इलाम।इलाम नगरपालिका वडा नम्बर ५ ले विहीबार एक कार्यक्रमको आयोजना गरी लक्षित वर्गलाई विभिन्न उपयोगी सामग्री वितरण गरेको छ ।
लक्षित वर्गलाई विनियोजिजत रकमबाट वडा कार्यालयले आधारभूत तह कक्षा–१ देखि ५ कक्षाका दलित विद्यार्थीहरुलाई स्कूल ब्याग, सुस्त श्रवण भएका सात जनालाई श्रवण यन्त्र, वृद्धवृद्धालाई लौरो, पूर्ण अशक्तहरुलाई पोशाक तथा पोषणयुक्त खानेकुरा, राई, लिम्बू, गुरुङ्ग, नेवार, तामाङ्ग, र मगर जातीलाई जातीय पोशाक तथा बालविकास केन्द्र र विद्यालयहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
वडाध्यक्ष ठाकूर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिका प्रमुख महेश बस्नेतले सामग्री प्रदान गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, कार्यपालिकाकी सदस्य सीता रिजाल, वडा सदस्य गृष्म सुब्बा, टंक खत्री, वौद्धिक अपाङ्गता सशक्तिकरणका कमल साम्पाङ्ग, जेष्ठ नागरिकका लक्ष्मी आचार्य लगायतको उपस्थिति रहेको थियो । वडा कार्यालयका कर्मचारी नारायण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा माया तुम्बापोले स्वागत गरेका थिए ।
वडा कार्यालयले लक्षित वर्ग अन्तर्गत यसअघि विभिन्न लक्षित वर्गलाई अभिमुखीकरण तथा तालिमको आयोजना गरेको थियो ।