वैदिक सनातन धर्मको रक्षाका साथै स्थानीय स्तरको पर्यटकीय प्रवद्र्धनका लागि यहाँस्थित सन्दकपुर गाउँपालिकाको सलुबुङमा गुरु योजना बनाएर काम गरिदै आएको छ । विकट इलामको उत्तरी क्षेत्रमा अवस्थित पर्यटकीय तथा धार्मिकस्थल ओझेलमा परेकाले पर्यटकीय विकाशमा सघाउ पु¥याउनका लागि गुरु योजना निर्माण गरिदै आएको हो ।
विकासका सम्भावित क्षेत्र भएपनि भौतिक तथा पूर्वाधार अभाव हुँदा पर्यटक नपुगेको भन्दै स्थानीयले सुलुबुङको हुतुलुङमा पाठशाला र मन्दिर निर्माण गरेका छन् । पाठशालामा १३ जना बालबालिका पढ्दै आएका छन् भने मन्दिर आउँदो वर्ष सम्म हुने गरि काम गरिदै आएको छ ।
१० वर्षे गुरुयोजनामा छात्रवास, यज्ञ मण्डव, पञ्च धारा निर्माण गौशाला निर्माण गरिने छ भने धार्मिक पुस्तकालय राखिने निर्माणाधिन नर्मदेश्वर मन्दिरका सल्लाहकार शंकर सुबेदीले जानकारी दिनुभयो । ‘हामी नेपालीहरू धर्ममा बढी विश्वास गर्छौ । यात्रा पनि धार्मिक नै बढी गर्ने गरेको छौ ।’ सुबेदीले भन्नुभयो,‘हामी यस ठाउँलाई धार्मिक क्षेत्र बनाउन लागेका छौँ ।’
उहाँका अनुसार निर्माणाधिन मन्दिर रु ४० लाखमा सम्पन्न हुने छ भने ५० लाखको सत्सङ्ग भवन निर्माण गरिने छ । यसका लागि गत वर्षदेखि एक करोडको अक्षय निर्माणका लागि रकम सङ्कलन गर्ने काम शुरु गरिएको जनाइएको छ ।
यस क्षेत्रलाई धार्मिक ‘अनुष्ठान’ निर्माण गरेर पर्यटकीय क्षेत्र समेत बनाउने योजना रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेत्र रिजालले जानकारी दिनुभयो । ‘हाम्रो यो क्षेत्रलाई चिनाउनका लागि पनि यो प्रयास हामी गर्दैछौं । हाम्रो यो क्षेत्र पर्यटकीइ दृष्टिकोणले पनि भरिभराउ रहेको छ’ रिजालले भन्नुभयो,‘सरकारका एक सय पर्यटकीय क्षेत्रमा पर्ने माईपोखरी, टोड्के झरनालगायतका प्रख्यात ठाउँ भएपनि प्रचार नहुँदा शून्य भएको छ । ती क्षेत्रलाई समेत समेटेर अघि बढ्ने गरि गुरु योजना निर्माण गरेको छौँ ।’
यस ठाउँ हिन्दूहरूको महत्वपूर्ण क्षेत्र बनाएर बालबालिकालाई आफ्नो धर्मको जानकारी गराउन आफूले काम गर्दै रहेको रिजालको भनाइ छ । गुरु योजनामा मन्दिर निर्माणपछि मन्दिर र पाठशालामा के काम कसरी गरिन्छ भन्ने बारेमा समेत जानकारी गराइने उहाँले जानकारी दिनुभयो ।
पूर्वी क्षेत्रकै पहिलो शिवलिङ्ग स्थापना
पूर्व क्षेत्रकै पहिलो पटक आज एक कार्यक्रमका बीच यस मन्दिरमा शिव लिङ्ग स्थापना गरिएको छ । आज विधिवत् रूपमा गणेश पुराण लगाएर उक्त शिव लिङ्गको स्थापना गरिएको हो । शिव लिङ्ग करीब एक फिट लम्बाईभएको पथ्थरबाट बनेको छ । सबैको कल्याण र धार्मिक सहिष्णुताको सन्देश फैलाउँदै शिव लिङ्ग स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रिजालको भनाइ छ । पितृको उद्दारसँगै भावी सन्ततिको समेत शान्तिको कामना गर्दै शिव लिङ्ग स्थापना गरिएको जनाइएको छ । यो किसिमको शिव लिङ्ग अन्य पूर्वी क्षेत्रमा नगरिएको र पूर्वकै पहिलो शिव लिङ्ग रहेको धर्म गुरु व्यासाचार्य किशोर गौतमले जानकारी दिनुभयो । ‘यो किसिमको शिव लिङ्ग पूर्वी क्षेत्रमै दुलर्भ हो । कही पनि निर्माण भएको छैन ।’ गौतमले भन्नुभयो,‘यसको दर्शनका लागि पनि धेरै पर्यटक भित्र्निे सम्भावना रहेको छ ।’
स्थानीय सर्वसाधारणसँगको नगद सङ्कलन गाउँपालिकाको सहयोगसँगै दाताहरूको समेत सहयोगले मन्दिर निर्माण कार्य गरिदै आएको जनाइएको छ ।