
गढीथुम्कास्थित नेपाली सेनाको पशुपतिप्रसाद गणको नयाँ गणपतिमा प्रभात थापा आएका छन् । गणपति असीमदीप गुरुङको सरुवा भएपछि नेपालजञ्जबाट नयाँ गणपतिमा थापा सरुवा भइ आएका हुन् ।
कर्मचारी मिलन केन्द्रले मंगलबार कार्यक्रम आयोजना गरी सरुवा भइ आएका नयाँ गणपति थापालाई इलाममा स्वागत गरेको छ । साथै, सरुवा भइ सैनिक मुख्यालय गएका गुरुङलाई बिदाइ गरेको छ ।
पशुपतिप्रसाद गणमै आयोजित कार्यक्रममा उच्च अदालत विराटनगर, इलाम इजलासका मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेल, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, माइजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डे, सशस्त्र प्रहरी १ नम्बर हेडक्वार्टर गण इलामका एसपी विदुर खड्का, इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठलगायतको सहभागिता थियो ।
दुई वर्ष इलाममा बस्दा गणपति गुरुङले जिल्लाका सबै क्षेत्रसँग आपसी समन्वयमा काम गरेको, तीन तहका निर्वाचन सम्पन्न गराउन नेपाली सेनाको तर्फबाट सहयोग गरेको त्यस अवसरमा वक्ताले बताए ।