले क्याम्पसको भाग्य र भविष्यका बारेमा चिन्ता व्यक्त गर्दै आ आफ्ना धारणा राखेको देखियो । क्याम्पसमा कार्यरत आंशिक, करार, स्थायी, महिला, पुरुष, युवा, पाका, आदि सबैखाले प्राध्यापकको स्पष्ट प्रतिनिधित्व झल्कने उक्त शुभकामना कार्यक्रमका अधिकांश सहभागीले मुलतः पाँचवटा बुँदामा केन्द्रित रही आ–आफ्ना धारणा प्रस्तुत गरेको अनुभूति भयो ।
पाँच सन्देश
एक, भर्खरै इलाम साहित्य समाजले आयोजना गरेको कार्यक्रमको एउटा चुरो कुरा वा आत्मआलोचनात्मक चेतको कार्यान्वयन मरब क्याम्पस, इलामको खस्कदो शाख उकास्ने कार्यमै कार्यान्वयन हुन सक्ने सम्भावना देखियो । अब अर्काका थाप्लामा मात्र दोष थोपर्न छाडेर प्राध्यापक, कर्मचारी र विद्यार्थीले आ–आफ्ना कमीकमजोडी खुट्याएर परिवर्तनको यात्रा स्वयं आफैंबाट सुरु गरी क्याम्पसको गिर्दो शाख उकास्न कुनै कसर बाँकी नराख्नुपर्ने कुरा सबैजसो सहभागीले गहिरोसँग महशुस गरे जस्तो लाग्यो । यसका लागि आवश्यक परे विगतका कतिपय गलत कृयाकलापलाई माफी मिनाहा गर्न वा विर्सिदिनसम्म तयार हुनुपर्ने कुरामा नेल्सन मण्डेलाको समेत प्रसंग जोडेर चर्चा गरियो । तर, यसका लागि गल्ति गर्ने पात्रले समेत विगतमा गलत कृयाकलाप गरेको तर अब त्यस्ता गलत कदम सच्याउन मन, वचन र कर्मले नै तयार भएको शन्देस प्रवाह गर्न चाहिँ स्वयं पात्र सजग हुनुपर्ने आशय कार्यक्रमकै क्रममा व्यक्त भयो ।
दुई, अनावश्यक राजनीतिक हस्तक्षेपले थिल्थिलो भएको क्याम्पसमा अब दलीय गुटका आडमा टिकेका गलत पात्रले विकल्प सोच्नुपर्ने कुरा उहि दलका अर्का पात्रले प्रष्टसँग राखेबाट अब क्याम्पसमा हुँदै आएको अनावश्यक राजनीतिक हस्तक्षेप न्यूनीकरण होला कि भन्ने झिनो आशा पलाएको छ । भलै ती पात्र स्वयं वा उनले समर्थन गरेका व्यक्तिले जिम्मेवारी सम्हालेपछि मात्र तिनको सक्कली रुप परीक्षण हुनेछ ।
किनकि हाल यो वा त्यो जिम्मेवारी सम्हालेर सत्तामा रहेका सबैजसो पात्रले जिम्मेवारीमा पुग्नुभन्दा अगाडि त्यसै भन्ने गरेका र जिम्मेवारीमा पुग्नासाथ उही गलत परम्परालाई निरन्तरता दिदै चरम अन्याय र अत्याचार थोपर्ने गरेकाले पनि त्यस्ता पात्रका भनाइ पूर्ण रुपमा विश्वास गरिहाल्न सक्ने अवस्था सिर्जना भइसकेको छैन । तापनि क्याम्पस प्रमुखकै पाटीले चाहेर वा नचाहेर वहाँलाई पाटीको जिम्मेवारीबाट मुक्त गरी अब वहाँ क्याम्पसका प्राज्ञिक गतिविधि गर्न स्वतन्त्र हुनुहुन्छ भन्ने सन्देश प्रवाह गरेर क्याम्पसमा अनावश्यक राजनीतिक हस्तक्षेप कम हुने थप संकेत गरेको छ । तर सार्वजनिक रुपमा त्यस्तो सन्देश प्रवाह गरे झै गर्दै विल्कुल अप्राज्ञिक कार्य गर्न फेरि क्याम्पस प्रमुखलाई यो वा त्यो रुपमा दबाब दिने, धम्क्याउने वा थर्काउने क्रम जारी रहेमा त्यस्तो गलत प्रवृतिको दाहसंस्कार नहुञ्जेल क्याम्पसका शुभचिन्तक जागै रहनुपर्ने अवस्था पनि ज्युँकात्युँ छ । यद्यपि शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित त्यही पाटीमा आबद्ध केहि प्राध्यापकले उक्त गलत कुरा महशुस गरेको र त्यही पाटीका केही नयाँ पूराना जिम्मेवार व्यक्तिले समेत क्याम्पसलाई एउटा प्राज्ञिक थलोका रूपमा विकास गर्न कुनै पनि दल वा गुट बाधक हुनु हुँदैन भन्ने सन्देश सामाजिक सञ्जाल मार्फत प्रवाह गरेबाट पनि अब चाहिँ क्याम्पस यो वा त्यो दलीय गुटको क्रीडास्थल बन्नु नपर्ला कि भन्ने झिनो आशा पलाएको हो । यो आशा विश्वासमा परिणत हुन त उनीहरुका भनाइ व्यवहारमा अनुभूति नहुञ्जेल कुर्नै पर्छ ।
तिन, क्याम्पसमा हुने अपारदर्शी गतिविधिलाई पारदर्शी बनाउने र क्याम्पसका हरेक आर्थिक गतिविधि चुस्त दुरुस्त राख्ने कुरामा पनि राम्रै विचार विमर्श भयो । क्याम्पसको अहित हुने त्यस्ता गलत र अपारदर्शी गतिविधि स्वीकार गर्न तयार नहुने क्याम्पस प्रमुखको अडानलाई कार्यक्रममा सहभागी सबैले एक हिसावले अनुमोदन गरे जस्तो लाग्यो ।
सिंगो मुलुक नै भ्रष्टाचारको दलदलमा नराम्ररी फसेको वर्तमान परिप्रेक्ष्यमा वर्तमान क्याम्पस प्रमुखले मरब क्याम्पस, इलाम चाहिँ आर्थिक ढंगले पूरै पारदर्शी छ भन्ने सन्देश प्रवाह गर्न साँच्चै सक्नु भयो भने यो सन्देशको प्रभाव मरब क्याम्पस, इलाममा मात्र सीमित नभएर मुलुकभरि फैलन बेर लाग्ने छैन । क्याम्पस प्रमुखले यति मात्र गर्न सक्नु भयो भने हाल वहाँका सही कर्ममा साथ दिने जनसमुदायका लागि पनि त्यो भन्दा खुशीको कुरा अरू केही पनि हुने छैन । यदि यो अपेक्षा विपरित क्याम्पसमा यो वा त्यो बहानामा उही अपारदर्शी आर्थिक चलखेल कायम रहेमा त्यसले क्याम्पस प्रमुखज्यूलाई त हित गर्दैन गर्दैन, क्याम्पसको हालत झन् खराब हुने सम्भावना अझ बढ्नेछ । त्यसकारण आर्थिक पारदर्शीता जस्तो यति गम्भीर सवालमा वर्तमान क्याम्पस प्रमुखज्यूको गम्भीर ध्यानाकर्षण होस् ।
चार, राज्यको चौथो अंग पत्रकार जगतले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरेर क्याम्पस जस्तो सार्वजनिक महत्वको संस्थाका गलत गतिविधि सर्वसाधारण जनतासमक्ष पस्कदै क्याम्पसलाई सही मार्गमा डो¥याउन योगदान गर्छ भने त्यो पत्रकारको धर्म नै हो भन्ने कुरा स्वयं क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखले स्वीकार गरी स्वस्थ पत्रकारिताको उच्च सम्मान गर्ने स्पष्ट संकेत गर्नुभएको छ । उहाँहरुको यो प्रतिबद्धता साँच्चै कार्यान्वयन हुन सकेमा उहाँहरुले चाहेर वा नचाहेर क्याम्पसमा हुन सक्ने सम्भावित गलत कृयाकलापलाई समेत सार्वजनिक बहसको विषय बनाउन सकिने ढोका वहाँहरु स्वयंले खोल्नुभएको छ । पत्रकार जगतले क्याम्पसको अन्तरकुन्तरसम्म घुसेर सत्य तथ्य समाचार सार्वजनिक गरी मरब क्याम्पस, इलामको जीवन सदा सर्वदा स्वस्थ राख्न सकेमा वहाँहरुको यो कदम क्याम्पसको गिर्दाे शाख उकास्न निकै सफल हुन सक्ने पनि देखिन्छ । तर उहाँहरूले चालेको यो कदम केवल क्षणिक समस्या समाधानमै सीमित हुने हो वा साँच्चै क्याम्पसको दीर्घ जीवनलाई केन्द्रमा राखेर गरिएको इमान्दार प्रयास हो भन्ने कुराको अनुभुति गर्न चाहिँ अझै केही समय कुर्नै पर्ला ।
पाँच, शुभकामना आदान प्रदान कार्यक्रमका क्रममा आजसम्म खासै बहसमा आउन नसकेको प्राध्यापक संघको बदलिदो भुमिकाका बारेमा समेत छलफल भयो । सम्पूर्ण प्राध्यापकहरुको हक हितको संरक्षणका लागि स्थापित प्राध्यापक संघको भूमिका आज निश्क्रियप्रायः देखिएको छ । क्याम्पसमा हुने गुणस्तरीय अध्ययन, अनुसन्धान, पठन पाठन र अन्य प्राज्ञिक गतिविधिले नै प्राध्यापकहरूको सबभन्दा बढी हित हुने कुरा परिवर्तित समयको जल्दोबल्दो माग र आवश्यकता दुवै हो । सायद यही सत्य गहिरोसँग महसुस गरेरै होला शुभकामना आदान प्रदान कार्यक्रममा जिम्मेवारपूर्ण ढंगले नै प्राध्यापक संघको बदलिदो भूमिकाका बारेमा बहस प्रारम्भ भएको छ । प्राध्यापक संघको नेतृत्वकै उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा उठान् भएको उक्त मुद्दालाई कार्यान्वयन गर्न प्राध्यापक संघ तत्पर भएमा प्राध्यापकहरूकै सामूहिक छलफल र बहसकै आधारमा वर्तमान समयमा देखिए जस्ता समस्या सहजै समाधान हुन सक्ने सम्भावनाको ढोका समेत खुल्नु उक्त शुभकामना कार्यक्रमको एउटा महत्वपूर्ण उपलब्धी हो भन्दा पक्कै पनि अतिशयोक्ति नहोला । भलै प्राध्यापक संघले क्याम्पसको हितमा त्यस्तो रचनात्मक भूमिका निर्वाह गर्छ कि गर्दैन भनेर अनुभूति गर्न चाहिँ केही समय पर्खनै पर्ला ।
निष्कर्ष
यसरी मरब क्याम्पस, इलाममा झण्डै एक दशकदेखि मडारिदै आएको कालो बादललाई फटाएर कालो बादलमै देखिएको चाँदीको घेरालाई चम्काउन यस पटक क्याम्पसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम एकहदसम्म सफल भएको छ । शुभकामना आदान प्रदान कार्यक्रमलाई केवल औपचारिकतामा मात्र सीमित नगरी कार्यक्रमका सबैजसो सहभागीले मरब क्याम्पसको भाग्य र भविष्यका बारेमा निकै गम्भीर चिन्तन मनन गरेका छन् । क्याम्पसलाई एउटा मर्यादित र गुणात्मक शिक्षा प्रदान गर्ने प्राज्ञिक थलोमा रुपान्तरण गर्न सबै सरोकारवाला स्वयं जाग्नु पर्ने, क्याम्पसमा हावी अनावश्यक राजनीतिक हस्तक्षेप अन्त्य हुनु पर्ने, क्याम्पसका आर्थिक लगायत सम्पूर्ण गतिविधि पारदर्शी हुनुपर्ने, राज्यको चौथो अंग पत्रकार जगतले निरन्तर रुपमा गर्ने स्वस्थ खवरदारीबाट क्याम्पस जस्तो सार्वजनिक महत्वको संस्था अलग रहन नसक्ने, निश्क्रियप्रायः देखिएको प्राध्यापक संघले समेत समयको बदलिदो प्रवाहलाई उच्च सम्मान गर्दै क्याम्पसमा प्राज्ञिक गतिविधिको बाढी ल्याउन विभिन्न रचनात्मक गतिविधि गर्न सक्रिय हुनु पर्ने, आदि जस्ता कुरा शुभकामना कार्यक्रममा राम्ररी नै उठान् भए ।
यसरी शुभकामना आदान प्रदान कार्यक्रममा व्यक्त भए झैं क्याम्पसमा प्राज्ञिक गतिविधिले पहिलो प्राथमिकता पाउने तथा पद र पैसा केन्द्रित गतिविधि दोस्रो प्राथमिकतामा धकेलिने हो भने हाल क्याम्पसमा देखिएका गलत प्रवृत्ति स्वतः निश्क्रिय हुन सक्ने सुन्दर सन्देश छर्न उक्त शुभकामना कार्यक्रम सफल भएको छ । यस्ता शुन्दर सन्देशलाई भविष्यमा कार्यान्वयन गर्न सकिएमा मरब क्याम्पसमा देखिएको कालो बादलरुपी चरम निराशा चाँदीको घेरारुपी उत्साहमा परिणत हुन सक्ने सम्भावना अझै जीवित रहेको देखिन्छ । यसका लागि सम्पूर्ण सरोकारवालाले तोकिएका जिम्मेवारी र भुमिका इमान्दारितापूर्वक निर्वाह गर्नु चाहिँ एउटा अनिवार्य शर्त नै हुनेरहेछ । २०७६ सालका सम्पूर्ण चाडवाडले सबै सरोकारवालाई आआफ्ना जिम्मेवारी इमान्दारपूर्वक पूरा गर्ने शक्ति प्रदान गरुन् । क्याम्पसका सबै सरोकारवाला लगायत स्वदेश र विदेशमा छरिएर रहनुभएका तमाम नेपाली दिदिबहिनी तथा दाजुभाइहरुमा यहि लेख मार्फत २०७६ सालका सम्पूर्ण चाडबाडको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार