गाउँपालिकामा सेवाग्राहीको चाप बढ्दै

  गोविन्द लामिछाने

 782 पटक हेरिएको

 किसानलाई असारको चटारो भनेझैं कार्यालयमा यतिबेला विकास निर्माणको भुक्तानीको चटारो छ । यस्तै चटारो परेको छ जिल्लाको पश्चिमी फाकफोकथुम गाउँपालिकालाई । कर्मचारी अभावका बाबजुत पनि यस गाउँपालिकाले सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा प्रदान गरिरहेको छ ।
चालु आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन भईसकेका योजनाहरूको धमाधम भुक्तानी भईरहेको छ । कार्यालयमा एक जना प्रमुख प्रशासकीय अधिकृत, एकजना सहलेखापाल, योजना शाखामा एक जना तथा प्राविधिक शाखामा चार जना कर्मचारीले सिङ्गो गाउँपालिका धानिरहेका छन् । गाउँपालिकामा यतिबेला विभिन्न क्षेत्रको भुक्तानी लिन आउने सेवाग्राहीको चाप बढेको छ । दैनिक जसो १५÷२० वटा योजनाको भुक्तानीका लागि उपभोक्ता समितिका पदाधिकारीहरू आईरहेका छन् ।
गाउँपालिकामा सडक, विद्युत, खानेपानी, सिंचाईलगायत पूर्वाधारका साथै अन्य विभिन्न कामको समेत भुक्तानीका लागि सेवाग्राहीको चाप छ । भर्खरै लोकसेवा आयोगले देशभर १४ हजार कर्मचारीको विज्ञापन खुलाएपनि यस गाउँपालिकाका लागि कर्मचारी आउने देखिएको छैन् । गाउँपालिकामा २८ जना कर्मचारीको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिनुभयो । ‘थोरै कर्मचारी भएपनि सेवाग्राहीको काममा हामीले कुनै कसुर बाँकी राखेका छैनौं, उहाँले भन्नुभयो ‘सेवाग्राहीका कामलाई गाउँपालिकाले प्राथमिकता दिएर सम्पन्न गरेका छौं ।’
गाउँपालिकामा तीन जना सचिवले सात वटा वडा कार्यालय सञ्चालन गरिरहेका छन् । प्राविधिकले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहेका छन् । कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर विक्रम चौहान पनि योजना शाखामा व्यस्त हुनुहुन्छ । योजना शाखाका प्रमुख तिलविक्रम लिम्वूले गाउँपालिकाको स्टोर शाखाको समेत जिम्मेवारी सम्हालिरहनुभएको छ । दुई जना कार्यालय सहयोगीले पनि योजना शाखाको काम गरिरहेका छन् । योजनाको दर्ता चलानीदेखि लिएर विभिन्न काम गरिरहेका छन् ।
लेखा शाखामा लेखाअधिकृतसहित लेखापाल र सहलेखापालको दरबन्दी रहेपनि सहलेखापाल मधुर नेपालीले लेखा शाखामा दिनरात नभनी काम गरिरहनुभएको छ । यसअघिका लेखापाल खेगेन गुरूङको पाँचथरमा सरूवा भएपछि लेखाशाखामा कामको चाप बढेको हो । लेखापाल गाउँपालिकामा खासै नबस्ने कारणले जनगुनासो बढ्नुका साथै योजनाको भुक्तानीको काम जुन गतिमा अघि बढ्नुपर्ने हो त्यो गतिमा अघि बढ्न नसकेको सेवाग्राहीको गुनासो छ । सहलेखापाल नेपाली नियमित रूपमा गाउँपालिकामा बसेर योजनाको भुक्तानी दिन थालेपछि सेवाग्राहीको चाप बढेको हो । आर्थिक वर्षको अन्त्य भएकाले गाउँपालिकाले सञ्चालन गरेका योजनाहरूको भुक्तानी लिन आउने सेवाग्राहीको दिनप्रतिदिन चाप बढेको सहलेखापाल मधुर नेपाली बताउनुहुन्छ । प्रक्रिया पुगेर आएका सेवाग्राहीको काम रत्तिभर ढिला नगरी गरेका छौं, सहलेखापाल नेपाली भन्नुहुन्छ ‘कर्मचारी अभावका बाबजुत पनि खटेर जनताको काम गरेका छौं ।’
प्राविधिक शाखामा पनि सेवाग्राहीको भीड छ । योजनाको बील बनाउने र योजनाको भुक्तानीका लागि योग्य छ छैन् भनेर उपभोक्ता समितिका पदाधिकारी आउँछन् । एकैपटक धेरै योजनाको भुक्तानीका लागि आउँदा कहिलेकाही सेवाग्राहीले नै शाखा भरिन्छ, गाउँपालिकाका असिस्टेन्ट सव ईञ्जिनियर केशव पौडेल भन्नुहुन्छ ‘सेवाग्राहीको कामले सुत्न समेत पाईंदैन् ।’ बील बनाउनेदेखि लिएर सम्पन्न भएका योजनाको अनुगमन गर्नुपर्दा दिनरात नभनि खट्नुपरिरहेको उहाँले बताउनुभयो । प्राविधिकहरू व्यस्त भएकाले एक÷दुई दिनसम्म पनि पालो पर्खनुपर्ने उपभोक्ता समितिका पदाधिकारीहरू बताउँछन् । प्राविधिक शाखामा ईञ्जिनियर कुशल खनाल, सव ईञ्जिनियर बमबहादुर राई, असिस्टेन्ट सव ईञ्जिनियर सिताराम पौडेल र केशव पौडेल तथा वडा नं. २ मा प्राविधिक लक्ष्मी शर्मा वडा सचिवको समेत काम गरिरहेका छन् । एक जना प्राविधिकले दुई÷दुई वटा वडाको जिम्मेवारी सम्मालिरहेका छन् ।
सूचना अधिकृत नारायण थापा मगरले पनि तथ्याङक अद्यावधिक गर्ने देखि लिएर विविध काम गरिरहनुभएको छ । आफ्नो जिम्मेवारीका साथै गाउँपालिकाका अन्य विभिन्न काम पनि गरिरहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार