इलाम/प्रदेश सांसद राम रानाले जनप्रतिनिधिले बनाएको वर्तमान संविधान नागरिकको सम्पत्ति भएको बताएका छन् ।
संविधान दिवश तथा राष्ट्रिय दिवशको अवसरमा इलाम सदरमुकाममा आयोजित आमसभालाई सम्बोधन गर्दै सांसद रानाले लामो त्याग र तपश्यापछि जारी भएको संविधानले सबै वर्ग, समुदाय र क्षेत्रको अधिकार समेटिएको बताए ।
संविधान मुलुकको भाग्य र भविष्य कोर्न पर्याप्त भएपनि केही पक्षबाट यसलाई बदनाम गर्ने प्रयास भइरहेको बताए । ‘संविधानलाई जब्बरजस्ती बदनाम गर्ने प्रयास पनि भइरहेको छ’ उनले भने, ‘तर संविधानको संरक्षण गर्ने दायित्व हामी सबैको हो ।’
जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले संविधान कार्यान्वयन धेरै अघि बढिरहको बताए । उनले संविधान कार्यान्वयनमा सबै इमान्दार हुनुपर्नेमा जोड दिए ।
इलाम नगरपालिकाका प्रमृुख महेश बस्नेतले वर्तमान संविधान विगतको जस्तो संविधान नभएर नागरिकले आफैं बनाएको संविधान भएकाले यसको छुट्टै महत्व रहेको बताए । प्रमुख बस्नेतले सबैको अधिकारलाई समेटेको एउटा साझा दस्तावेजको रुपमा संविधान आएको पनि बताए । उनले भने, ‘संविधान गतिशिल दस्तावेज पनि हो, यसैलाई टेकेर अघि बढ्नु पर्छ ।’ यही संविधानलाई टेकेर मुलुक अग्रगमनमा गइरहेको पनि उनले बताए ।
यसरीनै नेकपाका नेता भक्त केसीले समृद्ध मुलुक निर्माणका लागि संविधानले मार्ग प्रसस्त गरेको बताए । उनले भने, ‘संविधानले समृद्धिको बाटो खोलेको छ, यसैले क्रमिक रुपमा विकास अघि बढ्छ ।’
नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यले मुलुक प्रतिगमन तर्फ गइरहेको दाबी गरे । ‘मुलुकमा भ्रष्टाचार र कुशासन मौलाएको छ’ उनले भने, ‘सरकारले संविधान कार्यान्वयन गर्दै नागरिकलाई सुशासनको प्रत्याभूत गराउन सकेको छैन ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले संविधानको सफलता र असफलता संघीयता कार्यान्वयनसँगै मुलुकको समृद्धिसँग जोडिने बताए । संविधानको मर्म र भावना अनुरुप सरकार अढि बढ्न सक्यो भने राष्ट्रियता दर्बिलो बन्ने पनि उनले बताए ।
जिल्ला समन्वय समितिकी उपप्रमुख चित्रकला बराइलीले स्वागत गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालु, सम्मानित व्यक्तिको तर्फबाट भोजबहादुर कार्कीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम इलाम नगरपालिकाका वडा नं. ५ का अध्यक्ष तथा प्रवक्ता ठाकूर नारायण श्रेष्ठले सञ्चालन गरेका थिए ।
सभा शुरु हुनु पूर्व ठूलो टुडिखेलबाट ¥याली निकालिएको थियो । ¥यालीमा विभिन्न जातजातिको झाँकी, एनसिसिएन र स्काउट तथा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
इलाम चोक बजारमा साँझ दिप प्रज्वलन पनि गरिएको थियो ।
नगरबाट चार सम्मानित
समाज रुपान्तरणमा योगदान गरेको भन्दै संविधान दिवशको अवसरमा नगरका चार जनालाई सम्मान गरिएको छ ।
इलाम नगरपालिकाले सम्मान गरेको व्यक्तिहरुमा भोजबहादुर कार्की, गणेश राई, धर्मप्रसाद उप्रेती र ठाकूर चन्द श्रेष्ठ रहेका छन् । सम्मानित व्यक्तिहरुलाई प्रदेश सांसद राम रानाले नगद १० हजारसहित सम्मान पत्र प्रदान गरेका थिए । नगर प्रमुख महेश बस्नेतले दोसल्ला ओढाएका थिए भने जिल्ला समन्वय प्रमुख गणेश बरालले ढाका टोपी ओढाएर सम्मान गरेका थिए ।
ब्याटमिन्टनका विजेतालाई पुरस्कार
करदाता सेवा कार्यालय इलामले आयोजना गरेको एक दिवशीय डबल मेन्स ब्याटमिन्टन प्रतियोगिताका विजेता र उप विजेताहरुलाई सभामै पुरस्कार वितरण गरिएको थियो ।
कार्यालय परिसरमा आयोजित प्रतियोगिताका विजेता मोहन रेग्मी र अर्जुन अधिकारलाई प्रमाण पत्र, ट्रफि र नगद दुई हजार पाँच सय प्रदान गरिएको थियो । यसरीनै प्रतियोगिताका उपविजेता श्याम थापा र किशोर कुमार बास्तोलालाई प्रमाण पत्र, ट्रफि र नगद एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको थियो ।
राजनीतिक दल र कर्मचारी बीच मैत्रीपूर्ण फुटबल
संविधान दिवशकै अवसर पारेर ठूलो टुँडिखेलमा राजनीतिक दल र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा कर्मचारी ११ ले राजनीतिक दल ११ लाई १–० गोलको अन्तरले हराएको छ । राजनीति दलबाट प्रदेश सांसद राम राना, जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिका प्रमुख महेश बस्नेतले पनि खेलको थिए भने कर्मचारी ११ बाट प्रमुख जिल्ला अधिकारी सीतारामकार्की, प्रहरी नायव उपरीक्षक र कार्यालय प्रमुखहरु खेलेका थिए ।