धादिङ/प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् ।
धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
“जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ ” प्रधानमन्त्री ओलीले भने “देश विकासको गति दुई गियरमा छ भने तीनमा पु¥याउछ । तीनमा छ भने चारमा पु¥याउछ ।”
प्रधानमन्त्री ओलीले मध्य पहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए । “हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं ” प्रधानमन्त्री ओलीले भने “सूचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ । ”
प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभई आमूल परिवर्तन गर्न चाहेको बताए । “सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन, विविध क्षेत्रमा सामान्य सुधारको कामसँगै आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ ।” प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबैभन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको दाबी गरे । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी केही बर्ष भित्रै नेपाललाई तिव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौं ” प्रधानमन्त्री ओलीले भने ।


341 पटक हेरिएको 






