इलाम, मालपोत कार्यालय इलाममा अनलाईन सेवा प्रारम्भ भएको छ । ल्याण्ड रेकर्ड इन्फरमेसन म्यानेजमेन्ट सिस्टमको एप्स मार्फत इलाममा अनलाईन सेवा शुरु गरेको हो । भूमी ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालल आइतबार अनलाईन सेवाको प्रारम्भ गरेकी हुन् । अनलाईन प्रणालिबाट बनेको जग्गा धनिपुर्जा जग्गाधनि विन्दुदेवी प्रधानलाई प्रदान गरेर मन्त्री अर्यालले सेवाको प्रारम्भ गरेकी हुन् । जग्गा प्रशासनको कामलाई छिटो र प्रविधिमैत्री बनाउन मालपोत कार्यालयमा अनलाईन सेवा शुरु गरिएको हो । अनलाइन मार्फत जग्गाको राजीनामा पास, अंश वण्डा, वकस लगायतका कामहरु गरिने छ ।
अनलाईन प्रविधिको प्रयोगले जग्गा किर्ते गरेर अर्कैले पास गर्न नसक्ने भएकाले जग्गा किर्तेको समस्या पनि समाधान हुनेछ । अफलाईन ब्यवस्थामा भर्ने जालसाँझ गरेर अर्कैले जग्गा हत्याउनसक्ने सम्भावना हुन्थ्यो ।
अनलाईन प्रविधिमा जनशक्ति समेत कम लाग्ने भएकाले काम छिटो हुन्छ । जग्गाको हदबन्दी, मोही लागेको, कसको नाममा कति जग्गा छ कम्प्युटरबाट थाहा लाग्छ । जग्गासम्बन्धि लिखत तयार गर्नका लागि लेखनदासको आवश्यक पर्दैन । फारम भर्न सक्नेले आफैले आफरम भर्न सक्नेछन् । फारम भर्न नसक्नेले भने अरुको सहायता लिनसक्नेछन् । जग्गाको काम गर्न छुट्टै फारमको विकास गरिएकाले घरैबाट समेत जग्गको काम गर्न सकिने भूमी ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दुवाडीले जानकारी दिए । ‘जग्गाको काम गर्न कति राजश्व लाग्ने हो घरैबाट यकिन गर्न सकिन्छ’–उनले भने–‘जग्गाको प्रकृति अनुसार जग्गाको राजश्व समेत यकिन हुन्छ ।’
अनलाइन प्रणालीको शुरु भएपछि मालपोत कार्यालयको गतिविधि केन्द्रबाटै अनुगमन हुने दवाडीले बताए । ‘मालपोतमा भएका सवै गतिविधि विभाग र मन्त्रीको कार्यकक्षबाट नियाल्न सकिन्छ’–उनले भने–‘यसले मालपोतमा भइरहेका गलत गतिविधि रोक्न सघाउ पुग्छ ।’ यो प्रविधिको प्रयोगले मालपोतमा हुने अनियमिततालाई नियन्त्रण गर्न सकिने भूमी ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्याललको विश्वास छ । शुसासनको बहसमा मालपोत र नापीतर्फ औलो सोझिने भएकाले प्रविधिको प्रयोले शुसाशन कायम गर्न अनलाईन सेवाको प्रारम्भ गरिएको मन्त्री अर्यालको भनाई छ ।
अनलाईन सेवा प्रारम्भ गरेको मालपोत कार्यालय इलामलाई नमुना मालपोत घोषित गरिएको छ । सेवाग्राही मैत्री संरचना र वातावरण तयार पारेर कार्यालयलाई नमुना मालपोत घोषणा गरिएको जनाइएको छ ।