इलाम,सन्दकपुर गाउँपालिकास्थित जमुनाका केवल राई बिहान ६ बजेभन्दा पहिले नै किसानका गोठ–गोठमा पुग्छन् । आफ्नो गोठको गाईको दूध दोहेर घरकै डेरीमा खन्याएपछि उनी अरूका गोठमा पनि दूध लिन पुग्ने गर्छन् । गाउँका दुई जनासहित केवल मिलेर गाउँभरिको दूध सङ्कलन गर्छन् र दिउँसो घरमै दूध पेलेर घीउ र छुर्पी बनाउँछन् ।
घरमै डेरी सञ्चालन गरेका केवलले एक दिनमा २५० लिटर दूध पेल्नु हुन्छ र त्यहाँबाट बनेको छुर्पी र घीउ बेच्छन् । केवलले डेरी मात्र नभई ‘होलिस्टेन’ जातका चारवटा गाईसमेत पालेका छन् । गाउँमै गाई फार्म र डेरी चलाएका केवल अहिले यसैमा सन्तुष्ट छन् । यसैबाट उनको घर खर्च चलेको छ भने केही रकम लगानीसमेत गरेका छन् ।
लामो समय विदेश बसेर गाउँ फर्केका केवल फेरि विदेशिने मनसायमा पनि छैनन्। राम्रो आम्दानी गरेर गाउँमै केही गर्ने सोच पालेका केवल गाउँका अन्य युवालाई पनि विदेश नजान सल्लाह दिन्छन् । “यही सानो डेरीबाटै म महीनामा ३०–३२ हजार मज्जाले कमाइरहेको छु,” विगतको सशस्त्र द्वन्द्वको जगजगीले २५ वर्षकै उमेरमा विदेश जानुपरेको व्यथा सुनाउँदै केवल भन्छन् – “माओवादी द्वन्द्वकै कारण विदेश लागियो । कमाई पनि सामान्य भयो नै तर, गाउँमै केही गरौ भनेर यसमा लागेको हुँ ।” गाउँका अन्य गाई फार्म चलाउने किसानसँग मिलेर केवल अहिले जिल्लालाई खोरेतमुक्त पार्ने योजनामा छन् । विदेशमा नेपालको छुर्पी तथा घीउ बेच्दा पनि गाईमा खोरेत भए नभएको बुझ्ने भएकाले खोरेतमुक्त गर्न अभियान शुरु गरेको उनी बताउँछन् ।
“हामी धेरैजसो यहाँ उत्पादित घीउ, छुर्पी जापान पठाउँछौँ,” उनले भने – त्यहाँ खोरेत रोग लागेको गाईको दूध किन्दैनन् । त्यसैले हाम्रो ठाउँलाई खोरेतमुक्त गर्नुपर्छ ।”
इलामको जमुनामा मात्र अहिले १९ वटा डेरी उद्योग सञ्चालनमा रहेको स्थानीय कुमार गुरुङले जानकारी दिए। जमुनाको एउटा गाउँमा मात्र पाँच डेरी उद्योग सञ्चालित छन् । सीमा क्षेत्रका डेरीले उत्पादन गरेको छुर्पी, घीउ जिल्लाका विभिन्न बजार र भारतको दार्जिलङ, मिरिक, सिलिगुढीसम्म पुग्ने गरेका छन् ।
यस्तै, फाकफोकथुम गाउँपालिकास्थित साप्तीनका कमल शर्माले पनि नौ वर्ष अघि घरमै डेरी र गाई फार्म थाले । राम्रो आम्दानीको आशा राखेका कमलले सोचे जस्तो कमाइ नभएपछि एक वर्षपछि नै मलेसिया हान्एि । भाइ किशोर शर्मालाई डेरी र फार्मको जिम्मा दिएर विदेशिनु भएका कमल करीब सात वर्ष उतै बसे।
लामो समय विदेशमा रहे पनि अपेक्षाकृत कमाइ नभएपछि कमल फेरि गाउँ फर्किएर पुरानो व्यवसाय शुरु गरे। त्यस बेला ५० हजार रुपैयाँ लगानीबाट शुरु गरेको फार्म अहिले २५ लाखको भएको छ भने डेरी पनि १५–१६ लाख रुपैयाँको भएको छ । फार्ममा ठूलै खालका छ वटा गाई छन् भने डेरीमा पनि अरू तीन जना कामदार राखेर उनी काम गरिरहेका छन् । कमल आफ्नो गाई फार्म र डेरीबाट अहिले सन्तुष्ट हुनुहुन्छ । भर्खरै विवाह समेत गरेका उनको घर खर्च टार्ने माध्यम मात्रै होइन सबथोक नै डेरी र फार्म हो । “अहिले त प्रदेशमा १० लाखको प्रपोजल हालेको छुँ, त्यो पर्यो भने तीन वटा गाई थप्ने योजनामा छुँ,” कमलले भने –“गाईको मलमूत्रबाट हुने सब्जी खेती पनि थालेको छु । सबै थोक गर्दा त कसरी कमाइ नहोला ?”
कमल डेरीमा अहिले घरको सहित २५० लिटर दूध पेल्छन् । त्यसबाट उत्पादित छुर्पी विदेश पठाउँछन् भने घीउ गाउँकै बजारमा बेच्छन् । लामो समय विदेश बसेका कमल फेरि विदेशिने सोचमा हुुनुहुन्न । उनि भन्छन् – “विदेशमा गर्ने परिश्रम जति यही गरियो भने कमाइ राम्रै गरिन्छ । दुःख जहाँ पनि गर्नै पर्छ ।” उनले थप्दै भने – “विदेश जान लाग्ने लगानी चाहीँ यही खन्याइयो भने परिवारसँगै बसेर दुःखसुख गर्न पनि हुन्छ ।”
केवल र कमल मात्र होइन । यहाँका धेरै युवा विदेशिनुको सट्टा गाउँमै उद्यम गर्नतिर लागेका छन् । उनीहरू गाउँमै लगानी गर्छन् र गाउँमै काम गर्छन् । पछिल्लो समय त स्थानीय तह, सम्बन्धित सङ्घ संस्थासँग समन्वय गरेर काम गर्न थालेका छन् उनीहरुले । यसले गर्दा केही लगानी अन्यत्रबाट पनि थपिने गरेको छ । केहीले तालीम समेत लिने गरेका छन् । विशेष गरी युवा पछिल्लो समय डेरी उद्यमतर्फ आकर्षित भएको पाइएको छ ।
युवा व्यवसायीलाई उत्प्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएपछि धेरैजसो फार्म र डेरी उद्योग शुरु भएको घरेलु तथा साना उद्योग विकास समितिका नायब सुब्बा खड्ग बस्नेतले बताए । विभिन्न निकायबाट अनुदान पनि पाइने र उद्यमशीलतासम्बन्धी स्तरोन्नतिको तालीम दिइनाले त्यसप्रति आकर्षण बढेको बस्नेतको भनाइ छ । यसै आर्थिक वर्षमा मात्रै पनि घरेलुबाट १२ वटा तालीम दिइसकिएको छ । “हामीले दिने तालिमबाट डेरी उद्यमीहरूको क्षमता विकास पनि हुने र सहुलियतमा ऋण पाउन पनि सकिने भएकाले धेरै जना तालीम दिनुहोस् भन्दै आउनुहुन्छ,” बस्नेतले भने – “अन्य कार्यालयमा दर्ता गर्न पनि घरेलुको तालीम दिइएको प्रमाणपत्र चाहिने भएकाले धेरै युवा तालीम लिएर नै उद्यममा लाग्ने गरेका छ ।”
उनका अनुसार कार्यालयले वैदेशिक रोजगारीबाट आएका युवालाई विशेष प्राथमिकतामा राख्ने भएकाले पनि एक पटक पलायन भएका युवा आएर उद्यमी बन्ने गरेका छन् । विशेष गरी छुर्पीमा थोरै लगानीले धेरै आम्दानी गर्न सकिने भएकाले पनि त्यसतर्फ आकर्षण बढेको बस्नेत बताउँछन् । कार्यालयबाट पनि उद्यमशीलताका साथसाथै दुग्ध परिकार बनाउने शीप सिकाउने र उद्यमशीलताबारे परामर्श दिने गरिएको छ । तालिम लिन खर्च नलाग्ने र तालीम पछि सजिलै काम गर्न सकिने भएकाले युवाको आकर्षण यसप्रति बढेको हो । तालीम मात्र नभई प्रविधि किन्न पनि कार्यालयले आर्थिक सहयोग दिन्छ ।
इलाममा अहिलेसम्म २०० वटा डेरी उद्योग दर्ता भइसकेको घरेलु तथा साना उद्योग विकास समिति इलामले जनाएको छ । आव २०७४÷७५ मा २४ वटा उद्योग दर्ता भएकामा २०७५-७६ मा २२ नयाँ उद्योग दर्ता भएका छन् । नासु बस्नेतका अनुसार चालु आर्थिक वर्षमा अझै डेरी दर्ता हुने समय रहेकाले गएको वर्षमा भन्दा बढ्ने अनुमान छ । वर्षको अन्त्यमा बढी उद्योग दर्ता गर्ने गरिएकाले यस वर्ष पनि उल्लेखनीय रूपमा डेरी बढेको बस्नेतको भनाइ छ । उहाँले भन्नुभयो – “हामीले गाउँ–गाउँमा सीप सिकाउन तालिम दिने गरेकाले ग्रामीण क्षेत्रमा डेरी खोल्ने क्रम बढेको छ ।”
जिल्लाका सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा बढी डेरी उद्योग सञ्चालनमा रहेको कार्यालयको तथ्याङ्कले देखाउँछ । हालसम्म सूर्योदय नगरपालिकामा १५ वटा र सन्दकपुर गाउँपालिकामा २० वटा डेरी सञ्चालनमा छन् । विशेष गरी विदेशबाट गाउँ फर्केका युवाले डेरी उद्यममा चासो देखाएको देखिन्छ ।