इलाम । लोपोन्मुख लेप्चा जातिको संस्कृति र भाषा जोगाउनका लागि यहाँस्थित रोङ गाउँपालिकाले अब विद्यालयमा लेप्चा भाषा पढाउने भएको छ । बोलीचालीमा मात्र प्रयोग हुने भाषालाई औपचारिक बनाउँदा पछिल्लो पुस्तामा समेत भाषाको ज्ञान बढ्ने भएकाले गाउँपालिकाले विद्यालयमा पढाउने तयारी थालेको हो ।
गाउँपालिकाले भाषा पढाउन पाठ्यक्रम तयारी सुरु गरेपनि शिक्षक अभाव भएपछि आउँदो वर्षदेखि मात्र सञ्चालन हुने भएको छ । स्थानीय स्तरमा विद्यालय शिक्षाका लागि भाषाको शिक्षक अभाव हुँदा यस वर्ष पढाइ हुन नसकेको गाउँपालिका अध्यक्ष शमसेर राईले जानकारी दिए । स्थानीय स्तरमा भाषाको ज्ञान भएको शिक्षक नभएपछि गाउँपालिकाले भारतका लेप्चा समुदायको पहुँच भएको क्षेत्रबाट शिक्षक ल्याउने तयारी हुँदै रहेको अध्यक्ष राईको भनाइ छ ।
‘हामी भारतीय क्षेत्र दार्जिलिङ, सिक्किमबाट भाषा बढाउने शिक्षक ल्याउदै छौँ ।’ अध्यक्ष राईले भन्नुभयो,‘कम्तीमा पनि एक देखि पाँच कक्षा सम्म पढाउन सक्ने भएमा हुन्छ शुरुमा ।’ गाउँपालिकाको भारत भ्रमणको क्रममा भारतीय लेप्चा विद्यालयको बारेमा बुझेको र आफ्नो क्षेत्रमा समेत भाषा पढाउन सकिने बुझेपछि सो काम सुरु गरिएको अध्यक्षले बताए । ‘भारतमा लेप्चा भाषाकोे पाठ्यपुस्तक तयार भई उच्च तह सम्म अध्ययन भइरहेको छ ।’
संग्रहालय निर्माण सुरु
गाउँपालिकाले लेप्चाको संस्कृति जर्गेना गर्नका लागि २० बर्षे कार्यनीतिक योजना निर्माण गरेको छ । गाउँपालिकाले योजना अन्तर्गत सोही समयभित्र लेप्चा संग्रहालय र लेप्चा खाद्यन्नको ‘होमस्टे’ समेत निर्माण गर्न लागेको छ । आउँदो पाँच बर्षभित्रमा संग्रहालय निर्माण सकिने गरि काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
‘लेप्चाको सामग्री मात्रै राखेर संग्राहलय बनाउने काम त सहज छ तर हामी त्यो भन्दा व्यापक तरिकाले निर्माण गर्ने छौँ’ राईले भने, ‘संग्रहालय बनाउँदा उनीहरुको परम्परा नमर्ने र कस्तो बस्तु प्रयोग गर्दा सहज हुन्छ त्यसका बारेमा विज्ञ टोलीसित छलफल गरेर हामी संग्रालय निर्माणमा लाग्ने छौं’ । रोङ गाउपालिकाको ६ वटै वडामा गरेर जम्मा २ सय ३४ घरधुरी लाप्चा परिबारको बसोबास रहेको मध्ये २ सय २४ घर बौद्ध धर्मावलम्बी र १० घर इशाइ धर्म मान्ने गर्दछन् ।
तथ्यांक अनुसार रोङ गाउँपालिकामा ५ सय ३७ जना पुरुष र ५ सय २३ जना महिला गरी लाप्चाको जनसंख्या १ हजार ६० रहेको छ । नेपालमा रहेको लाप्चाहरुको जनसख्याको २८ दशमलब ९० प्रतिसत लाप्चा रोङ गाउपालिकामा बसोबास गरेको तथ्यांकले देखाएको छ ।


823 पटक हेरिएको 






