समायोजनले कर्मचारी अभाव खेप्दै स्थानीय तह

संघीयता

  सरलपाटी सम्वाददाता

 663 पटक हेरिएको

इलाम/इलामका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही समस्यामा पर्न थालेका छन् । सबैभन्दा बढी माइ नगरपालिकामा कर्मचारी अभावले समस्या भएको स्थानीयले बताएका छन् । यहाँ एक जना कर्मचारीले आठवटा कामका जिम्मेवारी सम्हाल्नु पर्दा सर्वसाधारणले आवश्यक परेको बेला सेवा लिन नपाएको गुनासो गरेका छन् । ७४ जना कर्मचारीको दरबन्दी रहेको नगरपालिकामा कार्यालय सहयोगी बाहेक ११ जनामात्र कर्मचारी हुँदा कामको जिम्मेवारी एकै जनालाई बढी भएको हो ।
नगरपालिकाका वडा नम्बर–१, ३, ५, ९ र १० को वडा सचिवको काम र नगरपालिका कार्यालयको प्रशासन, जिन्सी तथा योजना शाखाको काम गर्दै आएका छन् । यहाँका कर्मचारी केशव खनालले तीनवटा वडाको काम हेर्दै गरेको बताए । केही दिन यता पाँचवटा वडाको काम र कार्यालयका तीवटा शाखाको काम गर्दै आएको बताए । ‘वडा कार्यालयमा गएर काम गर्न समयनै पुग्दैन, सिन्धुवा, मुसेखोला, थाक्ले, चिसापानी र सालबोटेमा रहेका पाँचवटा वडा कार्यालयमा पुग्ने सयम हुँदैन, खनालले भने ‘ कार्यालय सहयोगीले वडाका सबै काम गर्छन्, मैले गर्नुपर्नै सिफारिसका कामका लागि सेवाग्राही यहीं आउने गरेका छन् ।’
एक्लै धेरै काम गर्नुपर्दा सेवाग्राहीलाई चाहे अनुसार छिटोछरितो सेवा दिन नसकिएको खनालले बताए । सबै कर्मचारी सरूवा हुँदै रमना लिएर गए, नयाँ आएका छैनन्, म पनि काजमा काम गरिरहेको छु, खनालले भने ।
कर्मचारी सायोजन भएर जाँदा दरबन्दी अनुसारका कर्मचारी नहुनुले कार्यालय र वडा कार्यालय समेतको काम चलाउन समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम घिमिरेले बताउँछन् । ‘एकै जना कर्मचारीलाई धेरै कामको जिम्मेवारी दिनुपरेको छ,’ घिमिरेले भने ‘कर्मचारी अभाव हुँदा नगरपालिकाको राजश्व संकलन, र तथ्याकंको काम भएको छैन । घर नक्सा पास र सम्पती कर लागु गर्न सकिएको छैन ।’
घिमिरेका अनुसार गत आर्थिक वर्षमा तीन करोड रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कर्मचारी अभाव हुँदा एक करोड रूपैयाँमात्र संकलन भएको छ । चालू आर्थिक वर्षमा पनि तीन करोड राजश्व संकलन गर्ने लक्ष्य भएपनि कर्मचारी नहुँदा त्यति रकम उठाउन सक्न अवस्था नभएको अधिकृत घिमिरेले बताए ।
माई नगरपालिकाको मात्र होइन, सूर्योदय नगरपालिका, इलाम नगरपालिका, चुलाचुली गाउँपालिका, रोङ गाउँपालिकालगायतका जिल्लाका दशवटै स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज चलाउन समस्या भएको स्थानीय तहले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार