इलाम । ‘काठमाण्र्डाैँ हो ?, काठमाण्डौँ जाने कोही छ ? ननस्टप यात्रा । चडेको भाडा लिइन्न ओर्लेको मात्र लिइन्छ ।’ ठट्यौली मिसाउँदै यात्रु खोज्ने इलाम नगरपालिका–९ का डम्बर बहादुर भट्टराईको विहानी सधै यसरी नै सुरु हुन्छ । उमेरले ५१ वर्ष पुग्दाको फूर्ती कुनै तन्नेरी भन्दा कम हुँदैन । दश वर्षसम्म विदेशमा पसिना बगाएर देश फर्किएका उनी आफ्नै गाडीका सहचालक हुन् । आफुलाई गर्वसाथ सहचालक भनेर चिनाउने उनी समयको महत्व चिनेर नेपाल फर्केको बताउँछन् । ‘समयलाई सही तरिकाले सदुपयोग गरे जीवनमा कहिल्यै पछि फर्केर हेर्नु नपर्दो रहेछ’, जीवन भोगाईको राम्रो सिकाई हो यो उनको । ‘मेहेनतले सफल्ता दिलाउछ, त्यही भएर यो उमेरमा नि सहचालक गर्दैछु’,आफ्नो काममा गर्व गर्दैै उनले सुनाए ।
आफूलाई सहचालकको रुपमा मात्रै चिनाएपनि डम्बर भट्टराई सफल यातायात ब्यवसायी हुन् । उनको छवटा गाडी छन् । विदेशमा कमाएको रकमबाट डम्बरले ४ वटा बोलेरो गाडी, १ हायस र १ बस गरेर ६ वटा गाडी जोडेका छन् । दिवासेवा दिने ‘साकिरा यातायात’ नामको हायसमा डम्बर सहचालकको रुपमा खटिन्छन् । यातायात ब्यवसायी भन्दा पनि सहचालकको भूमिकामा उनको दैनिकी बित्छ । गाडीमा सहचालक भएर काम गर्दा थुप्रै फाइदा पुगेको सुनाउदै उनले भने,‘पहिले शरिरको तौल ९२ किलो पुगेको थियो, अहिले ५२ किलोको भएको छु ।’ उनले थपे,‘कामले गर्दा स्वस्थ्य पनि भएको छु ।’ दैनिक यात्रामा भेटिनेहरुलाई विदेशको सम्झना र सिकेका कुरालाई सुनाउँछन् । ‘भेटे जतिलाई समय खेर नफाल्नु सही समयमा सही काम गरे जीवनमा पछुताउनु पर्दैन’, उनले गर्ने कथन यस्तै हुन्छ । 
भट्टराई जिल्ला प्रहरीमा सिपाही थिए । तर मलाई प्रहरी भित्रको शासन मन परेन । सात महिनासम्म ड्युटी गरेर जागरि छाडे । प्रहरी जागिरे हुँदाको कमाई हिसाब किताब छैन । पारिवारिक समस्या समाधानका लागि अन्नत उनी विदेश हानिए । २०६५ सालमा कतार पुगेका उनले दोहामा ‘लिभिङ्ग इन इन्टेरियस’ कम्पनीमा काम गरे । त्यही कम्पनीमा दशवर्षसम्म काम गरेर २०७५ सालमा नेपाल फर्किए । त्यही कमाइले जाडेको गाडीले उनलाई ब्यवसायिको रुपमा स्थापित गरेको छ । विदेशमा सिकेको सीपले उनलाई स्वदेशमानै व्यवसाय गर्न सजिलो भएको छ । ‘समयको महत्वलाई बुझेर नेपाल फर्के, र यो उमेरमा पनि यसरी काममा खटीएकै छु । रमाइलोसँग दिन बित्छ । छोराको रहर पुरा गर्न गाडी किने । अहिले यही गाडीले मलाई जागीर दिएको छ ।’
विदेशमा कमाएको रकमबाट डम्बरले ४ वटा बोलेरो गाडी, १ हायस र १ बस गरेर ६ वटा गाडी जोडेका छन् । विदेशको कमाइले मात्रै होइन केही रकम ऋण लिएर उनले व्यवसाय थालेका हुन् । चारवटा बोलेरोलाई एक करोड ८ लाख, हायसलाई ७२ लाख र बसलाई २२ लाख रुपैँया खर्च गरेको उनले सुनाए । यति लगानी गर्दा ३४ लाख रुपैयाँ ऋण लिएका छन् । एक वर्ष ऋण चुक्ता गर्ने उनको लक्ष्य छ । यात्रु पुग्दो हुँदा दिनको २२ हजार पाँच सय रुपैँयासम्म कमाई हुन्छ । यात्रु कम हुने सिजनमा दिन भरीको कमाई तेल, गाडी मर्मत र बाटो खर्चमानै सकिन्छ ।
सह चालक बन्ने उनको रहर कमाइ मात्रै होइन । यात्रुलाई सर्वसुलभ यात्राका लागि पनि उनी यो व्यसायमा होमिएका हुन् । त्यसैले उनलाई सन्तुष्टि पनि भएको छ । ‘पहिले काम नहुँदा दिक्क लाग्थ्यो, व्यस्त हुँदा ‘फ्रेस’ हुन्छु’,उनले थपे,‘ आफ्नो लागी आफै काम गरुँ भन्ने लाग्थ्यो, त्यो अहिले पुरा भयो ।’


1003 पटक हेरिएको 






