नगरले दिने भयो छात्रालाई निःशुल्क प्याड

इलाम नगरकार्यपालिकाको बैंठक

  सरलपाटी संवाददाता

 1030 पटक हेरिएको


इलाम। इलाम नगरपालिकाल राजश्वलाबाट हुने संभावित संक्रमण रोक्न विद्यालयमा छात्राहरुको उपस्थिति नियमित गराउनका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ । बाल दिवशकै दिन आइतबार बसेको इलाम नगरपालिकाको नगरकार्यपालिकाको बैंठकले यस्तो निर्णय गरेको हो ।
सोही बैंठकले नगरभित्रको नामाकरण नभएका बाटो र चोकहरुको नामाकरण गर्ने निर्णय पनि गरेको छ । बैंठकले बियर र रक्सीका बोतलमा फोहर मैला व्यवस्थापन शुल्क वापत प्रति बोतल एक रुपैयाँ असूल गरी खाली बोतलहरु संकलन गरी व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।
इलाम नगरपालिकाले वडा नं. ७ स्थित नयाँबजार क्षेत्रमा जिल्ला हुलाकदेखि पूर्व र सिटीमार्ट अगाडि रहेका नगरपालिकाले यसअघि बनाएको पसल र टहराहरु २०७६ फागुन मसान्त भित्रमा भत्काउने भएको छ ।
यसैगरी इलाममा रहेका सडक डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र भेटेरेनरी अस्पताललगायत अन्य केही कार्यालयहरु इलामबाट हटाई अन्यत्र लगिएको र लैजाने कार्य भइरहेकाले संघीय सरकार तथा प्रदेश सरकार, इलामका सांसदहरुलाई कार्यालयहरु यथावत राख्नका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ । । नेपालटार–मंगलबारे सडक मर्मत सुधार नहुँदा सो सडक दूरावस्थामा पुगेको भन्दैं सडक मर्मत सुधारको कार्य यथाशीघ्र गर्ने गराउने व्यवस्था मिलाई सहयोग गर्न सडक डिभिजन कार्यालय इलामलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यसरीनै बैंठकले धरान उपमहानगरपालिका र इलाम नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना भई सहकार्यमा विभिन्न क्रियाकलापहरु भइरहेको र सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि थप कार्यक्रमहरु निरन्तर रुपमा गर्ने निर्णय पनि गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार