सुर्योदय नगरपालिकामा रहेका चिया कारखानाहरुले चिया मजदुरहरुलाई आइतबारदेखि सरकारले तोकेअनुसारको सेवा सुविधा दिने भएका छन् ।
सुर्योदय टि प्रोड्यसर्स एशोसिएशनले सरकारसँग निश्चित माग राखेर तीन महिनालाई सरकारले तोकेको सेवा सुविधा कार्यान्वयन गर्ने जनाएको छ । सुर्योदय नगरपालिकाका ५४ वटा साना ठूला चिया कारखानाहरुको संगठन एशोसिएशनले सरकारसँग केही शर्त राखेर असारसम्म सेवासुविधा श्रमिकलाई दिने जनाएको छ । एशोसिएशनले सरकारसँग राखेको माग पूरा नभए त्यसपछि सरकारी सेवासुविधा कार्यान्वयन गर्न नसक्ने जनाएको छ ।
सरकारले पछिल्लो समय चिया मजदुरको दैनिक ज्याला दुई सय ३१, महङ्गी भत्ता एक सय ५४, खाजा भत्ता ४२ रुपैयाँ तोकेको छ । ज्यालाको १० प्रतिशत सञ्चयकोष, उपदानका लागि आठ दशमलव ३३ प्रतिशत र सामाजिक सुरक्षाकोषमा एक दशमलव ६७ प्रतिशत उद्योगहरुले भुक्तानी गर्नु पर्दछ । यसरी सरकारले तोके अनुसार सेवासुविधा दिँदा दैनिक चार सय ७३ रुपैयाँ उद्योगहरुले मजदुरलाई भुक्तानी गर्नु पर्दछ ।
सरकारले पछिल्लो समय तोकेको सेवासुविधा पाउनु पर्ने भन्दै चिया श्रमिकहरु आन्दोलित भएका छन् । मजदुरहरुले कारखाना र बगानमा हड्ताल गरिरहेका छन् । मजदुरको आन्दोलनका कारण चिया उद्योगसँगै किसानहरुलाई पनि समस्या भएको भन्दै सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको समन्वयमा एशोसिएशनका पदाधिकारीहरुको टोलीले काठमाण्डौं पुगेर सरकारसँग २० बुँदे माग राखेका छन् । माग पूरा उनीहरुले प्रदेश सरकारका मूख्यमन्त्रीलाई पनि सो माग पत्र बुझाएका छन् । ति माग पूरा भए मात्र मजदुरको बढेको सेवासुविधालाई निरन्तरता दिन सकिने एशोसिएशनका उपाध्यक्ष डिल्लीराम श्रेष्ठले बताए ।
सुर्योदय नगरपालिकामा रहेको कन्याम चिया बगान, सुन्दरपानीमा रहेको गोर्खा टि स्टेट र केही कारखानाहरु भने एशोसिएशनमा आवद्ध छैनन् ।
सरकारले चिया उद्योगलाई वेवास्ता गरेको भन्दै चिया उद्योगलाई दीर्घकालीन कृषि उद्योगको रुपमा विकास गर्न एशोसिएशनले माग गरेको छ । नेपालमा उत्पादित ९० प्रतिशत चिया भारतमा कम मूल्यमा विक्री गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि सरकारले पहल गर्नुपर्ने चिया उद्योगीहरुको माग छ । यसरीनै विद्युत महसुलमा सहुलियत, अनुदानको व्यवस्था, किसानलाई अनुदानको व्यवस्था, कारखानाको मेशिन औजार र मेशिन खरिदमा विशेष अनुदानलगायतका माग उद्योगीहरुको छ । उद्योगीहरुले यि माग सरकारले सम्बोधन गरे मात्र पछिल्लो ज्याला र सुविधा कार्यान्वयन गर्न सकिने बताएका छन् । ‘हामी सरकारले तोकेको सेवासुविधा कार्यान्वयन गर्छौं तर सरकारले पनि हामीलाई सम्बोधन गर्नुपर्छ’ चिया उद्योगी उत्तम प्रधानले भने, ‘सरकारले एकतर्फी उद्योगीहरुलाई पेलेर मात्र समाधान हुन्न, विदेशी पैसा आर्जन गर्ने चिया उद्योगलाई सरकारले विशेष सम्बोधन गर्न जरुरी छ ।’ सरकारले चिया उद्योगहरुलाई सम्बोधन नगरे बढेको सेवासुविधा लागू गर्न असंभव भएको अर्का चिया उद्योगी ज्ञान लिम्बूले बताए । यसरीनै चिया उद्योगलाई सरकारले व्यवस्था गरेर मजदुरको सेवासुविधा कार्यान्वयन गर्न दबाव मात्र दिए उद्योगहरु चल्न नसक्ने पनि उनले बताए ।