ब्राजिल फुटबलका पिता अर्थात् पेले

फूटबल खेलाडी

  खेलाडी अनि खेलप्रतिको मोह

 705 पटक हेरिएको

एजेन्सी । फुटबल जगतमा पेलेलाई नचिन्ने सायदै होलान् । पेले यस्ता फुटबल खेलाडी हुन्, जसको प्रतिभाको तुलना आजसम्म कुनै पनि खेलाडीसँग गरिँदैन । भविष्यमा पनि यस्ता खालका प्रतिभा जन्मिन मुस्किल हुने फुटबलका समीक्षकहरु बताउँछन् ।

पेले सन् १९४० को अक्टोबर २३ मा ब्राजिलको मिनास गेरइसमा जन्मिएका थिए । उनको खास नाम एड्सन अरान्टेस डो नास्किमेन्टो हो । तर उनी विश्वभर पेलेको रुपमा चिनिए । उनका बुवा प्रोफेसनल फुटबल खेलाडी थिए । तर उनले पैसा भने कमाउन सकेनन् । उनको परिवारले उनको लागि एउटा बल पनि किन्न सक्दैनथ्यो । तर खाने मुखलाई जुँगाले कहाँ छेक्थ्यो र १ फुटबलप्रति लगाव भएका पेले मोजाको बल बनाएर खेल्थे ।

साओ पाउलोमा उनले धेरै प्रकारका जागिर गरे ताकि परिवारको आर्थिक समस्यालाई टार्न सकुन् । फुटबल खेल्न खोजे पनि आर्थिक समस्याले गर्दा उनलाई जागिर गर्नु बाध्यता थियो । युवा पेलेले आफ्नो भविष्य मैदानमा देखे । उनका बुवा र राष्ट्रिय टिमका पूर्व खेलाडी वाल्डेमर डी ब्रिटोको संरक्षणमा रहेर उनी बाउरु एट्लेटिक जुनियर क्लबमा खेल्न थाले । प्रशिक्षक डी ब्रिटोले पेलेको अन्तरनिहित क्षमता बुझिहाले र पेलेलाई सान्टोस फुटबल क्लबमा जान आग्रह गरे ।

सन् १९५६ मा पेलेले सान्टोस क्लबका लागि सम्झौता गरे । तीन महिनापछि पेलेले पहिलो खेलमा नै पहिलो गोल गरे । त्यो समयमा उनले गरेको गोललाई थाहा पाउने मानिस निकै कम थिए ।

युवावस्थामै स्टार

सान्टोसमा खेल्न थालेको छोटो समयमा नै पेलेले लिगमा धेरै गोल गरे । १६ वर्षको उमेरमा नै उनमा यति प्रतिभा थियो कि राष्ट्रिय टिमको आँखा उनीमाथि परिहाल्यो । सन् १९५८ को विश्वकपको सेमिफाइनल र फाइनलमा उनले गोल गरे र ब्राजिललाई विश्वकप जिताए । पहिलो विश्वकपको मैदानमा पहिलो गोल गरेपछि उनी विश्वभर छाए । उनले चार खेलमा ६ गोल गरेका थिए । ब्राजिलमा उनलाई सुपरहिरोको संज्ञा दिइयो । ब्राजिलको सरकारले उनलाई राष्ट्रिय सम्पत्ति ९नेसनल ट्रेजर० ले सम्मान गरेको थियो । ब्राजिलले पेलेजस्तो खेलाडी गुमाउन चाहँदैनथ्यो, जसकारण उनलाई विदेशबाट आएको प्रस्ताव सिधै अस्वीकार गरिन्थ्यो ।

१९५८ को विश्वकपपछि उनी घाइते भए । घाइते भएर पनि ब्राजिलले १९६२ को विश्वकप जित्न सफल भयो । तर १९६६ को विश्वकपमा भने स्टार खेलाडीको अभावले गर्दा ब्राजिल समूह चरणबाटै बाहिरियो । पेलेलाई सान्टोस क्लब निकै प्यारो थियो । पेले सान्टोसमा खेल्दा उनका विपक्षी टिमले रफगेम खेल्दा पनि उनले १९६४ को सिजनमा ६० गोल गर्न सफल भए भने त्यसपछिको वर्षमा उनले १०१ गोल गरे । जुन रेकर्ड आजसम्म कसैले पनि तोड्न सकेको छैन ।

पेलेको ख्याति बढ्दै गइरहेको बेलामा सन् १९७० मा भने पेलेले फुटबलबाट संन्यास लिने निर्णय गरे । तर उनलाई अन्तिम विश्वकप खेल्नको लागि आग्रह गरियो । सरकारको प्रस्तावलाई उनले नकार्न सकेनन् । जुन विश्वकप मेक्सिकोमा थियो । धेरैले मेक्सिकोमा खेलेको ब्राजिलको टिमलाई विश्वकै उत्कृष्ट टिमको रुपमा लिने गर्दछन् । विश्वकप उपाधि पनि ब्राजिलकै पोल्टामा गयो । पेलेले ब्राजिलको लागि गोल र असिस्ट गरे । उत्कृष्ट खेलाडीको रुपमा उनलाई गोल्डेन बल अवार्डले सम्मान गरियो । त्यसपछि पनि उनी ब्राजिलको टिममा एक वर्ष खेले । केही वर्षपछि भने उनले सान्टोस क्लबका समर्थकहरुमा बिदाइ माग्दै फुटबलबाट संन्यास लिए । तर यद्यपि उनी अझै पनि फुटबल खेल्न सक्थे ।

सन् १९७७ मा फुटबलबाट संन्यास लिँदा उनले तोड्न नसकिने रेकर्डहरु बनाइसकेका थिए । उनले १३६३ खेलमा १२८२ गोल गरेर आफूलाई ब्राजिलको राष्ट्रिय टिम र फिफा इतिहासमा अमर राखे । उनले आफ्नो जीवनमा ९२ ह्याट्रिक गरेका छन् । यसैगरी व्यक्तिगत रुपमा धेरै विश्वकप जित्ने पहिलो खेलाडी पनि हुन् उनी । उनका सुरुवाती दिनहरुलाई भने नजरअन्दाज गरिएन । पेले विश्वकपमा ह्याट्रिक गर्ने पहिलो युवा खेलाडी हुन् । यसैगरी विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी पनि हुन् । पेले जस्तै रसिया विश्वकपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल गर्दै पेलेको रेकर्ड तोडेका थिए । उनी पेलेपछि विश्वकपको फाइलन खेलमा गोल गर्ने दोस्रो खेलाडी हुन् ।

फुटबलबाट संन्यास लिए पनि पेले हातमा दही जमाएर बसेनन् । फुटबलमा जादुयी प्रदर्शन गरेका पेलेले गरिबी निमूल, भ्रष्टाचारविरुद्ध आन्दोलन र वातावरण बचाउसम्बन्धी अभियानमा रहेर काम गरे ।

खेल जगतमा उनले पुर्याएको योगदानले उनलाई नाइटहुडले सम्मान गरियो । ब्राजिलको खेलकुदमा अझ धेरै उन्नतिको लागि उनी ब्राजिलको खेलमन्त्री र युनिसेफको ब्रान्ड एम्बेसडर पनि भए । उनी खेललाई विश्वभरमा नै विकास गर्न चाहन्थे, जसका लागि उनी कहिल्यै रोकिएनन् ।

उनलाई ब्ल्याक पर्ल अर्थात् कालो मोती भनेर पनि चिनिन्छ । सन् १९६८ मा बेल्जियममा भएको विश्वकपमा उनले हानेको बाइसाइकल किक देखेर धेरै युवा खेलाडीहरु अभ्यासको लागि घन्टौँसम्म तँछाडमछाड गर्थे । उनको फुटबलसम्बन्धी सीपले सारा दुनियाँ चकित थियो ।

उनको नाम कसरी पेले हुन गयो भन्नेबारे अचम्मको किस्सा छ । पेलेले आफ्नो गोलरक्षकको नाम राम्रोसँग उच्चारण गर्न नसकेर बिली भनेर बोलाउँथे । जुन घटनापछि उनका टिममेटहरुले उनलाई जिस्काउँदै पेले भन्न थाले । तर उनले आफूलाई भने पेले नाम दिएका थिएनन् । टिममेटहरुले जिस्काउने नामले नै उनी सारा संसारभर चिनिए । नाम जे राखे पनि उनले यस कुरामा खासै वास्ता गरेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार