आपराधिक घटना न्यूनीकरणका लागि सीसी क्यामेरा जडान गरेर इलाममा निगरानी थालिएको छ । जिल्लाका ३४ ठाउँमा जडान गरिएका सीसीटीभी क्यामेराको दृश्य जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट प्रहरीले निगरानी थालेको हो ।
अपराध, दुर्घटना र चोरीका घटना बढ्न थालेपछि जिल्लाका सबै मुख्य बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको हो । क्यामेरा जडानका लागि प्रदेश सरकारले सहयोग गरेको छ । सदरमुकाम इलामसहित फिक्कल, पशुपतिनगर र मंगलवारे क्षेत्रमा सीसी क्यामेरा राखिएको छ ।
इलाम बजारमा १०, फिक्कलमा ८, पशुपतिनगरमा ८ र मंगलबारेमा ८ वटा क्यामेरा जडान गरिएको छ । भीडभाड हुने स्थानलाई लक्षित गरी क्यामेरा राखिएको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताए । ‘बजार क्षेत्रमा अपराध र दुर्घटना बढे, पसल फोरेर सामान चोरी हुने घटना रोकथाममा सीसी क्यामेराबाट हुने निगरानीले सघाउँछ,’ उनले भने ।
बजार क्षेत्रमा १० किलोमिटर अप्टिकल फाइबर बिछ्याएर त्यसमार्फत क्यामेरा र टीभीको कनेक्सन गरिएको छ । क्यामेरामा एक महिनासम्मको दृश्य रेकर्ड रहने गरी मिलाइएकाले अनुसन्धानमा सहजता थपिएको प्रहरीको भनाई छ ।