इलाम, यस बर्षको ‘जसुदा स्मृति प्रतिभा पुरस्कार’ लेखक बालिका थपलियालाई प्रदान गरिने भएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समिति इलामको गत असार ५ गते बसेको बैठकले यस वर्षको पुरस्कार लेखक थपलियालाई वितरण गर्ने भएको हो ।
इलामको देउमाई नगरपालिकास्थित चमैतामा बसेर साहित्यमा साधनारत थपलियालाई नगद १० हजार पाँच सय रुपैयाँ र सम्मान–पत्र सहित सो पुरस्कार वितरण गरिने जनाइएको छ । पुरस्कार असार २९ गते भानु जयन्तीका दिन एक समारोहका बीच वितरण गरिने जनाइएको छ । साहित्यमा सम्भावना बोकेको एक व्यक्तिलाई उत्साह स्वरुप यो पुरस्कार बर्षैनी वितरण गरिने गरेको प्रतिष्ठानका अध्यक्ष विमल वैद्यले जानकारी दिनुभयो ।
अघिल्लो बर्ष यो पुरस्कार युवा पुस्ताका प्रखर कवि अन्वेश थुलुङ्लाई प्रदान गरिएको थियो । इलामकी चेली कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उहाँका पति वरिष्ठ पत्रकार पुष्पराज प्रधानले सो उक्त पुरस्कार स्थापना गर्नु भएको हो ।


918 पटक हेरिएको 






