इलामको रोङ गाउँपालिकाले लेप्चा जातिको संस्कृति संरक्षण र प्रवद्र्धनको लागि ‘लाइभ म्युजियम’ निर्माण गर्ने भएको छ । त्यसका लागि लेप्चाहरुको बाक्लो बसोबास भएको रोङ गाउँपलिका–३ चिण्डेमा लेप्चा जातिको परम्परागत शैलीका घर निर्माण गरिने छ ।
घरमा परम्परागत जीवनशैली झल्किने सरसामग्री राखिने छ ।
यसरी सञ्चालन गरिएका घरहरू भने लेप्चा समुदायलाइनै हस्तान्तरण गर्ने गाउँपालिका अध्यक्ष समशेर राईले बताए ।
यसरी सञ्चालन गरिएका घरहरू भने लेप्चा समुदायलाइनै हस्तान्तरण गर्ने गाउँपालिका अध्यक्ष समशेर राईले बताए । ‘सुरुमा नमुनाको लागि ५–७ वटा परम्परागत घर बनाएर सुकुम्बासी लेप्चाहरु ल्याएर राख्छौ’,उनले थपे,‘त्यसलाई लेप्चाहरुको ‘लाइभ म्युजियम’ का रुपमा विकास गर्छौ ।’ सोही स्थानमा लेप्चा होमस्टे समेत बनाउने गाउँपालिकाको योजना छ ।
परम्परागत शैलीका घर बनाएर होमस्टे सञ्चालगन गर्न गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने भएको छ । ‘चिण्डेमा होमस्टे सञ्चालनको लागि लेप्चा जातिको परम्पारागत शैलीका घर बनाउन ५० अनुदान दिन्छौ’,उनी भन्छन्,‘भाषा संस्कृतिको संरक्षण सँगै त्यसलाई पर्यटनसंग जोड्न होमस्टे बनाउन अनुदानको व्यवस्था गरेका हौ ।’ गाउँपालिकाले मेची राजमार्गमा पर्ने कुटिडाँडामा भने सास्कृतिक संग्रालय बनाउने भएको छ । सास्कृतिक संग्रहालयको एउटा तलामा लेप्चा विशेष र अर्को तलामा गाउँपालिका क्षेत्रमा रहेका सबै जातिको संस्कृति झल्किने संग्रहालय रहने छ । संग्रहालयमा विभिन्न जातिको वेषभुषा, उनीहरुले प्रयोग गर्ने परम्पारगत सरसामग्री, चित्रहरु हुनेछन् ।
लेप्चा भाषाबाटै नामाकरण गरिएको रोङ गाउँपालिकाले २० वर्षे कार्यनीतिक गुरुयोजना बनाएर विशेष योजना सञ्चालन गर्दैछ । त्यसका लागि संघीय सरकारले गाउँपालिकालाई विशेष अनुदानको व्यवस्था गर्ने गरेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड ८० लाख रुपैयाँ विषेश अनुदान पाएको थियो । त्यसबाट लेप्चाहरूको बस्तीसम्म पुग्न बाटो निर्माण, विद्युत पहुँच विस्तार, सामुदायिक भवन निर्माण, गुम्बा निर्माण, मानि संरक्षणका काम भएका छन् । रोङमा छ सय हाराहारी लेप्चाहरुको बसोबास रहेको छ ।
लेप्चा विद्यार्थीको बाहुल्य रहेको रोङ–३ चिण्डेमा रहेको सारदा आविमा लेप्चा भाषा अध्ययन गर्न चाहनेका लागि आवासीय विद्यालय सञ्चालन गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।
लेप्चा भाषाको पाठ्यक्रम बनाइँदै
इलामको रोङ गाउँपालिकाले लेप्चा भाषा पठन पाठनको लागि पाठ्यक्रम बनाउने भएको छ । लेप्चा जातीको बसोबास रहेको रोङ गाउँपालिकाले पाँच कक्षासम्म लेप्चा भाषाको पढाइको लागि पाठ्यक्रम बनाउन लागेको हो । नेपालको लोपोन्मुख आदिवासी जनजातिको सूचीमा रहेका लेप्चाहरूको भाषा संरक्षणको लागि नेपालमा नै पहिलो पटक पाठ्यक्रमनै विकास गर्न लागिएको हो । उनीहरुको भाषा र संस्कृति संरक्षणको निम्ति पाठ्यक्रम तयार गरिने गाउँपालिका अध्यक्ष समशेर राईले बताए ।
‘पाठ्यक्रम तयार गर्नको लागि गाउँसभाबाट आवश्यक बजेटको ब्यवस्था गरेका छौ’, अध्यक्ष राईले भने,‘पाठ्यक्रम विकास केन्द्र र विज्ञहरुका सहयोग लिएर चैत भित्रमा पाठ्यक्रम तयार पार्छौ ।’ गाउँपालिकाले लेप्चा भाषाको पाठ्यक्रम तयार गर्नको लागि भाषाको पढाइ हुने भारतको कालेबुङमा गएर अध्ययन समेत गरेको छ । भारतको दार्जिलिङ्ग, कालेबुङ, सिक्किमका विभिन्न विद्यालयमा पढाइ हुने लेप्चा भाषाको पाठ्यक्रम समेत संकलन गरेर ल्याइएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिएका छन् । ‘छिमेकी मुलुक भारतको केही विद्यालयमा लेप्चा भाषाको पठन पाठन भइरहेको रहेछ’, उनले भने,‘हामीले त्यहाँ पढाइ भइरहेको सामग्रीहरु समेत संकलन गरेर ल्याएका छौ ।’
‘छिमेकी मुलुक भारतको केही विद्यालयमा लेप्चा भाषाको पठन पाठन भइरहेको रहेछ’, उनले भने,‘हामीले त्यहाँ पढाइ भइरहेको सामग्रीहरु समेत संकलन गरेर ल्याएका छौ ।’
भाषा पढाउन आवासीय विद्यालय
गाउँपालिकाले आवासीय रूपमा लेप्चा भाषाको पठन पाठन गराउने भएको छ । लेप्चा विद्यार्थीको बाहुल्य रहेको रोङ–३ चिण्डेमा रहेको सारदा आविमा लेप्चा भाषा अध्ययन गर्न चाहनेका लागि आवासीय विद्यालय सञ्चालन गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।
‘आवासीय पठन पाठनको लागी विद्यालयमा संरचना तयार गर्दैछौ’,उनले भने,‘लेप्चा भाषा पढ्न चाहाने अन्य समुदायका विद्यार्थीलाई पनि त्यो सुविधा दिइन्छ ।’ अन्य समुदायका विद्यार्थीलाई भाषा पढाउँदा भाषा संरक्षण प्रभावकारी हुने गाउँपालिकाको अपेक्षा छ । सारदा आविमा अहिलेपनि ७०–८० प्रतिशत लेप्चा समुदायका विद्यार्थी अध्ययनरत छन् ।