
इलाम ।इलाममा आत्महत्या वर्षेनी बृद्धि हुँदै गरेकोप्रति सरोकारवाला गम्भीर भएका छन् । आत्महत्या रोकथामको लागि जिल्ला समन्वय समितिले आयोजना गरेको अन्तरक्रियामा जनप्रतिनिधि सहित सरोकारवालाले चिन्ता ब्यक्त गरेका हुन् । गएको पाँच वर्षमा इलाममा पाँचसय १८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङक छ । आत्महत्या गर्नेमा १६ वर्षदेखि ७५ वर्षउमेरसम्मका छन् । नेपालमा एक वर्षमा पाँच हजार आठ सय जनाले आत्महत्या गर्नेगरेका छन् । सरदर एक जिल्लामा ७५ जनाले आत्महत्या गर्ने गरेका छन् । इलामा भने वर्षमा सय हाराहारीले आत्महत्या गर्छन् ।
आत्महत्याको प्रयास गर्ने या आत्महत्या गर्नेमध्ये ९५ प्रतिशतमा मानसकि समस्या हुने मनोरोग विज्ञ डा. कमल गौतमले बताए । ‘सामान्य व्यक्तिहरुको तुलनामा मानसिक समस्या भएका व्यक्तिहरुमा आत्महत्याको जोखिम ३ देखि १२ गुणा बढी हुन्छ,’ उनले भने,‘बेलैमा उपचार पाउने हो भने उनीहरुको जीवन बच्न सक्छ ।’ आत्महत्या जनस्वास्थ्य समस्याकै रुपमा देखिएपछि त्यसलाई रोक्न मानसिक स्वास्थ्य उपचार सेवा पाउन भने मुुस्किल छ । जिल्ला अस्पतालकी चिकित्सक दिपिका रिजालका अनुसार अस्पतालको बहिरंग सेवामा २० देखि ३० प्रतिशत मानसिक रोगका लक्ष्यण भएका बिरामी आउँछन् । तर, उनको उपचार हुनु त परेको कुरा परामर्श समेत पाउँदैन् । ‘इलाम अस्पतालमा मानसिक रोगीहरुको उपचार हुँदैन’, डा. रिजालले भनिन्,‘मनोरोगीहरुलाई परामर्श दिन पनि तालिमप्राप्त जनशक्ति छैन ।’ आत्महत्याबाट जतिको जीवन त्यागेका छन्, त्यसको तुलनामा २० प्रतिशत बढिले आत्महत्याको प्रयास गर्ने गरेका छन् । त्यसको जोखिम घटाउँन मानसिक रोगको उपचार विस्तार गर्नु आवश्यक छ । तर, स्थानीय तहले पनि त्यता ध्यान दिएका छैनन् ।
सुर्योदय नगरपालिकमा २०७४÷०७५ मा १६ जनाले आत्महत्या गरेका थिए । २०७५।०७६ मा १३ जनाले आत्महत्या गरेको सुनपाका वडाअध्यक्ष देवेन्द्र शर्माले बताए । चालु आवको दुई महिनामा मात्रै तीन जनाले आत्महत्या गरेका छन् । तर, स्थानीय तहले त्यसलाई नियन्त्रणका लागि कुनै कार्यक्रम बनाएको छैन । ‘सूर्योदयमा पनि आत्महत्या अवस्था डरलाग्दो छ, त्यसलाई रोक्न अहिलेसम्म कुनै योजना छैन’, उनले भने,‘मानसिक रोगीको पहिचान गरेर उपचार गर्न आगामी दिनमा हामी योजना बनाउँछौ ।’ मानसकि स्वास्थ्य उपचारको अभावका कारण धेरैले अकालमानै ज्यान फाल्ने गरेका छन् । त्यसमा पनि आत्महत्याको प्रयास गर्ने या आत्महत्याको पीडामा पर्ने परिवारलाई लान्छना लगाइदा उनीहरु खुलेर समस्या राख्न सक्दैनन् । मानसिक रोगको संका लागेकाहरुले समेत उपचार नपाउँदा समस्या बढ्दै गएको छ । कतिले आफुलाई परेको समस्या र रोगका बारेमा भन्न नसक्दा पनि ज्यान गुमाउने गरेको जानकार बताउँछन् । आत्महत्या रोक्नको लागि सरकोकारवालाबीच समन्वय र सहकार्य हुनुपर्ने गैर सरकारी संस्था महासंघ एक नम्बर प्रदेशका अध्यक्ष प्रकाश अधिकारी बताउँछन् । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले आत्महत्यालाई रोक्न स्थानीय तहहरुले योजना बनाउनुर्ने बताए । ‘स्थानीय तहहरुले जनशक्ति तयार पार्न लगानी गर्नुपर्छ, स्वास्थ्य संस्थाहरुमा मनोविमर्शदाताको ब्यवस्था गर्नुपर्छ,’ उनले भने,‘एकले अर्कोको कामबाट सिकेर योजनाहरु बनाउँनुपर्छ ।’
मानसिक रोगको उपचार पाएपछि रोकियो आत्महत्या
इलामको सन्दकपुर गाउँपालिकाकी एक महिलाले आठ पटकसम्म आत्महत्याको प्रयास गरिन । पटक–पटक आत्महत्याको प्रयासगर्दा उनलाई परिवारले बचाए । मानसिक रोगबाट ग्रसित उनी बिचिप्द जस्तै थिइन् । गाउँमानै उपचार पाएपछि उनको रोग निको भयो । उनको जनजीवन अहिले समान्य जस्तै भएको छ । ‘उपचारपछि उनी अहिले घरको काम गर्छिन्, पहिले उनलाई हेर्नुपथ्र्यो, अहिले आफ्नो बालबच्चा परिवार हेर्छिन’, सन्दकपुर गाउँपालिकाकी उपाध्यक्ष शोभा पराजुलीले सुनाईन,‘एक दुई पटक आत्महत्या प्रयन्त गर्ने अरु पनि उपचारपछि निको भएका छन् ।’
आत्महत्या गर्नेक्रम अत्यासलाग्दो तरिकाले बढेपछि गाउँपालिकाले गाउँमानै चिकित्सक ल्याएर मानसकि रोगीहरुको उपचार थालेपछि गाउँमा रहेका मानसिक रोगीले उपचार मात्रै पाएका छैनन्, आत्महत्या पनि रोकिएको छ । ‘वर्षमा नहुँदा पनि १०–१५ जनाले आत्मत्याको घट्ना हुन्थ्यो’, गाउँपालिकाका अध्यक्ष उदय राई भन्छन्,‘गाउँमा उपचार शुरु गरेपछि गाउँपालिका भरीमा एउटा पनि आत्महत्याको घटना भएको छैन ।’ गाउँपालिकाले युनिटि इन हेल्थसंगको सहकार्यमा प्रत्येक महिना गाउँपालिकामा मानसिक रोगको उपचार गर्न स्वास्थ्य शिविर सञ्चालन गर्छ । सोही सिविरमा पहिचान भएको ९२ जना मानसिक रोगीले नियमीत औषधि सेवन गर्दै आएका छन् । शिविरबाट सर्वसाधारणलाई मात्रै होइन जनप्रतिनिधिले पनि उपचार पाएका छन् । दुईजना गाउँसभा सदस्यले समेत शिविरबाटै उपचार पाएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।
गाउँपालिकामा एक वर्षदेखि काठमाण्डौबाट चिकित्सक ल्याएर सेवा दिइदै आएको छ । ‘नजिकमा विषेशज्ञ चिकित्सक पनि नपाइदो रहेछ, महिनाको एक दिन काठमाण्डौबाट चिकित्सक ल्याएर उपचार सेवा दिदै आएका छौ,’गाउँपालिका अध्यक्ष राई भन्छन्,‘मानसिक रोगको उपचार गर्नका लागि आवश्यक पर्ने केही औषधि खरिद गर्न पनि स्थानीय तहलाई अधिकार छैन रहेछ, हामीले कारण खुलाएर मानसिक रोगीको लागि चाहिले औषधी खरिदको स्वीकृति माग गरेका छौ ।’
एक वर्षदेखि सञ्चिालित शिविरलाई गाउँपालिकाले यो वर्षपछि निरन्तरता दिने भएको छ । युनिटि इन हेल्थ नाकम संस्थाको ६० र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा शिविरलाई निरन्तरता दिन लागिएको हो । गाउपालिकाले शिविरमा आउननसक्नेलाई आफैले ल्याएर समेत उपचार गराउने गरेको छ । ‘कोही शिविरमै आउन नसक्ने विरामी छ भने हामी गाउँपालिकाकै गाडीमा ल्याएर भएपनि उपचार गराउँछौ’,प्रमुख प्रशासकिय अधिकृत महेश राई भन्छन्,‘एक वर्षको शिविरमानै धेरैले सेवा पाएका छन्, चालु वर्षमा पनि त्यसलाई निरन्तरता दिइन्छ ।’


1072 पटक हेरिएको 






