बिक्नै छाड्यो ‘कालो सुन’

  सरलपाटी संवाददाता

 2565 पटक हेरिएको

इलाम, ३० किलो अलैंची बोकेर सदरमुकाम फुङ्लिङ आएका मेरिङ्देन गाउँपालिका–५ का पेम्बा शेर्पाले दुई दिन बजार घुम्दा पनि बेच्न सकेनन् । ‘प्रत्येक व्यापारीलाई किनिदिन आग्रह गरेँ’ बिहीबार बिहान निराश हुँदै शेर्पाले सुनाए, ‘धेरै जनाले त नराख्ने भने, एक–दुईजनाले उधारोमा राख्ने भने, तर भाउ पछि काट्ने गरीमात्र ।’ तत्काल पैसा चाहिएको हुँदा उधारोमा दिन नसकेको शेर्पाले बताए ।

‘श्रीमती बिरामी छिन्, उपचार गर्नु छ, त्यसैले अलैंची बेचेर खर्च जुटाउन आएको हुँ, तर, बिक्री नै भएन’ –उनले दुःखेसो पोखे । अलैंची बजारमै थन्क्याएर ऋण खोजेरै भए पनि श्रीमतीको उपचार गर्ने मनस्थितिमा पुगेका छन् शेर्पा ।

महँगोमा बिक्री हुने भएकाले अलैंचीलाई ‘कालो सुन’ पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंचीको राम्रो माग थियो । त्यसैले ताप्लेजुङका अधिकांश कृषकले सबथोक छोडेर अलैंची खेती गरेका थिए । तर पछिल्लो समय अलैंचीको मूल्य निरन्तर घट्दा उनीहरू शेर्पाजस्तै निराश छन् ।

पछिल्लो साता फुङ्लिङमा अलैंचीको मूल्य प्रतिमन (४० किलो) २४ हजारमा झरेको छ । कुनै व्यापारी पनि अलैंची किन्न तयार छैनन् । ‘हामीले मन मारिसक्यौं’ अलैंची व्यावसायी सङ्घका जिल्ला अध्यक्ष बालमणि बराल भन्छन्, ‘४० हजार प्रतिमनका दरले गतवर्ष खरिद गरेको अलैंची गोदाममै छ, त्यसयता ३५ मा झर्यो, ३० मा झर्यो त्यो पनि किनियो, हुँदाहुँदा अहिले २४ हजारमा आइपुगेको छ, माग आउँदैन, गोदाममा थुपारेर मात्रै के गर्नु ?’

अहिले अलैंचीको कारोबारै ठप्प रहेको बरालले दुःखेसो गरे । बाँझै रहेको पाखा र जङ्गललाई हरियाली बनाएको अलैंची देखेर कृषकहरूले लहलह धान फल्ने खेत र कोदो फल्ने बारी मासेर अलैंची लगाए । केहीवर्ष राम्रो आम्दानी पनि लिए । तर अहिले अलैंचीको भविष्यको विषयमा कृषक र व्यावसायी दुवै अन्योलमा छन् ।

अलैंचीको बिक्री राष्ट्रिय बजारमा पाँच प्रतिशत पनि छैन । अन्तर्राष्ट्रिय बजारमा दिनदिनै निर्यात घटिरहेको छ । मूल्यको उतार–चढावले कृषकहरू खेती नै परिवर्तन गर्ने अवस्थामा पुगेका छन् । कतिपय व्यापारी टाट पल्टिएका छन् । आठराई त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्षसमेत रहेका पूर्ण सिटौला अलैंचीको व्यापारबाट ६ करोड घाटा भएको बताउँछन् । ‘राम्रो होला भनेर ठूलो परिमाणमा अलैंची खरिद गरेको थिएँ, एक्कासि मूल्य घटेपछि ऋण लाग्यो’ सिटौलाले भने, ‘बिर्तामोडमा रहेको घर बेचेर ऋण तिरेँ र अहिले सुन्तला खेती शुरु गरेको छु ।’

अलैंचीले नराम्ररी डुबाएपछि व्यावसाय परिवर्तन गरेर सुन्तला र रुद्राक्ष खेती शुरु गरेको सिटौलाको भनाइ छ । पहाडी जिल्लामा उत्पादित सबै अलैंची झापाको बिर्तामोड र सुनसरीको धरानमा जम्मा हुन्छ । त्यसपछि विराटनगरको रानी भन्सार भएर भारत निर्यात हुन्छ । भारतमा जम्मा हुने मुख्य ठाउँ मुम्बई हो । त्यहाँबाट विभिन्न खाडी मुलुकमा जाने गरेको थियो । ताप्लेजुङमा गतवर्ष ४ हजार २ सय हेक्टरमा लगाइएको खेतीबाट २ हजार ९ सय मेट्रिक टन अलैंची उत्पादन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार