भोजपुर जिल्लाको बीच बजारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र सादा पोशाकमा खटिएका प्रहरीबीच गोली हानाहान भएपछि जिल्लामा सन्त्रास छाएको छ।
भोजपुर नगरपालिका–७ स्थित हटिया लाइनमा सोमबार विप्लवसमूहका केही कार्यकर्ता हतियारसहित प्रवेश गरेको गोप्य सूचना जिल्ला प्रहरी कार्यालयलाई प्राप्त भएपछि उनीहरुको खोजीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो।
सादा पोशाकमा परिचालित तीनजना प्रहरीले विप्लव समूहका कार्यकर्ताको खोजी गर्ने क्रममा केही व्यक्तिमाथि शंका लागि सोधपुछ तथा चेकजाँच गर्न खोज्दा विप्लव समूहका ओखलढुंगाका इन्चार्ज अन्दाजी ३४–३५ वर्षीय नीरकुमार राईले अचानक गोली प्रहार गरे।
नीरकुमारले शरीरमा लुकाएको पेस्तोल निकाली इलाका प्रहरी कार्यालय लेटाङमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान संजीव राईको कोखामा गोली प्रहार गरी घाइते बनाए।
घाइते संजीवले पनि जवाफी फायरमा विप्लव समूहका नीरकुमारलाई घाइते बनाए। नीरकुमार घाइते अवस्थामा भाग्न खोज्दा त्यहाँ खटिएका अन्य दुई प्रहरीले पक्राउ गर्न खोजेपछि लछारपछार भएको थियो।
नीरकुमार घाइते अवस्थामा भाग्न खोज्दा त्यहाँ खटिएका अन्य दुई प्रहरीले पक्राउ गर्न खोजेपछि लछारपछार भएको थियो।
लछारपछारको क्रममा जिल्ला प्रहरी कार्यालय भोजपुर सञ्चारमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान खेमनाथ भट्टराई र सुरेन्द्र माझी घाइते भएका थिए। प्रहरी जवान भट्टराइको बायाँ कुमको हड्डी भाँचिएको छ भने माझीको अवस्था सामान्य छ। प्रहरीले घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगेको थियो।
उपचारका क्रममा नीरकुमारको ९ बजेर २० मिनेट र प्रहरी जवान संजीवको ९ बजेर १५ मिनेटमा ज्यान गएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले बताए। घटनास्थलबाट विप्लव समूहसँग रहेको ठूलो चाइनिज पेस्तोल एक थान, म्याग्जिन एक थान र त्यसमा लाग्ने ६ राउण्ड गोली प्रहरीले बरामद गरेको छ।
उपचारका क्रममा नीरकुमारको ९ बजेर २० मिनेट र प्रहरी जवान संजीवको ९ बजेर १५ मिनेटमा ज्यान गएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले बताए।
विप्लव समूहका ४–५ जना कार्यकर्ताहरू भागेर फरार भएपछि उनीहरूको खोजीका लागि व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ। घटना जिल्ला प्रहरी कार्यालयबाट करिब सात सय मिटर पर भएको हो।