राजनीति हाम्रो पेशा कि संकल्प ?

  प्रकाश अधिकारी

 704 पटक हेरिएको

हाम्रो पुस्ताले नेपाली राजनीतिमा धेरै कुराको अनुभव आर्जन गरेको छ । व्यवस्था परिवर्तन देखि राज्यको स्वरुपमा आएको परिवर्तन समेतमा यो पुस्ताको महत्वपुर्ण योगदान रहेकोकुरा कसैले नकार्न सक्दैन । तर, राजनीतिको वेग यति तिब्र गतिमा अघि बढ्यो कि हामी कसैले कसैलाई राजनितिक संस्कार अनि पवित्र संस्कृतिको बारेमा भन्न, सुन्न र सिक्न नै भ्याएनौं । राजनीतिलाई यस्तो अस्वस्थ होडका रूपमा बुझाइयो र सोही अभ्यासमा रमाउने संस्कृतिको निर्माण भयो ।
परिणाम राजनीति भनेको इमानदार मानिसले गर्ने होइन, झुठ बोल्ने, पटक पटक ढाट्न सक्ने । चाकडी चाप्लुसी, कमिशनका पछि कुद्ने दलाली गर्ने अनि बिचौलियाको रूपमा समेत आफ्नो परिचय बनाउन सक्ने आदि आदि व्यक्तिहरुले मात्र राजनीति गर्न र राजनीतिमा टिक्न सक्छन भन्ने मत आज पनि सशक्त छ ।
के हामीले बुझेको र सिकाएको राजनीतिक संस्कार यही हो त ? देशको राजनितिक परिवर्तन र व्यवस्था परिवर्तनका आन्दोलनमा हामीले राजनीतिक संस्कार, सिद्धान्त अनि अनुशासनको पाठशालामा आफ्ना कार्यकर्तालाई राख्न नभ्याएको हो या जरुरी नै ठानिएन ।
आज दिन प्रतिदिन अराजकता मौलाइरहेको छ । राजनितिक आस्था, सिद्धान्त, अनुशासन, राजनीतिक संकल्प दिन प्रतिदिन कमजोर बन्दै गएको छ । व्यक्तिगत आशा अभिलासामा बन्दक बनेको राजनीतिक संस्कार दिन प्रतिदिन हाबी बन्दै गइरहेको देखिन्छ । यो अवस्थालाइ बुझेरपनि बुझपचाइरहेका राजनीतिक नेतृत्वहरु यही गोलचक्करमा आफूलाई फिटफाट गरिरहेका छन् । मानौ जनता मतदाता कोही होइनन् यिनलाई जसोगरे नी हुन्छ ।
अर्कोतर्फ पार्टीमा आवद्ध निष्ठावान कार्यकर्ता जसले नीति, नियम, सिद्धान्त अनुशासन र सामाजिक दायित्वको प्रश्न उठाउछन् उनीहरूलाई कमजोर बनाइन्छ, जिम्मेवारीबिहिन बनाइन्छ । सुझबुझका साथ राजनितिक क्षेत्रमा क्रियाशिल हुन खोज्ने, बर्षैदेखिको राजनितिक इतिहास बोकेका इमान्दार अनि क्रियाशिल व्यत्तित्वको बर्खिलापगर्ने, उनीहरूको तेजोबदगर्नका लागि श्रोत साधनको दुरुपयोग गर्ने, राजनीतिमा नयाँ पुस्ताको विकास नगर्ने, बाहुबल अनि अराजनितिक क्रियाकलाप सञ्चालन गर्ने प्रवृतिले राम्रो राजनीतिक संस्कृतिको विकास गरिरहेको छैन । यहाँ राजनीतिक संगठन र मोर्चामा आफू कसरी पुग्ने, हस्तक्षेप गर्ने र उक्त संरचनाको माध्यमबाट कसरी आफ्नो स्वार्थसिद्ध गर्न सकिन्छ भन्ने हेराइबाट गतिबिधि सञ्चालन गरिन्छ । जसबाट आम नागरिकमा राजनीतिक दल त्यसको नेतृत्व र कार्यकर्तासम्म नकरात्मता धारणाको विकास भइरहेको छ ।
हाम्रो कमजोर सेवा प्रवाह, प्रशासनीक अस्तव्यस्तता, कानुन कार्यान्वयनको कमजोर अवस्था, पहुँच र भन्सुनमा आधारित न्यायप्रणाली समेतले एकातर्फ परिवर्तित राजनीतिक व्यवस्थाको जगलाइ कमजोर बनाइरहेको छ । अर्कातर्फ, राजनीतिक दलका अराजक, अनुशासनहिन कार्यकर्ता, व्यक्तिगत चाकडी र चाप्लुसीमा रम्ने निष्ठाबिहिन कार्यकर्ताको गैरराजनीतिक जमातको विकास र परिचालनले इमान्दार कार्यकर्तामा नैराश्यता थपेकै छ ।
स्थानीय सरकार अनि मोर्चामा समेत गैरराजनीतिक चरित्रको संरक्षण र प्रसयका कारण तिनै स्वार्थी समूहको प्रभावमा पर्ने, पक्षपोषण, प्रयोग र परिचालनमा रम्ने हाम्रो नेतृत्वले आज समृद्ध नेपाल र सुखी नेपालीको आर्थिक अनि सामाजिक मुद्दा दिन प्रतिदिन कमजोर बन्दै गएका छन् ।
किन हामी राजनीति भनेको पेशा होइन यो देशको विकास र समृद्धिको एउटा संकल्प हो भनेर आम नागरिक बीचमा लिएर जान सक्दैनौ ?
किन आफ्ना कार्यकर्ताहरूलाई सोही बमोजिमका उदाहरणीय व्यवहार पस्कन सिकाउन सक्दैनौ ? दुईचार वर्ष राजनीतिक कार्यकर्ता भएकै भरमा, कुनै नेताको पछि लागेकै भरमा देखिने आर्थिक लाभ अनि बिलासिताको जीवन शैली अनि बीसौ बर्ष जागिर वा कुनै पेशा व्यवसाय सञ्चालन गरेर दुःखसुख जीविकोपार्जन सम्म गरेका आफ्नै कार्यकर्तासँग तुलना गरेर हेरौ त परिस्थिति कसरी विकास भइरहेको छ ?

प्रजातान्त्रिक शासन व्यवस्था भएको हाम्रो जस्तो मुलुकका नागरिक आफ्नो आस्था राख्न पाउने साथै आफूले मनपराएको राजनीतिक दल वा संगठनका गतिविधिमा शान्तिपूर्ण तवरबाट निर्वादरूपमा सहभागिता राख्न सक्ने सम्बैधानिक अधिकारको उपयोग गर्न सक्दछन् ।

कुनै पेशा व्यवसाय नगर्ने, जागिर नखाने, कुनै लाभको पदमा नबस्ने राजनीति गरेकै भरमा कसरी र के आधारमा यस्तो भइरहेको छ । हरेक नागरिकले यस्ता अनगिन्ती प्रश्नहरु उठाइरहेका छन् ।
प्रजातान्त्रिक शासन व्यवस्था भएको हाम्रो जस्तो मुलुकका नागरिक आफ्नो आस्था राख्न पाउने साथै आफूले मनपराएको राजनीतिक दल वा संगठनका गतिविधिमा शान्तिपूर्ण तवरबाट निर्वादरूपमा सहभागिता राख्न सक्ने सम्बैधानिक अधिकारको उपयोग गर्न सक्दछन् । राजनितिक सिद्धान्तका आधारमा हरेक व्यक्तिहरुको आस्था कुनैन कुनै राजनितिक दल प्रति रहनु स्वभाविक छ ।

आस्था राखेकै आधारमा कोही कसैले आफ्नो पेशा व्यवसाय छाड्नु पर्ने हुदैन । उनीहरूले राजनीतिक गतिविधिमा सामेल भएको एवं योगदानका आधारमा सांगठानिक जिम्मेवारी बहन गर्ने । राजनीतिक मुद्दाहरू बोकेर आम नागरिक समक्ष जानसक्ने, बहस छलफल चलाउन सक्ने अधिकार हरेक सचेत नागरिकको राजनीतिक अधिकार सुरक्षित छ । त्यसैले राजनितिक व्यवस्थालाई सुदृढ गर्ने, सामाजिक सरोकारका मुद्दामा अगुवाइ गर्ने, देशको विकास र समृद्धिका सवालमा नागरिकलाई सचेत गर्ने संगठित गर्ने, सामाजिक न्याय र सशत्तिकरणका सवाल राजनितिक मुद्दाहरु हुन् । यस्ता सवालमा हरेक राजनीतिक दलका कार्यकर्ताले के कसरी भूमिका देखिरहेका छन् ।

उनीहरू संलग्न दल र राजनितिक मोर्चाहरूले जनसरोकारका मुद्दामा के कस्तो भूमिका खेलिरहेका छन् । आमनागरिकको चासो र सरोकारका विषय हुन् । त्यसैगरी सरकारले लिएका प्राथमिकता, विकासका शैली, जनसहभागिताको अवस्था, सामाजिक उक्तदायित्व र सुशासन आधारभुत विषयको सकारात्मक प्रभाव आम जनतासम्म पुगे नपुगेको अवस्थालाई समेत सम्बन्धित राजनितिक दलका कार्यकर्ताले लेखाजोखा राख्नु पर्दछ ।
कसैलाई गाली गरेर, निशेध गरेर, सेवाप्रवाहलाई संकुचित गरेर, संकृण घेरामा भित्र राज्यको श्रोत र साधनको दुरुपयोग गर्ने अवस्थाले राजनीतिक संस्कार राम्रो र प्रभावकारी बन्दैन ।
यसले विपक्षमात्र सशंकित हुने होइन कि गलत राजनीतिक संस्कृतिको विकास हुन्छ । सहयोग, समन्वय र सहकार्यता संकुचित हुन्छ परिणाम राजनितिक दल र तिनका कार्यकर्ताप्रतिको विश्वास संकटमा पर्दछ ।
मतदातामा निराशा पैदा हुने, एक आपसमा अविश्वास बढ्ने, कार्यकर्ताबीचको सम्बन्ध कमजोर बन्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा स्वार्थ समूहको जन्म हुने अराजनीतिक संबाद बढ्ने र सामूहिक धरापमा पर्ने अवस्थाको सिर्जना हुनाले सिंगो राजनितिक व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था आउन सक्ने भएका कारण राजनीतिक नेतृत्वले त्यसतर्फ सदैव सचेत रहनु बुद्धिमानी हुन्छ ।

त्यसैले राजनीतिक व्यवस्थाको सुदृढिकरणका लागि राजनीतिक दल र तिनमा आवद्ध कार्यकर्ताको व्यवहार अनि चरित्र समेत महत्वपुर्ण मानिन्छ । दलका कार्यकर्ताले राजनीतिक संस्कार बुझेनन्, राजनितिको उद्देश्यलाई बुझ्न सकेनन् भने के हुन्छ ?

त्यसैले राजनीतिक व्यवस्थाको सुदृढिकरणका लागि राजनीतिक दल र तिनमा आवद्ध कार्यकर्ताको व्यवहार अनि चरित्र समेत महत्वपुर्ण मानिन्छ । दलका कार्यकर्ताले राजनीतिक संस्कार बुझेनन्, राजनितिको उद्देश्यलाई बुझ्न सकेनन् भने के हुन्छ ? उनीहरूले राजनीतिलाई आफ्नो रोजगारी वा पेशाको रूपमा बुझ्ने अवस्थाले समाजको विकास र राज्य व्यवस्थाको स्वरुपले आम नागरिक माझ कस्तो रुप ग्रहण गर्दछ । देशको समृद्धि र जनताको खुसीका लागि नागरिक, राजनितिक, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको संकल्पलाई भुलेर दलका कार्यकर्ता उनीहरूको पेशा र रोजगारीको रुपमा बुझ्ने अनि सोही बमोजिमका क्रियाकलापमा संलग्न हुँदै जाने अवस्थाले हामी कस्तो राजनितिक संस्कृतिको विकास गरिरहेका छौ ?
राजनीतिक दल र नेतृत्व बर्गमाझ गम्भीर चिन्तन मनन गर्नुपर्ने समय आएको छ । अन्यथा हाम्रो संलग्नता, योगदान र तत्परताले नत देशको समृद्धि आर्जन गर्दछ
केवल आरोप प्रत्यारोप, आलोचना, बितृष्ण, कलंक र अराजक्ताको पर्यायका रूपमा राजनीति पुग्दछ । राजनितिक व्यवस्था कमजोर बन्ने छ सामाजिक न्याय र राज्यको नागरिक प्रतिको जवाफदेहिता स्खलित बन्ने छ ।
त्यसैले राम्रो प्रगतिशिल राजनीतिक संकल्प सहितको राजनितिक चरित्रको विकासमा सबैले आ–आफ्नो धरातलबाट राजनितिक सुद्धिकरणको अभियान चनाउनै पर्दछ । नत्र हामी सबै गणतान्त्रिक नेपालको संघीय व्यवस्था भित्र गैर राजनीतिक दलदलमा चुर्लुम्म हुने छाँै ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार