चिया मजदुरको माग सुनुवाई भएन

चिया बगान २६ दिनदेखि बन्द

  सरलपाटी सम्वाददाता

 2283 पटक हेरिएको

इलाम। चिया श्रमिकहरुको आन्दोलनका कारण सांघईले सञ्चालन गरेका कारखाना र बगानहरु २६ दिनदेखि बन्द छन् ।
चिया श्रमिकहरुले श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने र श्रावणदेखि वृद्धि भएको ज्याला पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चरणवद्ध आन्दोलनमा उत्रिएका चिया मजदुरहरुले चैत १७ गतेदेखि अनिश्चितकालिन हड्ताल शुरु गरेका थिए । उनीहरुले हड्तालसँगै विरोधका विभिन्न कार्यक्रम गर्दै आएका छन् । झापा र इलामका चिया मजदुरहरुको आन्दोलनका कारण सांघाईका सात वटा बगान र अन्य केही निजी बगान र कारखानाहरु बन्द छन् । गुणस्तरीय चिया उत्पादन हुने यही सिजनमा लामो समयसम्म बन्द भएका कारण कारखानाहरुलाई लाखौं नोक्सानी भइरहेको छ ।
सुर्योदय नगरपालिकाका चिया उद्योगहरुको संगठन सुर्योदय टि प्रोड्युसर्स एशोसिएशनले भने मजदुरहरुको माग कार्यान्वयन गरेको छ । झापा मेची नगरपालिकाका राज टी स्टेट र ज्यामिर गढीले पनि श्रमिकको माग अनुसारको सेवा सुविधा दिएको छ । तर, निगमको चिया बगान ५० वर्षका लागि लिजमा लिएका सांघाईले भने मजदुरको मागलाई वेवास्ता गर्दै आएको छ ।
लामो समयदेखि चिया टिपाई नहुँदा बन्द रहेका चियाका मुनाहरु हुर्किएका छन् । अब ति मुनाबाट चिया उत्पादन हुन सक्दैनन् । काटेर फाल्नु पर्ने हुन्छ । आन्दोलनको २६ औं दिन आइपुग्दा चिया श्रमिकहरुले स्थानीय तहहरुमा धर्ना दिने, जिल्ला समन्वय समितिमा धर्ना दिने, सांसदहरुसँग छलफल गर्ने जस्ता कार्यक्रमहरु सँगसँगै गरिरहेका छन् । सोमबार प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङले बताए । मंगलबार इलाममा जिल्ला प्रशासन घेराउ गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।
साउन १ गतेदेखि लागु हुने गरी चिया बगानमा काम गर्ने श्रमिकको ज्याला दैनिक तीन सय ८५ रुपैयाँ र कारखानामा काम गर्ने मजदुरलाई थप ४२ रुपैयाँ तोकेको छ । तर, अहिले श्रमिकहरुले दैनिक दुई सय ७८ रुपैयाँ मात्र पाइरहेका छन् ।
श्रम ऐन २०७४, श्रम नियमावली २०७५ र सामाजिक सुरक्षा ऐनमा श्रमिकको नियुक्ति पत्र, बिमा, विदा सुविधा, औषधोपचारलगायतको व्यवस्था रहेको छ । वार्षिक तलब वृद्धि, चाड पर्व खर्च, उपचार खर्चलगायतका सेवासुविधा तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार