
इलाम सदरमुकाममा मंगलबार दुई कृतिको विमर्श गरिएको छ । विमर्श गरिएका कृतिहरू पत्रकार तथा लेखक बसन्त बस्नेतको ‘७२ को विस्मय’ र लेखक काङमाङ नरेश राईको ‘एघार नोभेम्बर’रहेका छन् । लेखक बस्नेतको कृतिमाथि साहित्यकार हाङयुग अज्ञात र लेखक तथा साहित्यकार डा.देवी क्षेत्री दुलालले चर्चा गरेका थिए । कृतिको साहित्यकार प्रकाश थाम्सुहाङले सहजीकरण गरेका थिए । यस्तै साहित्यकार राईको कृतिमाथि महेन्द्र रत्न बहुमुखी क्याम्पसका प्राध्यापक तीर्थ निरौला र सुरेन्द्र राईले विश्लेषण गरेका थिए भने सहजीकरण फरक आयामका अभियान्ता जीतेन मुस्कानले गरेका थिए । भट्टराईको कृति‘७२ को विस्मय’मा २०७२ सालमा संविधान निर्माणका समयमा भएको मधेष आन्दोलनको बारेमा मुख्य रूपमा चर्चा गरिएको छ । विगतको जुनसुकै आन्दोलनमा पनि आन्दोलन मधेषको मुख्य प्रतिनिधित्व रहने तर अधिकारमा भने मधेषलाई नै बञ्चित गराइने परम्परालाई जोडतोडका साथ उठाइएको छ । पुस्तकमा काठमाडौं(सत्ता)ले मधेष नदेखेको कारण मधेष सधै उपलब्धी संस्थागत गर्ने समयमा पछि पर्ने गरेको उल्लेख गरिएको छ ।
यस्तै मंगलबारै विमर्श गरिएको अर्को कृति ‘एघार नोभेम्बर’मा विश्वयुद्धको समयमा लडेका नेपाली सेनाका बारेमा चर्चा मुख्य गरी गरिएको छ । पुस्तकमा २०५२ सालपछिको माओबादी ‘सशस्त्र द्वन्द्व’मा साहदत प्राप्त गरेका नेपालीको सधै सरकारले देख्ने तर विश्वयुद्धताका लडेर साहदत प्राप्त सैनिकको बारेमा सरकारले नदेखेको विषयलाई आधार बनाएर पुस्तक लेखिएको लेखक राईले जानकारी दिए ।
फरक आयमका महेन्द्र विरहीको अध्यक्षता र सिर्जनशील अराजकताका अभियान्ता राजन मुकारुङको प्रमुख आतिथ्यतामा भएको कार्क्रमको सञ्चालन अतित योङहाङले गरेका थिए ।


1230 पटक हेरिएको 






