सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री र सांसदको तलव वृद्धि गरेको छ ।
विभिन्न श्रेणीका राजपत्रांकित र राजपत्रअनंकित कर्मचारीको तलबमा क्रमशः १८ र २० प्रतिशतका दरले तलब वृद्धि गरेसँगै राष्ट्रपतिदेखि सांसदको तलबमा समेत वृद्धि भएको हो ।राजपत्रांकितको तलब १८ प्रतिशतका दरले वृद्धि भएसँगै राष्ट्रपतिको तलबमा २७ हजार रुपैयाँ र सांसदको तलबमा ९ हजार रुपैयाँ वृद्धि भएको छ ।
हाल राष्ट्रपति विद्यादेवी भण्डारीको मासिक तलब १ लाख ५० हजार ४ सय ५० रुपैयाँ रहेको छ । १८ प्रतिशत वृद्धि हुँदा २७ हजार ८१ रुपैयाँ तलब बढेपछि राष्ट्रपति भण्डारीको तलब साउन महिनादेखि लागू हुने गरी १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुगेको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनको तलबमा १९ हजार ४ सय ४५ रुपैयाँ मासिक थप भएको छ । हाल १ लाख ८ हजार ३० रुपैयाँ तलब पाउँदै आएका पुन आगामी साउनदेखि १ लाख २७ हजार ४ सय ७५ रुपैयाँ पाउने छन् ।
बजेट वक्तव्य अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको मासिक तलब तलब १३ हजार ९ सय १० रुपैयाँ बढेको छ । योसँगै ओलीले आगामी साउनदेखि ९१ हजार १ सय ९० रुपैयाँ पाउने छन् । हाल प्रधानमन्त्री ओलीको तलब ७७ हजार २ सय ८० रुपैयाँ रहेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत सभामुखको तलब पनि वृद्धि गरेका छन् । तलब वृद्धिसँगै सभामुख कृष्णबहादुर महराको तलब ७९ हजार ४ सय ३८ रुपैयाँ पुगेको छ । उनको तलबमा १२ हजार १ सय १८ रुपैयाँ वृद्धि भएको छ । हाल उनको तलब ६७ हजार ३ सय २० रुपैयाँ रहेको छ ।
उपप्रधानन्त्रीको तलबमा ११ हजार सय ३६ रुपैयाँले वृद्धि हुँदै ७६ हजार ९ सय ३६ रुपैयाँ पुगेको छ । हाल उपप्रधानमन्त्रीको तलब ६५ हजार २ सय रुपैयाँ छ ।
बजेट वक्तव्यमार्फत सरकारले मन्त्री र सांसदको तलब समेत वृद्धि गरेको छ । यसअघि ६० हजार ९ सय ७० रुपैयाँ मासिक तलब लिँदै आएका मन्त्रीको तलब ७१ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ ।
हाल ५५ हजार २ सय ३० रुपैयाँ मासिक तलब लिँदै आएका सांसदको तलब ६५ हजार १ सय ७१ रुपैयाँ पुगेको छ । सरकारले बजेटमार्फत निर्वाचन क्षेत्र स्थानीय विकास साझेदारी कार्यक्रमका नाममा सांसदलाई दिँदै आएको रकम ४ करोड रुपैयाँबाट वृद्धि गरेर ६ करोड रुपैयाँ पुर्याएको छ ।