शताब्दीअघिदेखि अलग राज्य गोर्खाल्याण्डको माग भइरहेको पश्चिम बंगाल अन्तर्गतको पहाडी चिसो जिल्ला दार्जिलिङ्ग यतिखेर भारतीय लोकसभाको निर्वाचनले तातिएको छ । दार्जिलिङ्गमा दोस्रो चरण (१८ अप्रिल) मा निर्वाचन हुँदैछ । लोकसभामा यहाँबाट एक जना सांसद चुनिने छन् ।
विगतको चुनावी दृष्य र यस पटकको चुनावी दृष्य भने फरक छ । विगतका चुनावहरुमा गोर्खाल्याण्ड माग गर्ने विमल गुरुङ्गले नेतृत्व गरेको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)एक ढिक्का थियो । नेपाली भाषीको मत पनि एक ढिक्का थियो । मोर्चाले जसलाई समर्थन गर्यो उसले जित्ने सुनिश्चित हुन्थ्यो । तर, यस पटक भने गोजमुमो दुई फ्याक भएको छ । विमलकै विगतको विश्वास पात्र विनय तामाङ्गले नेतृत्व गरेको गोजमुमो पनि छ । हिजो विमलले नेतृत्व गरेको गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेशन(जीटिए) मा पनि उनै तामाङ्ग छन् । यस पटक यि दुवैले फरक दलका फरक उम्मेद्वारलाई समर्थन गरेका छन् । यसैले यस पटक दार्जिलिङ्गका नेपाली भाषीको मत विभाजित देखिएको छ । २३ लाख ६३ हजार ४५३ जनसंख्या र १५ लाख ९८ हजार ८६३ मतदाता रहेको दार्जिलिङ्गमा अधिकांश मतदाताहरुमा विगतको जस्तो एकता र उत्साह देखिदैन । मतदाताहरुमा अन्यौल देखिन्छ ।
लोकसभा निर्वाचनको परिदृष्य यस पटक यस अर्थले पनि फरक छः विगतका निर्वाचनहरुमा नेपाली भाषाीको समर्थनमा नेपाली भाषी इतरको सांसदले जित्ने गर्दथ्यो । यस पटक भने नेपाली भाषीलेनै लोकसभामा सहभागिता जनाउने पक्का छ । किन कि विगतको निर्वाचनहरुमा जित्दै आएको नरेन्द्र मोदीको भाजपाले नेपाली भाषी राजु विष्टलाई उम्मेद्वार बनाएको छ । यता पश्चिम बंगाल सरकारको नेतृत्व गरिरहेको ममता बेनर्जीको तृणमूल कांग्रेसले पनि ‘भूमिपुत्र’ भनेर अमरसिंह राईलाई उम्मेद्वार बनाएकी छिन् । लोकसभाका लागि १६ जनाले प्रतिष्पर्धा गरिरहे पनि विष्ट र राईनै जीतका दाबेदार हुन् । भाजपाका उम्मेद्वार विष्टलाई विमल गुरुङ्ग नेतृत्वको गोजमुमो, सुवास घिसिङ्गका छोरा मनले नेतृत्व गरेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) र क्रान्तिकारी माक्सवादी कम्युनिट पार्टी (क्रामाकपा)ले समर्थन गरेका छन् । योसँगै अखिल भारत गोर्खा लिग (अभागोली)ले पनि विष्टलाई समर्थन जनाएको छ । यसअघि गार्खाल्याण्ड राज्य निर्माण मोर्चा र सुमेटी मुक्ति मोर्चाले पनि विष्टलाई समर्थन गरेका छन् । विष्टको समर्थनका लागि क्रामकपाका अध्यक्ष समेत रहेका आरबी राईले आफ्नो उम्मेद्वारी समेत फिर्ता लिएका छन् । यता बेनर्जीको उम्मेद्वार अमरसिंह राईलाई भने विमल गुरुङ्गबाट टुक्रिएको विनय तामाङ्ग नेतृत्वको गोजमुमोको समर्थन छ । दार्जिलिङ्गमा जीत हात पार्न यहाँका पार्टीहरुको समर्थन अनिवार्य छ । यस पटक तीन वटा पार्टीको समर्थन पाएको भाजपाका उम्मेद्वार विष्टले विकाससँगै गोर्खाल्याण्डको मुद्धालाई अघि सारेका छन् । यसअघि राजनीतिक मञ्चमा नदेखिएका मणिपुरमा जन्मेका ३३ वर्षीय विष्ट पहाडको ठूलो दलको समर्थन भएकाले जीत निश्चित भएको दाबी गर्छन् । गोर्खाल्याण्डको चाहना राख्ने नेपालीहरुले विष्टलाई मतदान गर्ने अनुमान गरिएको छ । यता तृणमूल कांग्रेसका उम्मेद्वार राई गोर्खाल्याण्डभन्दा पनि शान्ति विकास र नेपालीहरुलाई पर्चापट्टा ( जग्गाधनिपूर्जा) दिलाउने एजेण्डा लिएर चुनावी मैदानमा छन् । स्थानीय उम्मेद्वार र नेपाली भाषीले विकास र शान्ति चाहेकाले आफूलाई नेपाली भाषाीले जिताउने राईका समर्थक विनय तामाङ्गको भनाई छ ।
गोर्खाल्याण्डको मुद्धालाई केन्द्रीय सरकारमार्फत समाधान गर्न सघाउने सर्तमा सन् २००९ मा भाजपाका ‘हेभ्भीवेट’ जसवन्त सिंहले विमल गुरुङ्गको गाजमुमोको समर्थनमा भारी मतले जितेका थिए । जितेपछि सिंहले केन्द्र सरकार भाजपाको नभएको भन्दै गोर्खाल्याण्ड मुद्धा थाती राखेका थिए । यसरीनै सन् २०१४ मा एसएस आहलुवालियालाई जिताएका थिए । तर, उनले पनि गोर्खाल्याण्ड आन्दोलनलाई चासो दिएनन् । जितएका विगतका सांसदहरुको भूमिकाका कारण नेपाली भाषीको मोदीसँग पूर्ण विश्वास देखिदैन । दार्जिलिङ्गलाई ‘सेभसिट’को रुपमा लिंदै आएको भाजपालाई यसैले यसपाली विगतको साखलाई कायम राख्ने चुनौति छ । यता विनय तामाङ्ग समर्थित बेनर्जी माथि पनि नेपाली भाषीको भरोसा देखिन्न । गोर्खाल्याण्ड आन्दोलन दबाउन चर्को दमन मात्र होइन, नेपाली भाषीलाई फुटाएर आन्दोलन निस्तेज बनाउनका लागि ठूलो सामाथ्र्य खर्च गरेकी बेनर्जीप्रति त्रासित पनि देखिन्छन् दार्जिलिङ्गबासी ।
मतदाताको अन्यौल
विगतमा दुई पटक गोर्खाल्याण्डको पक्षमा वकालत गर्ने सर्तमा नेपाली भाषीले भाजपाको नेपाली इतरका उम्मेद्वार जिताए पनि परिणाम शून्य भएपछि यस पटक भाजपालाई एकोहोरो मत दिन हिच्हिचाइरहेको दार्जिलिङ्गका नारी मोर्चाकी एक नेतृको भनाई छ । उनका अनुसार पश्चिम बंगाल सरकारले उसको उम्मेद्वारको पक्षमा नलागे मुद्धा लगाएर दुःख दिने त्रासका कारण पनि देखिनलाई तृणमूल कांग्रेसको समर्थन गर्ने तर गोर्खाल्याण्डको पक्षमा वकालत गर्ने भाजपाको उम्मेद्वार विष्टलाई मतदान गर्ने पनि धेरै छन् । यता लामो आन्दोलन र अशान्तिबाट आजित भएकाहरुले तृणमूलका राईलाई मतदान गर्ने संभावना पनि उत्तिकै छ । तर, विगतको जस्तो दार्जिलिङ्गबासीको स्पष्ट मत कतातिर जान्छ भन्ने कुरा यकिन गर्न नसकिने अवस्था छैन । विगतमा जस्तो दुवै उम्मेद्वारप्रति नेपाली भाषीको उत्साजनक समर्थन छैन । जुन दल र उम्मेद्वारले जितेपनि उस्तै हो भन्ने मनोविज्ञान देखिन्छ । यसले गर्दा यस पटक नोटमा भोट झर्ने संभावना पनि उत्तिकै रहेको विश्लेषण गर्ने गरिएको छ ।
भाजपालाई समर्थन जनाएपनि गोजमुमोका अध्यक्ष विमल गुरुङ्ग भने अझैं पनि दार्जिलिङ्गमा उपस्थिति जनाउन सकिरहेका छैनन् । पछिल्लो गोर्खाल्याण्ड आन्दोलनपछि पश्चिम बंगाल सरकारले उनी माथि तीन सयभन्दा बढी मुद्धा लगाएर पक्राउ गर्न खोजेपछि भूमिगत रहेका गुरुङ्गले महासचिव रोशन गिरीसहित विहीबार दार्जिलिङ्ग आउने प्रयास गरेका थिए । भाजपा सरकारको संरक्षणमा रहेका गुरुङ्ग र महासचिव गिरीसहितको टोली दार्जिलिङ्ग आउनका लागि दिल्ली बागडुग्राको टिकटसमेत लिइसकेका थिए । तर, पश्चिम बंगाल सरकारले उनको धरपकडका लागि सुरक्षाकर्मी परिचालन गरेको सुइको पाएपछि उनी आएनन् । पश्चिम बंगाल सरकारले अभागोलीका अध्यक्ष मदन तामाङ्गका हत्या, लेप्चा बस्तीको घटना लगायतका आन्दोलनका क्रममा भएका घटनाहरुको तीन सयभन्दा बढी मुद्धा लगाएको बताइएको छ । यसले गर्दा गुरुङ्ग २०१७ देखिनै भूमिगत रहेका छन् । विमलसँगै गोजमुमोका पाँच हजार कार्यकर्ता र समर्थकहरु पनि पक्राउ पर्ने त्रासका कारण घर बाहिर रहेको गोजमुमोका नेताहरु बताउँछन् । पश्चिम बंगला सरकार प्रमुख बेनर्जीले लोकसभा निर्वाचनलाई नै लक्षित गरेर गुरुङ्गप्रति कठोर नीति अवलम्बन गरेको र भाजपाले पनि गुरुङ्गको समर्थन लिनकै लागि संरक्षण गरेको विश्लेषण गरिएको छ ।
पश्चिम बंगाल सरकारको चर्को दमन र आन्दोलनरत पार्टीको विभाजनपछि थातिरहेको गोर्खाल्याण्ड आन्दोलन अब कता जाने हो भन्ने अब चुनावको परिणामले निर्धारण गर्ने देखिन्छ ।