इलामका प्रत्येक स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम चलाउँन बजेट विनियोजन भएको छ । तर, कार्यक्रमको कार्यान्वयन मध्येवर्षादको बेला असारमा हुँदैछ । स्थानीय तहहरुले बेरोजगारको फारम संकलन गरेका छन् । अहिलेसम्म रोजगार दिनुपर्ने बेरोजगारहरुको पहिचाननै भइसकेको छैन । बेरोजगार फारम भर्ने मध्येबाट यो वर्ष रोजगार दिनुपर्नेहरुको नामावली वर्ड कार्यालयलाई माग गरिसकेपनि त्यसको सूचि आइनसकेको देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल बताउँछन् । कार्यक्रमको सम्झौतानै ढिलो भएकाले अहिले कार्यान्वयनको चरणमा नपुगेको उनको भनाई छ । ‘कार्यक्रमको सम्झौता नै जेठ ५ गते भयो, अहिलेसम्म रोजगार कार्यक्रमको प्रक्रियामानै छौ,’उनले भने,‘त्यसैले असारमा कामगर्नुपर्ने बाध्यता छ ।’
इलामको सन्दकपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ६ लाख रुपैयाँ विनियोजन भएको छ । विनियोजित रकमको ३० प्रतिशत औजार खरिद गरेर बाँकी ज्यालामा खर्चिनुपर्ने प्रावधान छ । सन्दकपुर गाउँपालिकाले भने यस अघिनै औजार खरिद गरेकाले सवै रकम ज्यालामानै खर्च गरेर कार्यालय भवनको वरिपरी पर्खाल लगाउने तयारी गरेका छन् । थोरै बजेट भएकाले कार्यक्रम खासै प्रभावकारी नहुने गाउँपालिका अध्यक्ष उदय राईको भनाई छ । ‘मलाई त खासै प्रभावकारी होला जस्तो लागेको छैन, कार्यक्रम पनि आर्थिक वर्ष सिद्धिने बेलामा आउँछ,’उनले थपे,‘बेरोजगार फारम भर्ने कार्यालय आसपासकालाई काम लगाउनुपर्ला ।’
इलामको माइजोगमाई गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्ने प्रक्रियामानै रहेको छ । बेरोजगार फारम भरेकाहरुमध्येबाट रोजगार दिनुपर्ने ब्यक्ति छनोटको जिम्मा वडा कार्यालयलाई दिइएको गाउँपालिका अध्यक्ष जेवी राइले बताए । संघीय सरकारबाट भर्खरै मात्रै बजेट विनियोजन भएकाले कार्यक्रमको कार्यान्वयनको लागि अन्य प्रक्रिया पुरा गर्ने चरणमा रहेको गाउँपालिका अध्यक्ष राई बताउँछन् । गाउँपालिकाले प्रधानमन्त्री रोजगारको रकम दिए वर्षादको बेला बाटो सरसफाईको तयारी छ । बर्षातका बेला निर्माणको कामनंै भत्किने भएकाले सरसफाई गरेको साता पनि टिक्न गाह्रो छ ।