प्राज्ञिक थलो
विश्वविद्यालय भनेको कुनै पनि मुलुकको सबभन्दा उच्च प्राज्ञिक गतिविधि हुने शैक्षिक केन्द्र हो भन्ने सत्यप्रति सायदै दुई मत होला । विश्वविद्यालयको शाख र गरिमा धान्ने कार्य विश्वविद्यालयमा हुने अध्ययन अनुसन्धानको गुणस्तरले निर्धारण गर्छ भन्ने अर्काे सत्यलाई ढाकछोप गर्न खोज्नु पनि सुर्यलाई हत्केलाले छेक्नु जस्तै होला । विश्वविद्यालयमा गुणस्तरीय अध्ययन अध्यापन एवं खोज अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी विश्वविद्यालयको नेतृत्व गर्दै आएका प्राध्यापककै हो भन्ने कुरा त झन् दुनियाँलाई थाहा भएको अर्काे सत्य हो । त्यसरी कुनै पनि विश्वविद्यालयलाई गुणस्तरीय प्राज्ञिक थलोको रुपमा विकास गर्ने मुल जिम्मेवारी त्यस विश्वविद्यालयका प्राध्यापककै काँधमा हुँदोरहेछ । पाठ्यक्रममा तोकिएका विषय बस्तुमा मात्र सीमित नभएर समाजमा हुने हरेकजसो गतिविधिलाई केन्द्रमा राखी त्यही समाजबाट आउने विद्यार्थी वर्गबाट मौलिक सुचना ग्रहण गर्दै सभ्य समाजको विकासमा योगदान पु¥याउने गहन खोज अनुसन्धान गरी समग्र समाजलाई नै सही दिशा प्रदान गर्ने मुख्य जिम्मेवारी नै प्राध्यापकवर्गको काँधमा हुँदोरहेछ । विश्वविद्यालयमा कार्यरत प्राध्यापक केवल जागिरे मानसिकताबाट ग्रस्त भएर विश्वविद्यालयलाई मागिखाने भाँडो मात्र बनाउनु भनेको एउटा सामान्य कमजोडी मात्र नभएर सिङ्गो समाजप्रति गरिने जघन्य अपराध जस्तै रहेछ । यो अपराधबोध गर्न जति ढिला हुन्छ, नेपालका विश्वविद्यालय अपराधजन्य कृयाकलापको थलो बन्ने खत्तरा झन् धेरै हुने रहेछ ।
अनुसन्धान केन्द्र
संसारमा आजसम्म भएका बैज्ञानिक आविष्कारदेखि सुचना प्रविधिसम्म आएको चामत्कारिक परिवर्तनका केन्द्र बन्दै आएका विश्वविद्यायलको गौरवशाली इतिहासलाई वेवास्ता गर्दै नेपालका विश्वविद्यालय चाहिँ अत्यन्तै घटिया गतिविधि मञ्चन गर्ने केन्द्रमा रुपान्तरण हुँदै जानु नेपाल र नेपालीकै लागि निकै दुर्भाग्यपूर्ण कुरा हो । संसारका गुणस्तरीय विश्वविद्यालयको इतिहास हेर्दा ती विश्वविद्यालयमा हुने खोज अनुसन्धानले नै संसारमा अकल्पनीय परिवर्तन सम्भव भएको निष्कर्ष निस्कदोरहेछ । विश्वविद्यालयमा सम्पन्न भएका खोज अनुसन्धानमा टेकेर राज्यका शैक्षिक मात्र नभई समग्र मुलुककै सारा नीति निर्माण गर्ने कार्य हुँदोरहेछ । यसरी अलिक घोत्लिएर विचार गर्दा विश्वविद्यालय भनेका कुनै पनि मुलुकका बडेबडे विद्धान र अनुसन्धानकर्ताले निरन्तर बौद्धिक वहस एवं अन्तर्क्रिया गर्ने तथा निरन्तर नवीन खोज अनुसन्धान गर्ने उच्च अनुसन्धान केन्द्र नै रहेछन् भन्ने निकै मननीय निष्कर्ष निस्कदोरहेछ ।
मुलुकको भविष्य
विश्वविद्यालयमा उच्च ज्ञान र सीपले लैस बौद्धिक व्यक्तित्वको बलियो उपस्थिति मात्र हुँदोरहेनछ । त्यहाँ त भविष्यमा समग्र मुलुक हाँक्ने गहन जिम्मेवारी बोकेका जोशिला एवं श्रेष्ठतम्, योग्य र क्षमतावान् होनाहार युवावर्गको उपस्थिति झन् बलियो हुँदोरहेछ । ती सर्वश्रेष्ठ, जुझारु एवं जोशिला युवा विद्यार्थीवर्गले विश्वविद्यालयमा के कस्तो शिक्षा दीक्षा हाँसिल गर्छन् भन्ने कुराले मुलुकको समग्र भाग्य र भविष्य निर्धारण हुँदोरहेछ । विश्वविद्यालयको उच्च डिग्री हासिल गरेका र देश विकासमा केन्द्रिय भुमिका निर्वाह गर्ने लाखौं सर्वश्रेष्ठ युवा केवल हातमुख जोड्ने समस्या समाधानका शुन्दर सपना सजाएर प्रत्येक दिन विदेशिएका विदेशिएकै छन् । त्यति मात्र होइन, त्यस्तो शुन्दर सपना सजाएर विदेशिएका होनाहार युवावर्ग दिनहुँ जस्तै बाकसमा कैद भएर फर्कदा पनि त्यस्ता सम्बेदनशील विषयलाई अन्देखा गर्दै विश्वविद्यालयलाई बेरोजगार उत्पादन गर्ने कारखानामा रुपान्तरण गर्नु जस्तो बिडम्बना अरु के होला ? विश्वविद्यालयलाई हरेक विषयको गहन अध्ययन अनुसन्धान गर्ने प्राज्ञिक थलो बनाउनु पर्छ भन्ने प्राध्यापकवर्गले प्रदान गरेको शिक्षा किन यसरी बालुवामा पानी सरह भएको छ भनेर स्वयं प्राध्यापकवर्गले आफ्नै बारेमा गम्भीर अनुसन्धान गर्ने कि नगर्ने ? विश्वविद्यालयमा अध्ययन गर्ने स्वयं युवावर्ग आज आफ्ना प्रमाणपत्र रद्दीको टोकरीमा मिल्काएर विदेशी गल्लीमा कौडीको मुल्यमा किन बेचिनु परेको छ भन्ने विषयमै अध्ययन अनुसन्धान गर्ने कि नगर्ने ? विश्वविद्यालयका प्रमुख नेतृत्वकर्ता प्राध्यापकवर्ग र विश्वविद्यालयका प्राण धान्ने विद्यार्थीवर्ग नै विश्वविद्यालयमा देखिएको यति भयानक दृश्यप्रति मौनप्रायः बस्ने हो भने नेपालका विश्वविद्यालयको गिर्दाे शाख उकास्न कुन प्रभुको उदय हुनुपर्ला ? प्रश्न धेरै नै सोचनीय छैनन् र ?
जघन्य अपराध
विडम्बना नै भन्नु पर्छ यति धेरै सोचनीय प्रश्नका चित्तबुझ्दो जवाफ दिदै विश्वविद्यालयको गरिमा र शाखलाई थामिखान विश्वविद्यालयका नेतृत्वकर्ता स्वयं प्राध्यापकवर्ग पटक्कै लागेका छैनन् । बरु विश्वविद्यालयलाई अमुक राजनीतिक दलका अमुक गुटको निहित स्वार्थ पूरा गर्ने एक अप्राज्ञिक थलोका रुपमा परिणत गरेर विश्वविद्यालयको त्यस्तो गरिमा र शाखलाई सिध्याउने जघन्य अपराध गर्न स्वयं प्राध्यापकवर्ग तम्सिएको देखिन्छ । विश्वविद्यालयमा कार्यरत स्वयं प्राध्यापकवर्ग नै अमुक दलका पनि अमुक गुटका गोटी बनेर विश्वविद्यालयमा नाङ्गो नाच प्रदर्शन गरिरहेका छन् । यति सम्मकि आफ्नै दलले सिफारिस गरेका विश्वविद्यालयका कुनै पदाधिकारिले त्यहि दलका अमुक गुटका मानिसलाइ जागिर दिएनन् भनेर त्यसरी जागिर नपाउने गुटका व्यक्तिले ती पदाधिकारीलाई आफ्नो पदबाट राजीनामा दिन दवाव दिएका समाचारले सञ्चार जगत र सामाजिक सञ्जाल पूरै भरिभराउ हुन थालेका छन् । त्यति हुँदा पनि कतिपय प्राध्यापकलाई त्यस्ता कुराले खासै छुन सक्दैन । बरु उही दलका त्यस्ता प्राध्यापक उसले राजीनामा दियो भने मेरो पो पालो आइहाल्थ्यो कि भनेर च्याँखे दाउमा बसे झैं लाग्छ । उही दलका सक्रिय सदस्य रहेको दावी गर्ने त्यस्ता व्यक्ति नै केवल पदीय र आर्थिक लाभका लागि नग्न रुपमा यो हदसम्म गिर्न तयार भएपछि नेपालका विश्वविद्यालय गुणस्तरीय अध्ययन अनुसन्धान गर्ने प्राज्ञिक थलोका रुपमा विकास हुन सक्लान भनेर कसरी विश्वस्त बन्ने ? यसरी स्वयं प्राध्यापकवर्ग आर्थिक वा पदीय लाभलाई केन्द्रमा राखेर घोर अलोकतान्त्रिक, अपारदर्शी, अराजक र पूरै अप्राज्ञिक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने र अमुक दलका पनि अमुक गुटका अमुक नेता उही दलका यो वा त्यो प्राध्यापकलाई एक अर्कामा भिडाएर आफ्ना मान्छेलाई जागिर खुवाउन सौदाबाजी गर्छन भने विश्वविद्यालय डुवाउने यो भन्दा जघन्य अपराध अरु के हुन सक्छ ? त्यो पनि सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा फलाकेर हिडेका नेता कार्यकर्ता नै उक्त नाराको मर्म र भावना विपरित यस्ता नीच कर्म गर्दै हिड्छन् भने अब उनीहरुलाई जनताले कसरी विश्वास गर्ने ?
त्यतिमात्र होइन विश्वविद्यालयसँग यो वा त्यो रुपमा जोडिएका कतिपय व्यक्ति विश्वविद्यालय जस्तो सरस्वतीको पवित्र मन्दिरमा स्वयं सरस्वतीको चरम अपमान गर्दै लक्ष्मीको पुजा गर्न प्राज्ञिक मुल्य मान्यतालाई पूरै तिलाञ्जली दिएर प्रस्तुत भएका छन् । देखावटी रुपमा राजनीतिक दलका विभिन्न गुट उपगुटमा विभाजित जस्ता देखिने ती पात्र घोषित वा अघोषित रुपमा सरस्वतीको अस्मिता लुट्न संयुक्त मोर्चा बनाएरै मैदानमा उत्रिएका छन् । यो वा त्यो दल वा गुटमा रहेको नाटक गर्दै सारमा विश्वविद्यालयको शाख, गरिमा र अस्मिता लुट्न संयुक्त रुपमा लागि परेका अमुक दलका लक्ष्मीभक्तको अप्राकृतिक गठबन्धन तोड्ने आँट र शाहस भएको कुनै माइकालाल आजसम्म जन्मन सकेको देखिदैन । विश्वविद्यालयमा भइरहेको यो घटिया खेलले विश्वविद्यालयलाई एक प्राज्ञिक थलोका रुपमा हेर्न चाहने जोकोहीको मन छियाछिया भएको छ । विश्वविद्यालयको यो हालत् देखेर उनीहरु कुनामा बसेर धुरुधुरु रोइरहेका छन् । अब विश्वविद्यालयको शाख र गरीमा सदा सर्वदा उच्च राख्न चाहने स्वयं प्राध्यापक, विद्यार्थी र कर्मचारीवर्ग नजागी विश्वविद्यालयमा गुणात्मक परिवर्तनको कुरा गर्नु आकासको फल आँखा तरि मर भन्नु जस्तै मात्र हुनेछ ।
प्राध्यापकका चुनौति
परिवर्तनको यात्रा अरु कसैबाट नभई स्वयं आफैंबाट शुरु गर्नुपर्छ भन्ने सन्देश कक्षाकोठासम्म प्रवाह गर्ने वा दुनियाँलाई व्याख्या मात्र होइन बदल्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ भन्ने पण्डित्याँई छाँटेर कहिल्यै नअघाउने विश्वविद्यालयका मुल नेतृत्वकर्ता हामी प्राध्यापकवर्ग नै ती उक्तिको भाव र आशय विपरित गलत कार्यमा संलग्न हुँदा उक्त उक्तिको मर्मलाई हाम्रा विद्यार्थीवर्गले कसरी ग्रहण गर्लान ? हामीले नै प्रवाह गरेको त्यति महत्वपूर्ण शन्देश हामी प्राध्यापक स्वयंले व्यवहारमा अनुभुति नगराउने हो भने हामीलाई दुनियाँले कसरी मुल्यांकन गर्ला भनेर हामीले कहिल्यै सोचेका छौं ? हामी प्राध्यापकका लागि निकै तितो लाग्न सक्ने यी र यस्ता अनेक गम्भीर सवालमा आज दुनियाँले चोर औंला ठड्याइरहेको यथार्थप्रति हाम्रो कति ध्यानाकर्षण भएको छ ? त्यसकारण अब परिवर्तनको यात्रा आफैंबाट शुरु गरेर वा दुनियाँलाइ व्याख्या गर्ने मात्र नभई बदलेरै देखाउन हामी प्राध्यापक स्वयं तयार हुने कि नहुने ? कि फेरि दलीय भागबण्डाले विश्वविद्यालयहरु खत्तम भए भने झैं गर्दै आफै दलीय भागवण्डामा पर्न मरिहत्ते गर्ने जस्ता पाखण्डपूर्ण कुराको व्यापारमै रमाएर विश्वविद्यालयलाई मृत्युशैयामा पु¥याएरै छाड्ने ? यी र यस्ता निकै पेचिला प्रश्न हामी प्राध्यापकवर्गका प्रमुख चुनौति बनेर हाम्रा सामु तेर्सिएका छन् । समयमै हाम्रो चेत खुलोस् ।
विद्यार्थीका चुनौति
गुणस्तरीय विश्वविद्यालयमा फलेको फल खाने पहिलो र सबभन्दा शौभाग्यशाली पात्र भनेका ती विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीवर्ग नै हुन् । गुणस्तरीय विश्वविद्यालयबाट उत्पादन भएका उच्च ज्ञान, सीप र प्रविधिले लैस विद्यार्थीवर्गले नै आज समाज र विश्वमा तहल्का मच्चाइरहेका छन् । त्यसरी समाज र विश्वमै तरगं पैदा गर्न सक्ने सम्भावना बोकेका विश्वविद्यालयमा अध्ययनरत होनाहार युवावर्ग शैक्षिक मुद्दालाई ओझेलमा पारेर अमुक दलका पनि अमुक गुटका पनि अमुक नेताका गोटी बनेर निहित स्वार्थमा रुमल्लिदा लाखौं युवा र समग्र मुलुकको भविष्य अन्धकार सुरुङतिर सोझिएको छ । अब पनि युवा विद्यार्थीवर्ग यो गलत प्रवृत्ति उल्ट्याएर शैक्षिक मुद्दालाई पहिलो प्राथमिकतामा राख्दै शैक्षिक गुणस्तर उकास्ने महाअभियानमा नहेलिने हो भने बन्द बाकसमा कैद बनेर नेपाल फर्कने युवाको संख्या झन् धेरै बढ्न सक्ने खत्तरा देखिन्छ । यस्ता पेचिला चुनौतिप्रति विद्यार्थीवर्गको गम्भीर ध्यानाकर्षण होस् ।
निश्कर्ष
अब विश्वविद्यालय केवल प्राध्यापक, विद्यार्थी र कर्मचारीवर्गको मात्र चिन्ता र चासोको विषय रहेन । विश्वविद्यालयले प्रदान गर्ने शिक्षासँग समग्र समाज तथा मुलुकको भाग्य र भविष्य जोडिएको छ भन्ने सत्य समाजका हरेकजसो नागरिकलाई ज्ञान भइसकेको छ । उच्च ज्ञान, सीप, सोच र संस्कारयुक्त प्राज्ञिक थलोका रुपमा विश्वविद्यालयलाई हेर्न पाइयोस् भन्ने समाजका हरेक तह र तप्काका नागरिकको अपेक्षा रहेको देखिन्छ । पछिल्लो समयमा पत्रकार जगत र सामाजिक सञ्जालमा नागरिक समाजले विश्वविद्यालयप्रति देखाएको चिन्ता र चासोले यो दावी थप पुष्टी हुन्छ । अभिभावकवर्ग र नागरिक समाजको चिन्ता र चासोलाई उच्च सम्मान गर्दै विश्वविद्यालयको शाख र प्रतिष्ठा कायम गर्ने प्रमुख जिम्मेवारी विश्वविद्यालयसँग सोझो सम्बन्ध भएका प्राध्यापक, विद्यार्थी र कर्मचारीवर्गकै हो । त्यसकारण विश्वविद्यालमा देखिएका चुनौतिको सहि सम्बोधन गर्दै विश्वविद्यालयलाई समाजको अपेक्षा बमोजिम अध्ययन अनुसन्धानलाई पहिलो प्राथमिकतामा राख्ने प्राज्ञिक थलोका रुपमा विकास गर्न तत्कालिन, मध्यकालिन र दीर्घकालिन सोच, योजना, उद्देश्य र कार्यक्रम सहित हामी विद्यार्थी, प्राध्यापक र कर्मचारीवर्ग विशाल छाती बनाएर अघि बढ्नै पर्ने समय आएको छ । अत्यन्तै अपारदर्शी ढंगले हुने क्षणिक आर्थिक र पदीय लाभका लागि हुने कथित दलीय वा गुटगत भागबण्डाले नराम्ररी थलिएका विश्विद्यालयलाई प्राज्ञिक थलोका रुपमा स्थापित गरी त्यस्तो गलत प्रवृत्ति उल्ट्याउन स्वयं प्राध्यापक, विद्यार्थी र कर्मचारीवर्ग अझै तयार नहुने हो भने नेपालका अधिकांस विश्वविद्यालयहरुको सम्भावित मृत्युलाई कसैले रोक्न सक्ने छैन । चेतना भया ।