
इलाम।इलाम नगरपालिकाका उपप्रमुख सुशीला नेम्बाङ्गले केही दिनअघि प्रेस विज्ञप्ती जारी गर्दै प्रमुखले आफ्नो क्षेत्राधिकार मिचेको आरोप लगाए लगत्तै पुनः प्रमुख महेश बस्नेतले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका छन् ।
आफ्नै कार्यकक्षमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रमुख बस्नेतले उपप्रमुख नेम्बाङ्गको आरोप निराधार र कपोकल्पित रहेको बताएका छन् । आइतबार विहानै बसेको कार्यपालिकाको बैंठकले समेत नेम्बाङ्गको आरोप निराधार र कपोकल्पित रहेको भन्दै खेद व्यक्त गर्ने निर्णय गरेको प्रमुख बस्नेतले बताए । ‘हामीले नगरपालिकालाई मुडको भरमा होइन, संविधान ऐन कानुनबाट निर्देशित भएर चलाउने हो ।’ प्रमुख बस्नेतले पत्रकारहरुसँग भने, ‘उपप्रमुखको अधिकार स्थानीय सरकार सञ्चालन ऐनले प्रष्ट पारेको छ, त्यसमा हस्तक्षेप गर्ने कुरै भएन ।’ इलाम नगरपालिकालाई ऐन कानुन अनुसार सञ्चालन गर्नका लागि स्थानीय सरकार आफैंले थुप्रै कानुनहरु बनाएको र उपप्रमुखलाई सहज होस भनेर समेत धेरै कानुनहरु बनाएको पनि प्रमुख बस्नेतले बताए ।
शुरुको वर्ष आफूले पूरानो गाडी चलाएर भएपनि ३९ लाखको गाडी उपप्रमुखलाई खरिद गरिदिएको प्रमुख बस्नेतको भनाई छ । उपप्रमुखको सेवा सुविधामा कुनै कञ्जुस्याँई नगरेको बरु उनको नेतृत्वमा रहेको समितिलाई आर्थिक, भौतिक तथा प्रक्रियागत रुमपा अझ दर्विलो बनाउने प्रयास गरेको प्रमुख बस्नेतले बताए । उपप्रमुखले बैंठक र सभामा अनुपस्थित रहेर संस्थागत अनुशासनसमेत उलंघन गरेको प्रमुख बस्नेतले बताए । ‘उपप्रमुखको नेतृत्वमा रहेको समितिहरु निष्कृय छन् ।’ प्रमुख बस्नेतले भने,‘न्यायिक समिति पनि दुई जना सदस्यले राजिनामा दिएपछि संवैधानिक जटिलताका कारणले अड्किएको छ ।’
उपप्रमुखले भनेजसरी बजेट बाँडफाँटमा पनि कसैलाई पहुँचको आधारमा वितरण नगरेको उनले बताए ।
उपप्रमुख नेम्बाङ्गले भने ऐन कानुनले क्षेत्राधिकार प्रमुखले हस्तक्षेप गरेको भन्दै कार्यपालिकाको बैंठक बहिष्कार गरेर आन्दोलन गरिरहेको बताएकी छिन् ।


1758 पटक हेरिएको 






