किरात राई जातिभित्र २८ वटा जति भाषा छन् । त्यसमध्ये सबैभन्दा धेरैले बान्तावा बोल्छन् । यसको साहित्य विकास ज्यादै धिमा गतिमा छन् । ‘म आफू चाम्लिङ हुँ, मेरो मातृभाषाचाहिं बान्तावा बोल्छु र मेरो मावली साम्पाङ हुन्,’ भाषाशास्त्री प्राध्यापक नोवल किशोर राईको ठम्याइ छ, ‘पूर्वमा बान्तावाले मात्र होइन, सबैजसो राईहरुले बान्तावा भाषा नै बोल्छन् । त्यसैले यो भाषा बोल्नेको संख्या धेरै छ ।’
नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभाग र किरात राई बान्तावा खिमले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बान्तावा साहित्य : वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयक गोष्ठीमा उक्त विचार व्यक्त गरेका हुन्। ‘मैले ०२७ सालतिरै तात्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहलमा बान्तावा भाषाको शब्द संकलन कार्य गर्ने मौका पाएको थिएँ,’ भाषाशास्त्री राईले स्मरण गरे, ‘अहिले पनि बहुसंख्यकले बोलिने बान्तावा भाषाको लिखित साहित्य र मुन्दुम लिपिवद्ध हुन सकिरहेको छैन।’
तथ्यांकअनुसार बान्तावा भाषा बोल्नेको संख्या १ लाख ३२ हजार ५ सयभन्दा बढी छन्। ‘वक्ताका हिसाबले बान्तावा भाषा किरात राई समुदायमा धेरैले बोल्ने भाषाको रुपमा चिनिए तापनि साहित्य निर्माण हिसाबले यो भाषा पछाडि छ,’ कार्यपत्र प्रस्तुत ‘बुङवाखा’ मासिक पत्रिकाका सम्पादक पदम राईले भने, ‘यो भाषामा साहित्य सिर्जना कार्य कम छ। शब्द संकलन, संग्रह तथा शब्दकोश लेखनमै अल्झिरहेको र भाषिकाको समस्यालाई कारण मानेर साहित्य सिर्जनामा चाख दिएको पाइन्न।’
तथ्यांकअनुसार बान्तावा भाषा बोल्नेको संख्या १ लाख ३२ हजार ५ सयभन्दा बढी छन्। ‘वक्ताका हिसाबले बान्तावा भाषा किरात राई समुदायमा धेरैले बोल्ने भाषाको रुपमा चिनिए तापनि साहित्य निर्माण हिसाबले यो भाषा पछाडि छ,’ कार्यपत्र प्रस्तुत ‘बुङवाखा’ मासिक पत्रिकाका सम्पादक पदम राईले भने, ‘यो भाषामा साहित्य सिर्जना कार्य कम छ।
बान्तावा साहित्यमा दर्जन कविता कृति प्रकाशित छन्। चौध वर्षदेखि वार्षिक कविता प्रतियोगता हुने गरेको छ। बाल साहित्य कविता कृति एउटामात्र रहेको छ। त्यसैगरी एउटा खण्डकाव्य, पाँचवटा गजल संग्रह प्रकाशित छन। तीनवटा निबन्ध संग्रह, पाँचवटा कथासंग्रह तथा केही रेडियो नाटक कृति प्रकाशित छन्। विगत १४ वर्षदेखि निरन्तर ‘बुङवाखा’ मासिक प्रकाशित छ भने अन्य पत्रपत्रिका बीचैमा बन्द भएका छन्। दुई वर्षदेखि गोरखापत्र दैनिक नयाँ नेपाल पृष्ठमा बान्तावा भाषाको सामग्री छापिदैआएको सम्पादक राईले कार्यपत्रमा उल्लेख गरेका छन्।
प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानअन्तर्गत वितग ९ वर्षदेखि मातृभाषा साहित्य विभाग क्रियाशील रहेको उल्लेख गर्दै मातृभाषामा प्रकाशित कृतिहरुलाई सम्बन्धित समुदायले स्वामित्व लिन सक्नु पर्ने बताए। ‘राजनीतिक परिवर्तनसँगै प्रज्ञा प्रतिष्ठानले मातृभाषा, साहित्य, संस्कृति प्रवर्द्धनलाई प्राथमिकता राखेको छ,’ उनले भने, ‘हामीले गर्दै आएका कार्यलाई मातृभाषी समुदायले खोजी गरेर स्रोत सामग्रीका रुपमा उपयोग गराउन आवश्यक छ।’
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले संविधानको आदेशमात्र पालना गरे धेरै समस्या समाधान हुने बताए। ‘बान्तावा जस्ता अलिखित रुपमा रहेका भाषाहरुको संरक्षण, संवर्द्धन गर्न लोकसाहित्य सामग्री संकलन कार्यलाई प्राथमिकता दिन जरुरी छ,’ समुदायले अंग्रेजीमात्र भाषा भन्ने उल्टो बुझाइ बढेको उल्लेख गर्दै उनले भने, ‘बान्तावा भाषामा रहेका ज्ञानको खानीलाई लोकसंस्कृतिमार्फत खोजी हुनुपर्छ। र डिजिटल प्रक्रिया जानका साथै युवा पिढीको सहभागिता बढाउनु पर्छ।’