इलाम, ः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ठूलो टुटफुट पछि एकीकरण हुँदै गरेका कम्युनिष्ट पार्टी अब एकतामा बाधिन थालेको बताएका छन् ।
आज मदन–आश्रित दिवसको अवसरमा इलाम आइपुग्नु भएका मन्त्री विष्टले मदन भण्डारी र जीवराज आश्रितको योगदान गर्न पनि कम्युनिष्ट पार्टी एकताको बाटो हिडेको बताए । विश्वमै लोप हुने अवस्थामा पुगेका कम्युनिष्टलाई नेपालमा स्थापना गरेर प्रतिस्पर्धी र तत्कालीन राज्यसँग लड्न सक्ने बनाउने मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको लागि अतुलिय रहेको समेत मन्त्री विष्टले उल्लेख गरे ।
मदन–आश्रितकै अथक प्रयासले जन्मिएको पार्टीलाई अहिलेको सरकारले कार्यान्वयन तर्फ लगेको समेत विष्टको भनाइ छ । ‘वर्तमान कम्युनिष्ट सरकार पनि मदन–आश्रितकै जगबाट निर्माण भएको हो’ विष्टले भने,‘हामी अबको चारबर्षमा नयाँ काम गरेर जनतासम्म पु¥याउने छौँ ।’
उनले एक वर्षमा सरकारले सामान्य असन्तुष्टि पैदा हुने काम गरेपनि अबका दिनमा मुलुकमा समान विकासको अवधारणा ल्याउने समेत बताए । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सरकारका विरुद्धमा लागि परेका छन् ।’ मन्त्री विष्टले भने,‘जनताको एकता कायम रहेसम्म यो सरकार रही रहन्छ ।’
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता समेत रहेका मन्त्री विष्टले निर्वाचनका समयमा गरेका बाचा सबै पूरा गर्ने पनि प्रतिवद्धता गरे । ‘निर्वाचनका बेला हामी एमाले र माओबादी थियो । तर, अब पार्टीभित्र एमाले र माओबादी भन्ने शब्द इतिहासमा सीमित भएको छ ।’ विष्टले थपे,‘हामी सामूहिक रूपमा जनतासमक्ष गरेका बाचा गर्ने क्रममा छौ । हामी जनताको मत विर्सदैनौ ।’
उनले पार्टीको एकता भएपनि आधारभूत तहसम्म एकीकरण गर्न एक वर्ष लागेको भन्दै सामान्य एकीकरणका काम भने केही समयमै हुने बताए । गरिबी, अभावबाट बाचिरहेका जनताको विकासकै लागि वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली नारा’ ल्याएको उल्लेख गरे ।
नेकपाका अध्यक्ष रामबहादुर मगर(राना)को अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय नेता मदन–आश्रितको फोटोमा माल्र्यापर्ण समेत गरिएको थियो ।


702 पटक हेरिएको 






